एनआरएन विरुद्धको 'प्रोटेस्ट' सदर, नतिजा उल्टयाउँदै प्रदेश १ विजयी

File photo
File photo

नवौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटबल टिमका खेलाडीमाथि लागेको 'प्रोटेस्ट' सदर भएको छ।

योसँगै एनआरएनए प्रतियोगिताबाट बाहिरिएको छ। एनआरएनएले जितेको नतिजासमेत उल्टिदै प्रदेश १ को जित भएको छ।

गत बिहीबार भएको खेलमा नेपाली राष्ट्रिय खेलाडी उतारेपछि विवाद भएको थियो।

नेपाली राष्ट्रिय टिमका नियमित सदस्यहरू विमल घर्तीमगर, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोग राई, विशाल राई, निशान खड्का र अशोक खवासमाथि प्रदेश १ ले 'प्रोटेस्ट' हालेको थियो।

गत बिहीबार प्रदेश १ विरुद्धको खेलअघि एनआरएनएको टिममा राष्ट्रिय खेलाडी भएको पाएपछि विवाद भएको थियो। जसका कारण डेढ घण्टा ढिलो सुरु हुँदा दुवै हाफ ३५–३५ मिनेटमा घटाइएर खेलाइएको थियो।

सो खेल एनआरएनए २–० ले विजयी भएको थियो। एनआरएनएका लागि विमल र संजोगले एक–एक गोल गरेका थिए।

सो खेलअघि प्रदेश १ खेल्न मन्जुर थिएन्। तर, अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाले खेलपछि 'प्रोटेस्ट' हाल्न सक्ने बताएपछि खेल भएको थियो।

खेल सकिने बित्तिकै प्रदेश १ ले हालेको थियो। शनिबार सो प्रोटेस्ट सदर भएको हो। यो निर्णयसँगै त्यो खेलको नतिजा उल्टिएर प्रदेश नम्बर १ को ३–० को जित भएको छ।

अब, समूह ए मा रहेको एनआरएनएले राष्ट्रिय खेलाडीविना गण्डकी प्रदेशविरुद्ध अन्तिम खेल खेल्ने छ।

प्रकाशित मिति: : 2022-10-15 16:07:00

प्रतिकृया दिनुहोस्