नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल खेलमा भएको दर्शकको उपस्थितिले बेनीको अधुरो खेलमैदानलाई पूर्णता दिने चुनौती सिर्जना गरेको छ।
असोज २८ देखि २ गतेसम्म सञ्चालन भएको महिला भलिबल खेलको प्रतिस्पर्धा अवलोकन गर्न आएका दर्शकका लागि व्यवस्था गरिएको प्यारापिट, कुर्चि र कार्पेट विछ्याइएको भूइँमा नअटाएपछि उभिएरै हेर्नुपरेको थियो। खेल अवलोकनका लागि अपेक्षा भन्दा बढी दर्शक आएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए।
‘पाँच हजार दर्शक आउने अनुमान गरेर तयारी गरेका थियौँ,’ उनले भने ‘फाइनलका दिन नौ हजार भन्दा बढी दर्शक आए। प्यारापिटको क्षमता बढाउन निर्माणाधीन खेलमैदानलाई पूर्णता दिनुपर्ने चुनौती थपिएको छ।’
खेलमैदानको बीचमा दुई वटा भलिबल कोर्ट बनाइएको थियो। बेनी नगरपालिकाले बनाएको प्यारापिटलाई रङग लगाइएको थियो। प्यारापिट र खेलस्थलको बीचमा एक लहर कार्पेट, त्यसपछि कुर्चि र कुर्चिपछि उभिने ठाउँ बनाइएको थियो। बस्ने ठाउँ नभएपछि घण्टौँ उभिएर खेल अवलोकन गर्न असहज भएको बेनपा–९ का चामबहादुर पुनले बताए।
‘सबैले सहज रुपमा खेल अवलोकन गर्ने बनाउन प्यारापिटलाई पूर्णता दिनुपर्छ’, बेनीका लक्ष्मण शर्माले भने, ‘दर्शकले घरको छत र रुखमा चढेर पनि खेल अवलोकन गर्नुपरेको थियो।’ तेक्वान्दो सञ्चालन भएको कालीपुलको कभर्डहलमा भने वत्ति र पङ्खा जडानका साथै रङगरोगन गरिएको थियो। कभर्डहलमा पनि दर्शकलाई खेल अवलोकन गर्न उभिनुपरेको थियो। कभर्डहलको मञ्चमा बोलेको आवाज नसुनिने अर्को समस्या थियो।
नवौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधार बनाउन बजेट नआएको र भएका संरचनालाई व्यवस्थित गरेर खेल सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको भनाइ छ।
खेलमैदान निर्माण अधुरो
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो। फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो। जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ।
त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ। कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो। म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाइएको छ। पर्खालमाथि करिब ५० मिटर प्यारापिट बनेको छ।
कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्यारापिट बनाउन पिल्लर ठडाइएको छ। दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ। हाल नौ/नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिन्छ। प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ। हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ।
विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो। युवा तथा खेलकूद मन्त्रालयले विसं २०७१ मा रु छ लाख ५० हजार र २०७३ मा रु ५९ लाख ६७ हजार विनियोजन गरेको थियो। विसं २०७४ मा रु एक करोड र २०७५/७६ मा रु. ६० लाख विनियोजन भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाले रु नौ लाख अर्थ मन्त्रालयले रु ५० लाख, खेलकूद मन्त्रालयले रु ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट रु ५० लाख विनियोजन भएको थियो।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले खुल्लामञ्च खेलमैदान निर्माणका लागि चालू आर्थिक वर्षमा विनियोजन भएको रु ५० लाख बजेट कार्यान्वयन गर्न ठेक्का आह्वान गरिसकेको बताए। नवाैँ राष्ट्रिय खेल सञ्चालनका क्रममा बेनी आएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ र सदस्य राजेश गुरुङले खेलमैदान निर्माणलाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता जनाए।
पहिलो पटक राष्ट्रिय प्रतियोगिता
म्याग्दीको खेल इतिहासमा पहिलो पटक महिला भलिबल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता सञ्चालन भएको हो। दुई वटै खेलका लागि खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्री गरेर ६०० जना भन्दा बढी पाहुना आएका थिए। आवास व्यवस्थापन होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घसँगको समन्वयमा भएको थियो। उद्घाटन समारोहमा विभिन्न जातजातिको वेषभूषा र कला संस्कृति सहितको झाँकी प्रर्दशन गरिएको थियो।
बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले नवौँ खेलकुदले बेनी बजारलाई चलायमान बनाउन र यहाँको पर्यटन प्रर्वधन तथा धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलको प्रचारप्रसारमा सहयोग पुगेको बताए।
जिल्ला भलिबल सङघका अध्यक्ष तेजेन्द्र बानियाँले राष्ट्रिय प्रतियोगिताले म्याग्दीका खेलाडीलाई उत्साहितका साथै अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी र खेल सञ्चालन गरेका रेफ्री, यामपायरबाट सिक्ने अवसर मिलेको बताए। पूर्वदेखि पश्चिम र हिमालदेखि पहाड, तराईका खेलाडीको खेल्ने कला र सिपबाट स्थानीय खेलाडीलाई थप ज्ञान हासिल भएको बानियाँले बताए।