गाउँ पसे उम्मेदवार

छवटा स्थानीय तह रहेको म्याग्दीमा जिल्लामा ८२  मतदानस्थल र एक सय १९ मतदान केन्द्र छन्।

बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन्। 

राजनीतिक दलका नेता र उम्मेदवार ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका हुन्।

निर्वाचन आचारसंहिताले सभा, माइकिङमार्फत भड्किलो प्रचार–प्रसारमा कडाइ गरेपछि प्रचार शैली फेरिएको छ।

सभाको विकल्पमा घरदैलो गरेर मतदाता भेटघाट र कार्यकर्ता भेला गरी प्रशिक्षण तथा परिचालनमार्फत चुनाव प्रचार गर्न थालेका हुन्। निर्वाचन आयोगले कात्तिक १७ गतेपछि मात्र चुनावीसभा गर्न पाउने आचारसंहिता बनाएको छ।

पहिलो चरणमा मतदाता भेटघाटसँगै टोल–टोलमा कार्यकर्ता भेला गरी प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक बढेको छ। सभाका क्रममा पुग्न नसकिने टोल तथा भौगोलिकरूपमा विकट क्षेत्रका बस्तीमा पहिलो चरणको घरदैलो गरेका हुन्।

मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने, कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा केन्द्रित भएका छन्।

प्रकाशित मिति: : 2022-10-28 08:11:00

प्रतिकृया दिनुहोस्