चिनियाँ शासनको बागडोर सम्हाल्दै 'सात भाइ कम्युनिष्ट'

[Thomas Peter and Tingshu Wang/ Reuters]

चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएका छन्। उनी ऐतिहासिक तेस्रो कार्यकालका लागि महासचिव पदमा निर्वाचित भएका हुन्।

पार्टीका संस्थापक माओत्सेतुङपछि तेस्रो कार्यकालका लागि सबैभन्दा प्रभावशाली शासक बनेका छन्, महासचिव चिनफिङ। चिनियाँ कम्युनिष्ट पार्टीको एउटा महत्वपूर्ण बैठकले सात सदस्यीय ‘पोलिटव्यूरो स्थायी समिति’मा पनि गठन गरेको छ।

स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको 'कमरेड—सेभेन' अर्थात् सात सदस्यले चीनको नेतृत्व सम्हाल्ने छन्। सात जना सदस्य रहेको पोलिटव्यूरो स्थायी कमिटीले आगामी पाँचवर्ष चिनियाँ जगतमा शासन गर्नेछ।

महासचिव सी (६९) नेतृत्वकाे समूहमा ली कियाङ (६३), झाओ लेजी (६५), वाङ हुनिङ (६७), काइ क्वी (६६), डिंग जुसियाङ (६०) र ली शी (६६) रहेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ राष्ट्रिय कंग्रेसबाट तेस्रो कार्यकालका लागि निर्वाचित महासचिव सी सबैभन्दा शक्तिशाली नेताका रूपमा विश्व राजनीतिक रंगमञ्चमा उभिएका छन्।

बेइजिङको ‘ग्रेट हल अफ द पिपुल’मा आइतबार सम्पन्न पार्टीको साताव्यापी बैठकबाट उनले महासचिवको पदभार ग्रहण गरेका छन्। ‘तपाईंहरूले ममाथि गर्नुभएको विश्वासका लागि म सम्पूर्ण प्रतिनिधिहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ लगतै महासचिव सीले भने।

चिनियाँ कम्युनिष्ट पार्टीले केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय सदस्यको एउटा जम्बो समूह पनि बनाएका छन्। सीपीसीको सूचीकृत २०५ सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन्।

प्रकाशित मिति: : 2022-10-23 14:16:00

प्रतिकृया दिनुहोस्