चुनाव खर्च भन्दै नेताले पैसा माग्न थालेपछि एनआरएनए पदाधिकारीको ‘गुप्तवास’

चुनाव खर्च भन्दै नेपालका राजनीतिक पार्टीका नेताहरुले पैसा माग्न थालेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरु संकटमा परेका छन्।

आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा उम्मेदावरी दिएका नेताहरुले ‘चुनाव खर्च दिनुपर्यो’ भन्दै बारम्बार ताकेता गर्न थालेपछि एनआरएनएका पदाधिकारीहरु तनावमा परेका हुन्।

‘सहयोग गर्नुपर्यो भनेर हैरान बनाएका छन्। एउटालाई मात्र गरेर पनि नहुने’, एनआरएनएका एक पदाधिकारीले भने।

यसरी पैसा माग्नेहरुमा सत्ता गठबन्धबाट उम्मेदवारी दिएका नेताहरु बढी छन्। ‘तपाईंहरुलाई एनआरएनएमा अगाडि बढाउन हामीले पनि सहयोग गरेका थियौं। पछि पनि तपाईंलाई सहयोग रहनेछ। यसपालि चाहिँ हामीलाई सहयोग गर्नुहोस् भन्दै पैसा मागिरहेका छन्,’ उनले सुनाए, ‘अब सिधै नाइ भन्न पनि नमिल्ने। मागे जति पैसा दिन पनि नसकिने। धेरै मुस्किल परिरहेको छ।’

नेपाली कांग्रेस र माओवादी मात्र होइन, एमालेका उम्मेदवारहरुले पनि पैसा मागेर एनआरएनएका नेताहरुलाई हैरान बनाएका छन्। बारम्बार पैसा माग्न थालेपछि एनआरएनएका पदाधिकारीले पार्टीका नेता तथा उम्मेदवारको फोन नै उठान छोडेका छन्।

अरुबेला नेपालका राजनीतिक पार्टीका नेताहरु भेट्न मरिहत्ते गर्ने एनआरएनएका पदाधिकारी अहिले भने ‘गुप्तवास’ बस्न थालेको स्रोतको दावी छ।

‘पार्टीका नेताहरुको फोन आउँदा बित्तिकै थाहा हुन्छ पैसा माग्नलाई हो भन्ने। त्यसैले अहिले एनआरएनएका पदाधिकारीले नेताहरुको फोन नै उठाउन छोडेका छन्। म्यासेज पनि नहेरी बस्नु पर्ने बाध्यता छ,’ स्रोतले भन्याे।

अहिले नेपालमै भएका पदाधिकारी पनि गुपचुप बसेका छन्। ‘नेता भेट्न बित्तिकै पैसा माग्छन्। नेपालमै भएकाहरु पनि लुकेर बस्नुपर्ने बाध्यता छ,’ स्रोतले भन्यो।

एनआरएनएले आफूलाई विशुद्ध गैरराजनीतिक संस्था दावी गर्दै आएपनि पदाधिकारीकै कारण संघमा राजनीति हावी भइरहेको छ। संघका पछिल्ला चुनावहरुमा उम्मेदवारले राजनीतिक पार्टीहरुबाट खुल्ला रुपमै समर्थन लिएका थिए।

‘यो सबै हुनुमा हाम्रै कारण छ। अब ‘गुन’ त तिर्नै पर्‍यो नि। नदिए अर्काेपटक सहयोग गर्दैनन्’, एनआरएनएका एक उच्च पदाधिकारीले भने।

अपेक्षाअनुसारको आर्थिक सहायता नमिलेपछि यता दलका नेताहरु एनआरएनएका पदाधिकारीसँग रुष्ट बन्न थालेको स्रोतको दावी छ।

‘फोन नै उठ्दैन। म्यासेज नि हेर्दैनन्। त्यसैले नेताहरु पनि रिसले चुर भएका छन्। अर्काेपटक हेरौंला भन्दै धम्कीसमेत दिन थालेका छन्,’ स्रोतको भनाइ छ।

प्रकाशित मिति: : 2022-11-03 17:27:00

प्रतिकृया दिनुहोस्