मैले उठाएका मुद्दा, व्यवहार र सम्बन्धका कारण चुनाव जित्ने माहोल बनेको छ : प्रदीप पौडेल (अन्तर्वार्ता)

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेसँगै अहिले घरदैलोमा व्यस्त छन्।

पौडेललाई पाँच दलीय गठबन्धनको सहयोग छ। यो क्षेत्रमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार छन्। सो क्षेत्रमा विशेषगरी पोखरेल र पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

स्वतन्त्र रुपमा रञ्जु दर्शनाले पनि उम्मेदवारी दिएसँगै प्रतिस्पर्धा थप रोचक हुने देखिएका बेला गठबन्धनको साझा उम्मेदवार तथा कांग्रेस नेता पौडेलसंग चुनावी तयारीलगायतका विषयमा कुराकानी गरेका छौँ।

घरदैलोमा मतदाताको कस्तो प्रतिकृया पाउनुभएको छ?

मतदाता नेताहरूले भोट मागेर फर्किएपछि फेरि जनतामा फर्किदैनन् भन्ने पुरानो प्रवत्तिबाट झस्किएका छन्। तर, म अहिले काठमाडौँ-५ बाट उम्मेदवारका रुपमा आएसँगै जनतामा युवा उम्मेदवार देखेर उत्साह र यसले केही गर्न सक्छ भन्ने आशा जागेको देखेको छु। यसअघि काठमाडौँ-५ पटकपटक जनताले चोट खाए, तर यसपटक मैले जनातको त्यो आशंकालाई पूर्ण रुपमा निवारण गर्नेछु।

कुरा गर्ने, तर काम नगर्ने त आम प्रवृत्तिजस्तो भइसक्यो, तपाईंको पनि के विश्वास?

म एक्कासी राजनीतिमा आएको व्यक्ति होइन। मेरो लामो पृष्ठभूमि छ। म विद्यार्थी राजनीति हुँदै केन्द्रदेखि अहिले काठमाडौँ-५ को उम्मेदवारका रुपमा रहेको छु। यसपटक चोटिलो प्रहार गर्नका लागि मैले उठाएका विषयहरू धारिला छन्। मैले उठाएका मुद्दाहरू, मेरो व्यवहार र सम्बन्धहरूका कारण मैले चुनाव जित्ने माहोल बनेको छ।

‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ, कसरी गर्नुहुन्छ?

हाम्रो देशमा ब्रेन ड्रेनको समस्या बढ्दो छ। एउटा देश जो बौद्धिक नागरिकलाई जोगाएर राख्न सक्दैन भने त्यो देशको विकास कताबाट हुन्छ? सबै कुरा आयात गरेर मात्रै देश समृद्ध हुन सक्दैन। मैले यसअघि नै बिसिडी मोडल तयार गरेर ब्रेन ड्रेनको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छु। त्यसलाई म प्राथमिकताका साथ राखेर काम गर्छु।

गरिबी, विदेश पलायन र शिक्षा क्षेत्रलाई यहाँले कसरी हेर्नुभएको छ?

गरिबी निवारण अत्यावश्यक छ। देशमा रोजगारीको सृजना गर्दै उद्योग, कलकारखाना खोल्ने वातारण बनाउनुपर्छ र त्यसको संख्या बढाउँदै लैजानुपर्छ। वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई आफूले निराकरण गर्न देशमै रोजगारीको चाहिन्छ नै। मैले काठमाडौं-५ मा मात्र नभई समग्र जिल्लामा रहेका विद्यालयलाई बुढानीलकण्ठस्तरको बनाउने मेरो पहल रहन्छ।

प्रतिस्पर्धामा पटक-पटक मन्त्री भइसकेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, रञ्जु दर्शनाजस्ता उम्मेदवार छन् नि?

को कति पटक के भयो भन्ने कुराभन्दा पनि कसले के गर्यो भन्ने कुरा महत्वपूर्ण हो। पटक-पटक मन्त्री भएर देशलाई के लाभ भयो भन्ने कुराको हेक्का जनताले राखेका छन्। पोजिसन के छ भन्ने कुराभन्दा पनि पोजिसनमा बसेर के गरेको भन्ने कुरा नै मुख्य हो।

ईश्वर पोखरेलको मत रञ्जुले काट्छिन् अनि मैले चुनाव जित्छु भन्ने लागेको छ यहाँलाई?

कसले कसको मत काट्छ भन्ने कुरा नै होइन। जनताले विवेकले मत दिने कुरा हो। मत विचारको, व्यवहार र विश्वासको कुरा हो। हाम्रो व्यवहार र विश्वासको आधारमा हामी अगाडि छौँ भन्ने लाग्छ।

अरू उम्मेदवारहरूभन्दा तपाईं कसरी फरक हुनुहुन्छ?

अरुहरूले पटक-पटक धोका दिए यस क्षेत्रमा। तर, म चुनाव जितेपछि पनि जनताकै काखमा बस्ने मान्छे हुँ। बोलेको कुरालाई पूरा गरेर देखाउँछु।

कति मतले चुनाव जित्छु भन्ने लागेको छ?  

अहिले निकै राम्रो वातावरण बनेको छ। जित्ने वातावरणकाबीच आमजनताले युवा र बोलेको कुरा पूरा गर्न सक्ने नेतालाई साथ दिनुहुन्छ भन्ने घरदैलो अभियानमा मैले बुझेको छु।

प्रकाशित मिति: : 2022-11-07 12:31:00

प्रतिकृया दिनुहोस्