प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार मोहम्मद इश्तियाक राईले फेरि चुनाव लड्नुका पछाडि आफ्नो एकमात्रै स्वार्थ भनेको यो क्षेत्रको विकास गर्नु भएको बताएका छन्।
संसदमा अनि सरकारमा लडेरै भएर पनि आफ्नो क्षेत्रमा विकासका योजनाहरू ल्याएको स्मरण गराउँदै उनले फेरि पनि अधुरा योजनाहरू पूरा गर्न र नयाँ आयोजनाहरू ल्याउनका लागि एकपटक मौका दिन मतदातासँग अपिल गरे।
नेपालगन्जको बाैद्ध गुम्बामा आयोजित एउटा कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार राईले काम गरिरहेको र गर्न सक्नेलाई रोज्न मतदातालाई सुझाव दिए।
‘पहिलोचोटी १९ महिना सहरी विकास मन्त्री हुँदा र पछिल्लोपटक ३ महिनामात्रै भए पनि भौतिक मन्त्री हुँदा अनि त्यो अवधिमा सांसद हुँदा मैले के कति काम गर्न सकेँ भन्ने कुरा तपाईंहरूलाई छर्लङ्ग छ। सारा मतदाताले मेरो पहलमा भएका काम र योजनाहरूको सूची पढिरहनुभएको छ’, उनले भने, ‘नेपालगन्जको समग्र विकासका लागि अब के के गर्नुछ र मैले के गर्नेछु भन्ने कामको सूची पनि तपाईंहरूलाई दिएको छु। यो मेरो वाचामात्रै होइन, प्रतिवद्धतामात्रै पनि होइन। यो मेरो अठोट हो। तपाईंहरूको विकासको चाहना हो। यसलाई दस्तावेजका रूपमा राख्नुस् र पाँच वर्षपछि यही दस्तावेज देखाएर तपाईंहरूले प्रश्न गर्नस् यो काम किन नगरेको भनेर!’
त्यो पनि जवाफ बोकेर आउनसक्ने उनको दाबी छ। आफूले क्षेत्रको विकासका लागि जसरी पनि काम गरिरहेको भन्दै उनले कसैले देखाएको आशा र कसैले गरेका वाचाहरूको पछाडि नलाग्न पनि मतदातालाई सम्झाए।
‘यो क्षेत्रको विकासकै लागि भनेर म संसदमा पनि लडेको छु। सरकारमा पनि लडेको छु। तर विकासका योजनाहरू आउँदा कानुन मिचेर बजेट ल्यायो पनि भनेका छन्’, उनले भने, ‘त्यो कानुन मिचेको हो भने मैले आफ्नै क्षेत्रको विकासको लागि मिचेको हुँ। जनताकै लागि मिचेको हुँ।’
राईले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकास र समृद्धिबाहेक अरू पनि स्वार्थ नबोकेकोसमेत स्पष्ट पारे।
‘को कुन पार्टीको हो, कुन धर्म र समुदायको हो, कसले के वाचा गरिरहेको छ, त्यो कुरा अहिले ध्यान नदिनुस्। यसपालि मात्रै विकासका लागि भोट दिनुस्। समृद्धिका लागि मत दिनुहोस्’, उनले भने, ‘अहिलेका लागि नभए पनि दश वर्षपछि हुर्किने आफ्नो पुस्ताका लागि भोट दिनुस्।’
राईले कहिल्यै पनि गर्न नसक्ने कामहरूको आश्वासन नबाँडेको र त्यस्तो नगर्ने पनि बताए। अब मतदाताहरूसामु आफ्नो उत्कृष्ट विवेक प्रयोग गर्ने बेला नजिकिइसकेको भन्दै राईले जाति, समुदाय र धर्मका नामा राजनीति गर्नेहरूलाई यसपालि मतपत्रबाट जवाफ दिन पनि अपिल गरे।
त्यसक्रममा विभिन्न पार्टी परित्याग गरेर २ सयभन्दा धेरै जसपामा प्रवेश गरेका थिए। उनीहरूलाई प्रतिनिधिसभा उम्मेदवार राई तथा प्रदेशसभा सदस्यका उम्मेदवार आदेशकुमार अग्रवाललगायत नेताहरू स्वागत गरेका थिए।