मोरङ ३ भानुभक्त ढकालमाथि आरोप नै आरोप, कम्युनिस्टको लाल किल्ला डगमगाउने संकेत

निर्वाचनको समयमा नेतृत्वमा रहेका व्यक्तिहरूलाई अलिअलि आरोप लाग्नु सामान्य हो। तर, मोरङ ३ मा एमालेका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भने हरेक ठाउँमा एउटै आरोप लाग्ने गरेको छ। त्यो आरोप हो, 'ढकाल भ्रष्टाचारी हो'।

ढकालमाथि लाग्ने गरेको उक्त आरोपका कारण उनको छवि विवादित बनेको छ। त्यति मात्रै हाेइन उनीमाथि तेह्रथुमबाट आएर जितेको र फर्किएर आफ्नो क्षेत्रमा नआएको भन्ने आरोप पनि छ।

केही समय अघि ढकालका आफन्त पर्ने एमाले कै क्रियासिल सदस्य देवीप्रसाद ढकालले भानुभक्तलाई भ्रष्टाचारीको संज्ञा दिँदै आफ्नो घरमा प्रवेश गर्न रोक लगाएको समाचार सञ्चारमाध्यमहरूमा प्रकाशित समेत भएको थियो।

उनी स्वास्थ्य मन्त्री बनेको बेला ओम्नी प्रकरणमा ढकालको संलग्नता रहेको आरोप रहेको छ। त्यस विषयमा उनले कुनै प्रकारको प्रतिक्रिया दिएका छैनन्। बरु उल्टै यस विषयमा पत्रकारले जिज्ञासा राख्दा 'ढिला भयो। घरमा पाहुना आएका छन्' भनेर उनी पन्छिएका थिए। जसकारण मतदाता उनीप्रति रुष्ट देखिन्छन्।

शनिबार पथरीशनिश्चरेका एक स्थानीयले ढकालले २ रुपैयाँमा पाउने मास्कलाई २२ रुपैयाँमा खरिद गरेको विल बनाउँदै घोटाला गरेको आरोप लगाएका छन्। उनले भने, 'भानुभक्त स्वास्थ्य मन्त्री हुँदा कोरोनाको कहर थियो। नेपाली जनताहरू अक्सिजन नपाएर घरघरमा मर्दै थिए। मास्क नपाएर सडकमा भौँतारिएका थिए। त्यसबेला मैले मोरङ ५ मा २ रुपैयाँले मास्क किनेर पठाउँदै गर्दा उहाँले २२ रुपैयाँ गोटा मास्क जनतालाई बेचेर भ्रष्टाचार गर्नुभएको छ। उहाँ भ्रष्टाचारी हो।'

उनले जनतालाई कोठामा थुनेर राखेर ढकालले जनताले तिरेको करबाट उठाएको रकम घोटाला गरेको आरोप लगाएका हुन्।

त्यसो त सुन्दरहरैचा– १ मा भएको एमालेको कार्यकर्ता भेलामा ढकालको विरुद्धमा कार्यकर्ताले नै नाराबाजी गरेको एमालेका स्थानीय नेताहरू बताउँछ। नाम नखुलाउने सर्तमा उनी भन्छन्,'पार्टीले विवादित छवि भएका ढकाललाई फेरि निर्वाचनको लागि खडा गर्नाले कार्याकार्ताहरु रुष्ट छन्। हामी त कार्यकर्ता हौ पार्टीको निर्देशन मान्नै पर्छ। तर, कामभन्दा बढी आरोप लागेका व्यक्तिलाई फेरि भोट हाल्नुहोस् भन्दै कसरी जनतासँग जाने ?'

त्यसो त अघिल्लो निर्वाचनमा निकै दौडधुप गरेर जनताको घर आँगनमा पुगेका ढकाल यस पटक खुलेर जनतामाझ जान सकेका छैनन्। उनी प्राय: कार्यकर्ता भेटघाट र उनीहरूलाई परिचालन गराउनमै व्यस्त देखिन्छन्।

त्यसो त यो क्षेत्र एक प्रकारले कम्युनिस्टको गढ नै हो भन्दा फरक पर्दैन। तर, यस पटकको निर्वाचनमा माहाेल फरक देखिएको छ। कम्युनिस्टका उम्मेदवारको छवि निष्कलङ्क हुन नसकेकै कारण यो गढ भत्किने संकेत देखिएको छ।

यस क्षेत्रमा ढकालसँग गठबन्धनको तर्फबाट काँग्रेसका सुनिल शर्मा र राप्रपाकी रेखा थापा चुनावी मैदानमा छन्।

प्रकाशित मिति: : 2022-11-12 19:26:00

प्रतिकृया दिनुहोस्