पाँच पटकको विश्व विजेता ब्राजिल स्विट्जरल्यान्डलाई १–० ले पराजित गर्दै एक खेल अघि नै कतार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ।
दोहास्थित ९७४ मैदानमा कासेमिरोले खेल सकिन साँत मिनेट अघि गरेको गोलमा ब्राजिल विजयी भएको हो।
स्विस गोलकिपर यान सोमर र रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कठिन जित निकाल्न सफल भएको हो। कासिमिरोले रोड्रिगोको पास सदुपयोग गरेका थिए। यस अघि खेलको ६५औं मिनेटमा भिनिसियस जुनियरको गोल अफसाइड भएको थियो।
लगातार दोस्रो जितपछि ब्राजिल समूह ‘जी’बाट एक खेल अगावै अन्तिम १६ प्रवेश गरको छ। पहिलो खेलमा उसले सर्बियामाथि २–० को जित हासिल गरेको थियो।
दुई खेलमा तीन अंक सहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ। समूहमा सोमबारै चाँडो गरि सम्पन्न खेलमा क्यामरुन र सर्बियाले ३–३ को बराबरी खेलेका थिए।
समूहको अन्तिम खेलमा शनिबार ब्राजिलले क्यामरुन तथा स्विट्जरल्यान्डले सर्बियासँग प्रतिस्पर्धा गर्नेछन्। ब्राजिल नकआउट चरण पुगिसकेको अवस्थामा बाँकी तीनवटै टोलीको अन्तिम १६ पुग्ने सम्भावना भने जीवित छ।