को बन्ला प्रदेश १ को मुख्यमन्त्री ?

File Photo
File Photo

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेपछि नेताहरु अब सरकार गठनको तयारीमा लागेका छन्।

५६ प्रत्यक्ष प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा २५ सिट जित्दै नेकपा एमाले पहिलो पार्टी बनेको छ। समानुपातिकमा १५ सिट ल्याएर ४० जना संसद पाएको एमाले सरकार गठनको तयारीमा लागेको छ।

चुनावमा एमालेसँग तालमल गरेको राप्रपाले ६ र जसपाले समानुपातिकमा ल्याएको १ सिटले एमालेको सरकार बन्ने अवस्था छ। प्रदेशमा सरकार गठनका लागि ४७ सिट चाहिन्छ।

तर, आइतबार विराटनगरमा जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने बताए। प्रदेशमा समानुपातिकबाट एक सिट पाएको जसपा सरकार गठनका लागि निर्णयक देखिएको छ।

प्रत्यक्षमा जित निकाल्न नसकेको जसपाले सरकारमा कसलाई समर्थन गर्नेबारे टुंगो लगाएको छैन। यता, राप्रपाले पनि एमालेलाई सहयोग गेर्नबारे कुनै निर्णय गरेको छैन।

उता, सत्ता गठबन्धनमा कांग्रेसको २९, माओवादीको १३ र एकीकृत समाजवादीको ४ गरी ४६ सिट हुन्छ । उसलाई बहुमतका लागि १ सिट पुग्दैन।

समानुपातिकमा एउटा संसद पाएको जसपा नै प्रदेशमा सरकार गठनको निर्णायक बनेको हो। जसपाले एमाले वा सत्ता गठबन्धन जसलाई समर्थन गर्छ, त्यसैको सरकार बन्ने अवस्था छ।

मुख्यमन्त्रीका आकांक्षी

४० सिट जित्दै प्रदेशमा पहिलो पार्टी बेनको एमालेले सरकार गठनको कसरत थालको छ। एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले मुख्यमन्त्री बन्नका लागि चुनावका बेला बनेको एमाले नेतृत्वको गठबन्धन टिकाउन लागि परेको छन्। झापा क्षेत्र नम्बर ५ को ‘२’ बाट निर्वाचित भएका कार्की प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हुन्।

कार्कीले दलको नेताका लागि आफू तयार रहेको तर पार्टीको निर्णय स्वीकार गरेर अघि बढ्ने बताए। उनी प्रदेश सांसदहरुको नियमित सम्पर्कमा रहेर दलको नेताका लागि तयारीमा छन्।

कार्कीका अलवा एमालेका पोलिटब्युरो सदस्य तीलकुमार मेन्याङ्बो र केन्द्रीय सदस्य रामबहादुर मगर पनि दलको नेताका आकांक्षी छन्। ताप्लेजुङको प्रदेश (१) बाट पहिलो पटक निर्वाचित मेन्याङ्बो र इलाम २(२) बाट दोस्रो पटक निर्वाचित भएका मगर दलको नेताका लागि प्रतिस्पर्धामा आउन सक्छन्। मगर प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत हुन्।

नेपाली कांग्रेसबाट दलको नेताका रुपमा केदार कार्की, प्रदीपकुमार सुनुवार, अमृतकुमार अर्याल र भीम पराजुली, उद्धव थापा आकांक्षी छन्। शेखर कोइराला निकट कार्की प्रदेश सरकारका हालका आन्तरिक मामिला तथा कानुनमन्त्री छन्।

अमृत अर्याल र प्रदीप सुनुवार देउवा पक्षधार हुन् भने भीम पराजुली कृष्ण सिटौला निकट हुन्। उनीहरूमध्ये अहिले कार्की, अर्याल र पराजुलीले दलको नेताका लागि तयारी थालेका छन्। तीनै जना मोरङबाट निर्वाचित भएका हुन्। कार्की मोरङको ६(२), अर्याल ५(२) र पराजुली ४(२) बाट प्रदेशसभामा निर्वाचित भएका हुन्।

यस्तै प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी १३ सिट जितेको माओवादी केन्द्रबाट दुई जना मुख्यमन्त्रीका आकांक्षी छन्। माओवादी केन्द्रको दलको नेतामा पाँचथरको प्रदेह (२) बाट दोस्रो पटक निवाचित इन्द्रबहादुर आङ्बो र मोरङ ६(२) बाट निर्वाचित जीवन आचार्य दलको नेताका लागि आकांक्षी देखिएका छन्।

आङ्बो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा आचार्य पार्टी अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ हुन्। दलको नेताका लागि आकांक्षी देखाएपनि माओवादीबाट प्रदेशमा मुख्यमन्त्री सम्भावना कम रहेको छ।

यस्तै नेकपा एकीकृत समाजवादीको भागमा परेमा हालकै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई पुनः दोर्होयाउने सम्भावना छ। समाजवादीबाट तीन जना प्रत्यक्ष र १ जना समानुपातिक गरी ४ जना संसद छन्।

प्रकाशित मिति: : 2022-12-06 12:56:00

प्रतिकृया दिनुहोस्