नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै

नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ। 

एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना हुने नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ पाँच राष्ट्रको सहभागिता रहनेछ।

पुरुषतर्फ नेपालसहित चाइनिज ताइपेइ, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, मलेसिया, दक्षिण कोरिया, भारत र बङ्गलादेशको सहभागिता रहनेछ। यसैगरी महिलातर्फ नेपाल, भारत, युएई, मलेसिया र थाइल्याण्डको सहभागिता रहनेछ। 

उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि भारतीय टोली सोमबार नै नेपाल आइसकेको छ। नेपालको यू–१८ टोलीले करिब डेढ महिनादेखि हेटाैँडाको रङ्गशालामा तयारी गरिरहेको सङ्घका अध्यक्ष देवकोटाले जानकारी दिए।
 

प्रकाशित मिति: : 2022-12-07 17:29:00

प्रतिकृया दिनुहोस्