आज चासोक तङ्नाम धुमधाम मनाइँदै

तेजन खड्का

उर्लाबारी 
Breaknlinks
Breaknlinks

पूर्वी पहाडका बारीमा पैँयू फुल्न थालेपछि किरात लिम्बूहरू उँधो झर्ने चलन थियो। मङ्सिरे पूर्णिमाको यही समयलाई उनीहरू उधौली अर्थात् चासोक तङनामका रूपमा मान्दै आएको सांस्कृतिक परम्परा छ।

लिम्बू जातिको यो महान् चाडको उल्लास आजबाट सुरू भएको छ। पूर्वी नेपालमा धुमधामसाथ मनाइने यो पर्व दुई सातासम्म विविध कार्यक्रम गरी मनाइन्छ। प्रकृति पुजक आदिवासी लिम्बू जातिले कृषिमा आधारित जीवनशैली अपनाई आएको र ऋतु परिवर्तनसँगसँगै खेतबारीमा लगाएको अन्नबाली बटुल्ने समयलाई चासोक तङनाम भन्ने गरिन्छ। यसलाई न्वागी उत्सव पनि भन्ने गरिएको लिम्बू संस्कृतिबारे जानकारहरू बताउँछन्।

लिम्बू संस्कृतिअनुसार साम्वा र सिंहफेदाङबाले न्वागी पूजाअर्चना गरेपछि चासोक तङनाम सुरू भएको मानिन्छ। नेपाली भाषामा ‘चासोक’ को शाब्दिक अर्थ न्वागी र ‘तङनाम’ को अर्थ चार्डपर्व हुन्छ। चासोक तङनामलाई लिम्बू जातिको पौराणिक मुन्धुममा आधारित मुख्य चाड मानिन्छ।

पूर्वी नेपालका विभिन्न ठाउँमा चासोक तङनामको रमझममा लिम्बू युवायुवतीको पनि बाक्लो जमघट सुरू हुन्छ। किरात मुन्धुमअनुसार वर्षलाई दुई भागमा बाँडेर पर्व मनाइने गरिएको छ। वैशाखे पूर्णिमादेखि मङ्सिर पूर्णिमासम्म उभौली पर्व र मङ्सिरे पूर्णिमादेखि वैशाख पूर्णिमासम्म उधौली पर्व भनिन्छ। उभौली पर्वमा तराईतिर गर्मी बढेर माछा, चराचुरूङ्गी समेतले उँभो लेकतिर बासस्थान सार्ने भएकाले पनि उभौली भनिएको व्यावहारिक भनाइ लिम्बू जातिमा रहँदै आएको छ।

त्यस्तै, उधौलीका समय लेक वा पहाडतिरको वातावरण चिसो हुने हुँदा त्यहाँका चराचुरूङ्गी मधेसतिर झर्ने गर्छन्। मौसमअनुसार पर्व मनाउने जाति लिम्बू समुदायले प्रकृतिको पूजा गरेर आफ्नो दिनचर्या सम्पन्न गर्ने गर्छन्।

युवा पुस्तामा आफ्नो मौलिक चाड पर्व र सांस्कृतिक मूल्य मान्यताबारे आकर्षण गराउन साताव्यापी रूपमा यो चाड मनाइन्छ। प्रकृतिपुजक लिम्बू जातिको पौराणिक मुन्धुममा आधारित चासोक तङनामको अवसरमा सांस्कृतिक माहोल फेरि एकपटक तातेको छ। चासोक तङनाम भनेको सर्वशक्तिमान मानिएको तागेरा निङवा फुमाङ (प्रकृति)ले दिएको अन्नबाली आफूले सेवन गर्नुभन्दा पहिले प्रकृतिलाई नै अर्पण गर्दै आभार व्यक्त गरेपछि खाने उत्सव हो।

दुई दशकअघिसम्म चासोक तङनाम लिम्बू जातिले येवा फेदाङवाको पर्याप्तताअनुसार निजी रूपमा मनाउने गर्थे। तर, आधुनिकतासँगै यो चाडलाई समूहमा मनाउन थालिएपछि महत्व झन् बढ्दै गएको छ। धार्मिक ग्रन्थ मुन्धुमका अनुसार कृषियुग सुरू हुनुअघि लिम्बूजातिका पूर्खा सावायेत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे। काँचो कन्दमुल सेवनका कारण उनीहरू कुपोषण र अन्य रोगको सिकार भए।

यस्तो जटिल परिस्थितिबाट मुक्ति पाउन उनीहरूले तागेरा निङवा फुमाङको पूजा आराधाना गर्दै रोगव्याधिबाट मुक्ति पाउन अनेक उपायको खोजी गरे। निरन्तर खाजी गर्ने क्रममा उनीहरूले प्रकृतिको कृपाबाट पेना माङदक (कोदो), ताक्मा (घैया धान), पारामा (कोदोसँगै फल्ने विरूवा), तुम्री (जुनेलो), साङघामा, लिङघामा र लङवामा लगायत अन्नका बीऊबिजन प्राप्त भएको थियो। यो पर्व कृषिकर्मसँग सम्बन्धित छ। बाली भित्र्याउने बेलामा मनाइने यो पर्वले लिम्बू जातिमा विशेष महत्व राख्दछ।

पर्वको अवसरमा लिम्बू युवा सांस्कृतिक पोसाकमा सजिएर साइनो नलाग्नेहरूबीच धाननाच नाच्न व्यस्त हुन्छन्। धाननाच समूहमा नाचिने नाच हो। नाचमा च्याब्रूङको अनिवार्य आवश्यकता पर्दछ। जहाँ लिम्बू जातिको बसोबास छ, त्यस क्षेत्रमा साता दिनसम्म नै लिम्बू भेषभुषामा सजिएका के युवा के बृद्ध, अझ भर्खरका केटाकेटी पनि ठूलाजस्तै धान नाच्न हौसिएका हुन्छन्। धाननाचसँगै के लाङ (च्याबु्रङ नाच), पकलुम लेप्मा (छेलो हान्ने), थाक थाक्मा (तान बुन्ने), लि आप्मा (गुलेली हान्ने ) प्रतियोगिता पनि उधौलीको अवसरमा गरिन्छ।

आफ्नो भाषा, रीतिरिवाज, संस्कार–संस्कृति र धर्मकर्मलाई निरन्तरता दिने क्रममा उधौली पर्वको महत्व र चर्चा झन् बढ्दै गइरहेको छ। पूर्वमा धाननाचको महत्व प्रत्येक वर्ष बढ्दै गएको पाइन्छ। झापा,मोरङ,इलाम, सुनसरी, धनकुटा, तेह्रथुम, पाँचथर,ताप्लेजुङ लगायतका जिल्लाका विभिन्न स्थानमा किरात–लिम्बू संघसंस्थाको अगुवाइमा उधौली पर्व सम्पन्न हुने गरेका छन्।

हाक्पारे साम्लो, ख्याली (लिम्बू समुदायले गाउने दोहारी जस्तै एक प्रकारको गीत) गाउँदै एक अर्कामा मायापिरतीका कुरा शब्दमार्फत् व्यक्त गर्ने चलन छ। युवायुवतीबीच एकअर्कामा मनपरापर भएमा बिहे समेत गर्ने सांस्कृतिक प्रचलन रहेको छ।

प्रकाशित मिति: : 2022-12-08 11:45:00

प्रतिकृया दिनुहोस्