पूर्व नम्बर एक गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।
सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा दिनेश प्रजापतिलाई नौ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नगरकोटी विजेता बनेका हुन्।
भुवनले ४–अन्डर ६४ को स्कोरसहित समग्रमा १४–अन्डर २ सय ५८ को नतिजामा उपाधि जितेका छन्। उपाधिसहित भुवनले एक लाख १६ हजार प्राप्त गरे। उनको यो खेल करियरको दशौं उपाधि हो।
६–अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५–अन्डर २ सय ६७ सहित दोस्रो भए। उनले ७८ हजार प्राप्त गरे। इभन–पार ६८ स्कोर जोडेका शुक्रबहादुर राईले समग्रमा १–अन्डर २ सय ७१ को नतिजामा तेस्रो स्थानमा चित्त बुझाए।
पहिलो दुई दिनका लिडर रवि खड्काले ४–ओभर ७२ स्कोरमा खेल सकाउँदा समग्रमा ३–ओभर २ सय ७५ मा चौंथो स्थान प्राप्त गरे। तेस्रो र चौंथो भएका शुक्र र रविले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गरे।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपालको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र पाँच एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए।
विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपिजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।