बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन्।
बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका हुन्। यही पुस २४ देखि आगामी माघ ३ गतेसम्म प्रतियोगिता हुन लागेको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ।
प्रतियोगितामा अमेरिकन क्लब भुटनिजसहित ‘ए’ डिभिजनका सात र मोफसलका दुई टोलीको सहभागिता रहने समितिका अध्यक्ष टीका श्रेष्ठले जानकारी दिए। प्रतियोगिताको विजेता टोलीले रु आठ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु चार लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही रु १०–१० हजार, ट्रफी र प्रमाणपत्र पाउनेछन्। हरेक खेलको ‘म्यान अफ दी म्याच’लाई रु पाँच हजार दिइने आयोजकले जनाएको छ।प्रतियोगिता सञ्चालनका लागि करिब रु ७१ लाख खर्च हुने आयोाजकको अनुमान छ।
खेल बागमती–८, फापरबारीस्थित जनता माविको मैदानमा हुनेछ। चौथो संस्करणको उपाधि अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई हराउँदै ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो।