चित्रबहादुर केसीले प्रचण्डलाई किन पत्याएनन् ?

BreaknLinks
BreaknLinks

तेस्राे दलकाे हैसियतमा झरेर पनि गाेल्डेन चान्ससहित प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामार्फत पूर्णबहुमतसहित विश्वासकाे मत प्राप्त गरे।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सम्पन्न मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले २ सय ७५ सदस्यीय प्रतिनिधिसभा सदस्यमध्ये २ सय ६८ सांसदकाे मत प्राप्त गरे। जुन इतिहासकै सबैभन्दा ठुलाे विश्वासकाे मत हाे।

निर्वाचनमा पहिलाे दल बनेर पनि सत्ताहराेण गर्न नपाएकाे नेपाली काँग्रेसदेखि राजावादी भनिएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नो नट अगेन भनेकाहरुले सम्म प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिए। यसरी इतिहासमै सबैभन्दा बढी विश्वासकाे मत प्राप्त गरेका प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय जनमाेर्चाले भने पत्याएन।

प्रतिनिधिसभामा एक/एक सिट रहेका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमाेर्चाले मात्रै प्रचण्डलाई विश्वासकाे मत दिएनन्।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा माओवादीसँग गठबन्ध गरेर चुनावमा गए पनि सरकार निर्माणकाे क्रममा भने राष्ट्रिय जनमाेर्चाले विश्वासकाे मत दिएन। प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिने क्रममा बाेल्दै जनमाेर्चाका एक मात्रै सांसद चित्रबहादुर केसीले प्रचण्ड सरकारले जति फेहरिस्ता बनाए पनि कार्यन्वयनमा शंका गरेकाे भन्दै व्यङ्ग्यत्मक टिप्पणी गरे।

‘नेपाली जनताले अब कस्ताे अनुहारकाे सरकार बन्ने हाे भनेर इन्तिजार गरेकाे बेला आज सम्माननीय प्रधानमन्त्रीज्यूले याे सरकार बनेपछि गर्ने कामकाे फेहरिस्ता हामीलाई सुनाउनुभयाे। यस्ता फेहरिसता त नेपालकाे संविधानमा कुनै नयाँ कुरा हाेइन, बहुदलीय व्यवस्था आएपछि हरेक प्रधानमन्त्री हुनेले यस खालका फेहरिस्ता हामीले धेरै सुनियाे। समस्या कार्यान्वयनकाे छ,’ प्रतिनिधिसभाका ९९.२५ प्रतिशत सांसदले प्रधानमन्त्रीलाई समर्थन गरिँरहँदा चित्रबहादुर केसीले राेष्टमबाटै भने।

उनले प्रतिनिधिसभाका सबै पार्टीले सरकारलाई समर्थन गरेकाे देखेर विचित्र लागेकाे प्रतिक्रियासमेत दिए। उनले सबै दलले चुनाव खर्च जुटाउन र आफ्ना पुराना गल्ती लुकाउन सरकारलाई समर्थन गरेकाे समेत आराेप लगाए।

‘सबै साथीहरुलाई सरकारमा सामेल भएर विगतमा भएका आफ्ना गल्ती कमजाेरीहरु पनि ढाक्ने, त्यहीभित्र लडामती गरेर एउटालाई पन्छ्याएर अर्काे सरकारमा आउने ताल त हाेइन याे ? यसाे गरेर देश बन्छ ? सरकार चल्छ यसरी ? त्यसैले आज देखिएकाे याे दृश्य डरलाग्दाे छ,’ सांसद केसीले भने, ‘...अब बाेरामा पैसा लगेर चुनाव जितेर आएकाले अहिले सत्तामा नबसेर, प्राकृतिक स्राेतकाे दाेहान गरेर त्याे चुनाव खर्च कसरी उठ्छ ? त्यही डरले र विगतका गल्तीहरुलाई लुकाएर त्यसबाट बच्न पनि सबै एक ठाउँमा भएका हुन् कि जस्ताे लागेकाे छ, मलाई। यसबाट नेपालकाे लाेकतन्त्र र प्रजातन्त्र बलियाे हुन्छ भन्ने मलाई लाग्दैन। त्यसैले हामीले यस्ताे अवस्थामा विश्वासकाे मत दिन सकिँदैन।’

नेता केसीले एक्लै भएपनि जनमाेर्चले निरन्तर लड्ने बताए।

त्यस्तै पार्टीकी उपाध्यक्ष दुर्गा पाैडेलले प्रचण्डले तत्कालिन काँग्रेस नेतृत्वकाे सत्ता गठबन्धन ताेडेर विगतमा प्रतिगमनकारी भनिएकाे एमालेसँग मिलेर सरकार बनाएका कारण विश्वासकाे मत दिन नसकिएकाे बताइन्। उनले अब जनमाेर्चाले प्रतिपक्षमा रहेर सशक्त आवाज उठाउने दाबी गरिन्।

‘विगतमा हामीले एमालेलाई प्रतिगमनकारी भनेर जनतासँग संविधान रक्षाकाे लागि मत मागियाे, अब अहिले प्रचण्डले उही एमालेसँग मिलेर सरकार बनाउँदा त हामीले कसरी समर्थन गर्न सकिन्छ र ?,’ उपाध्यक्ष पाैडेलले बिएल नेपाली सेवासँग कुरा गर्दै भनिन्, ‘अब हामी प्रतिपक्षामा बसेर बलियाे आजाव उठाउँछाैँ।’

प्रकाशित मिति: : 2023-01-10 20:30:00

प्रतिकृया दिनुहोस्