डोल्पा अस्पताल जोड्ने पक्की पुल बनाउन पहिलो चरणमा दुई करोड

डोल्पाको एकमात्र अस्पतालको रुपमा रहेको जिल्ला अस्पताल जोड्ने मोटरेवल पुल बनाउनका लागि पहिलो चरणमा दुई करोड बजेट छुट्याइएको छ।

पुर्वाधार विकास कार्यालय डोल्पाबाट पहिलो चरणमा दुई करोड बजेट छुट्याइएको हो।

मोटरेवल पुल नहुँदा बिरामीलाई एम्वुलेन्समा सिधै अस्पताल पुग्न समस्या हुने गरेपछि पक्की पुल निर्माणकालागि पुर्वाधार विकास कार्यालयबाट आव ०७९/०८० का लागि पहिलो चरणमा दुई करोड रकम छुट्याइएको कार्यालय प्रमुख पदम देबकोटाले जानकारी दिए।

'शिवनाथ इन्जिनियरिङ् कन्सल्टेन्सीले अघिल्लो बर्ष तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन रिपोर्ट (डि.पि.आर) स्थानीय सडक तथा पुल सहयोग ईकाइले अझै स्विकृत भएको छैन, स्विकृतका लागि प्रयास भइरहेको छ, अब छिट्टै पुलको ठेक्का खुलाउने तयारी भइरहेको छ', देवकोटाले भने।

पुलको योजना क्रमागत भएकाले प्रत्येक बर्ष बजेट आउने र सकेसम्म दुई वर्षभित्रै काम सक्ने गरेर निर्माण थालिने उनको भनाई छ।

अघिल्लो आर्थिक वर्षमा स्थानीय सडक तथा पुल सहयोग ईकाइले विस्तृत अध्ययन प्रतिवेदन रिपोर्ट(डि.पि.आर)स्विकृत नगरेकै कारण दुई करोड बजेट फिर्ता गएको समेत उनले बताए।

पुलको कुल लागत अनुमान बाह्र करोड रहेको पुर्वाधार विकास कार्यालय डोल्पाले जनाएको छ। जिल्ला अस्पताल जोड्ने पुल बनाउन अपरिहार्य भएको ठुलिभेरी नगरपालिकाका प्रमुख सुवर्ण बुढाले बताए। जतिसक्दो छिटो पुल निर्माण गराउन नगरपालिकाले गर्नुपर्ने सहयोग सबै गर्ने उनको भनाई छ।

अहिले सिधा अस्पताल जोड्ने पुल नहुँदा सडक छोडेर बिरामीलाई घुमाउरो बाटोमा आधा घण्टा बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यता छ।

अहिले प्रयोग भइरहेको बाटो घुमाउँरो र साँघुरो भएकै कारण अस्पताल नपुग्दै बिरामीको ज्यान जाने गरेको जिल्ला अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2023-01-12 15:40:00

प्रतिकृया दिनुहोस्