जोशीमठ किन भासिँदै छ?

बिएल संवाददाता

उत्तराखण्ड
India Today
India Today

उत्तराखण्डको जोशीमठ शहर भासिँदै गएको छ। तीर्थयात्रीको प्रमुख गन्तव्य मानिँदै आएको जोशीमठले यतिबेला सबैको ध्यान तानेको छ। जोशीमठका मानिसहरूले आफ्नो घर धसिँदै गएको गुनासो गर्दै आएका छन्। ती घरहरूमा धाँजा फाटेका छन्। जमिन फुटेर पानी चुहिँदा तनावमा छन्।

जोशीमठका लगभग एकसय परिवारको छाना गुमेको छ। वर्षा र हिमपातले ‘उनीहरूको दैनिकी’मा थप कष्ट थपेको छ। घरहरू फुट्ने क्रम रोकिएको छैन। थप पानी परेमा यी घरहरू ढल्ने जोखिम बढेको भन्दै प्रशासनले चेतावनी दिएको छ।

करोडौं मूल्यका घरहरू भत्किँदा स्थानीय बासिन्दा चिन्तित छन्। उनीहरू खुला आकाश र होटलको सहारा लिन बाध्य छन्। अहिलेसम्म केही व्यक्तिले मात्र सरकारबाट पाँच हजारको चेक पाएका छन्।

मौसम ज्यादै चिसो छ। जोशीमठमा पानी परिरहेको छ। शहरभन्दा करिब पाँच किलोमिटर माथि हिमपात भइरहेको छ। केही दिन यस्तै भइरह्यो भने कैयौँ घरहरू खस्ने खतरा छ।

बिहिबार बिहानैदेखि मानिसहरू मालसामान बोकेर सडकमा निस्किए। उनीहरू शंकराचार्य मठको छेउमा ओछ्यान, बाकस, ग्याँस सिलिण्डर र झोला बोकेर घुमिरहन्थे। कतिपय स्थानीयहरू राज्य सरकारले दिएको कोठा, कति आफन्तको घरमा सरे।

‘सुरुमा त सबै कुरा सामान्यजस्तो लागेको थियो। जब राति पानी पर्‍यो, घर फुट्न थाल्यो। हामीले जोगाउने कोसिस गर्‍यो। तर पानीले झन्–झन् चिरा पार्न थाल्यो,’ स्थानीय नीलम परमानले भनिन्, ‘घरमुनि एउटा ठूलो ढुङ्गा छ। हामीले सोचेका थियौं कि हाम्रो घर ढुङ्गामा बनेको छ, कतै पनि जाँदैन। अहिले तल खाल्डो छ, ढुङ्गाले ठाउँ छोडेको छ।’

जोशीमठकी स्थानीय गीता परमान पनि जमिन भासिँएको देखेर ठूलो चिन्तामा छिन्। अर्को दिन सरकारी प्रतिनिधिले घरमा नबस्न भनेपछि परिवारका अन्य सदस्यसहित नानीबाबु लगेर सडकमा निस्किइन्। अहिले उनको घरमा रातो चिन्ह लगाइएको छ।

‘सरकारका मानिसहरू आएका थिए। उनीहरूले हामीलाई कि भने यहाँ नबस्नुहोस्, तपाईको जीवन खतरामा छ। यहाँबाट बाहिर निस्कनुहोस्। हामीहरू बच्चाबच्ची बोकेर निकिस्यौँ।’

गीताको २० कोठे घर छ। परिवारमा आठ जना सदस्य छन्। तर उनीहरूले सरकारबाट एउटा कोठा पाएका छन्। त्यहाँ आठ जना बस्छन्। खाना पकाउने व्यवस्था छैन। एउटा मात्र शौचालय छ।

उनीहरू त्यहाँ रात बिताउन मात्र गइरहेका छन्, ताकि रातमा केही भयो भने जीवन बचाउन सकियोस्। उनीहरू बसिरहेको ठाउँ पनि सुरक्षित छैन।

त्यस्तै, मनोहरबागस्थित रजनी नौटियाल निजी विद्यालयमा काम गर्छिन्। चार कोठे घरमा तीन जना छन्। उनको पनि जमिन भासिँएको छ। घर फुटेको छ। अहिले गेस्ट हाउसमा एउटा कोठा छ। उनको परिवार त्यहीँ बसेको छ।

भत्किएको घरको भित्ता देखाउँदै उनी भन्छिन्– ‘हाम्रो भविष्य कहाँ छ? बच्चाबच्चीहरू कहाँ लैजाने? हामीहरू कहाँ जाने? मेरो भविष्य र छोराछोरीको भविष्य के हो?’

रजनी आफ्नो भान्सा देखाउँछिन्। त्योपनि चिराचिरा परेको छ। जोशीमठको जनजीवन बिथोलिएको छ। जताततै जमिन भासिँएर आतंक मच्चिएको छ। दश दिनअघि ठूलो झट्का लाग्यो। घरको पर्खाल भत्कियो। मानिसहरूले खेतमा गएर चिसो रात काटे।

जोशीमठमा गएको भूगर्भीय विपत्ति सामान्य छैन। प्रकृतिक स्रोतसाधनको दोहनले जोशीमठ भासिँएको विज्ञहरूले बताएका छन्।

प्रकाशित मिति: : 2023-01-13 09:44:00

प्रतिकृया दिनुहोस्