रुन्टीगढीको चरम लापरबाही : सरकारी मोटरसाइकल महिनौँदेखि अलपत्र

रोल्पाको रुन्टीगढी गाउँपालिकाको चरम लापरबाही देखिएको छ। सरकारी सवारीको दुरुपयोग तथा सवारीमा सानातिना समस्या आउँदा जहाँको त्यहीँ फालेर हिँड्ने प्रवृत्ति बढेको छ।

गाउँपालिकाको रा १ ब ३३१ नम्बरको हण्डा साइन मोटरसाइकल झण्डै १ महिनाभन्दा बढीदेखि रुन्टीगढी वडा नम्बर ६ धारपानी गाउँमा बेवारिसे अवस्थामा फालिएको छ।

कुनै लेखाजोखा नगरी सरकारी कोषबाट महँगा र आरामदायी मोटरसाइकलहरु किन्ने र साना तथा पुराना मोटरसाइकलमा अलिकति समस्या आउनासाथ जहाँको त्यहीँ थन्क्याएर मर्मत गर्नुको साटो कार्यालय पुगी अर्को मोटरसाइकल प्रयोग गर्ने लहर बढेको स्राेतले बताएको छ।

अहिले धारपानीमा बेवारिसे बनाएर अलपत्र फालिएको मोटरसाइकल १ महिनादेखि सोही स्थानमा रहेको स्थानीय खिमबहादुर घर्तीले जानकारी दिए। राज्यकोषबाट खरिद गरिएको सवारी साधन बेवारिसे फालिनु चिन्ताजनक भएको उनले बताए।

अधिकृतहरुलाई वास्ता छैन

यस विषयमा हामीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीलाई सम्पर्क गर्दा उनले आफू पालिकाभित्र कति सवारी छन् भन्ने कुरामा जानकार नभएको भन्दै निमित्त अधिकृत सानोबाबु खड्कालाई थाहा हुने जवाफ दिए।

सानोबाबु खड्काले पनि आफूलाई सवारीबारे जानकारी नरहेको भन्दै आन्तरिक लेखा परिक्षक दीपक पराजुलीतिर सोध्न भनेर आफू पन्छिए। यी दुई अधिकृतहरुको जवाफबाटै थाहा हुन्छ कि कर्मचारी र सवारी साधनहरुको व्यवस्थापन कस्तो छ भनेर।

आन्तरिक लेखा परिक्षक दीपक पराजुलीले रा१ब ३३१ नम्बरको मोटरसाइकल कार्यालय सहयोगी सुकबीर विक र अर्का स्थानीय कर्मचारी सोमराज घर्ती चढ्ने गरेको बताए।

सवारीमा समस्या आएपछि त्यहाँ राखिएकोले उनीहरु दुबै जनालाई तुरुन्तै सवारी ल्याउन निर्देशन दिएको कुरा बताए। उता गाउँपालिका अध्यक्ष जनक पुनलाई पनि यस विषयमा कुनै मतलब छैन। उनी उल्टै कानुनलाई हातमा लिएर काम गर्न पछि पर्दैनन्। यसरी सरकारी सवारीहरुको दुरुपयोग र बेवारिसे फाल्ने प्रवृत्तिले स्थानीयहरु चिन्तित बनेका छन्।

प्रकाशित मिति: : 2023-01-17 17:35:00

प्रतिकृया दिनुहोस्