कसले बुझिदिने 'क्रान्तिकारी दिदी'काे कथा–व्यथा?

सदिक्षा केसी

काठमाडाैँ
BreaknLinks
BreaknLinks

सूर्य त सधैं उदाउँछ। तर हरेक दिन किन भिन्नै लाग्छ? घामको किरण शरीरमा स्पर्श हुँदा नयाँ बिहानी जताततै छरिन्छ। अनि दिन्छाैँ– सयौं कथा–कहानीको उपनाम। हामीले शिक्षा लिँदा विद्यालयको पुस्तकमा 'भोलिवाद' पढेका थियाैँ। नेपाली साहित्य जगतका प्रसिद्ध हास्यव्यङ्ग्यकार भैरव आर्यालले घत लाग्दाे व्याख्या गरेका छन्, त्यहाँ। कति सजिलो छ है, हरेक कार्य भोलिलाई टार्न? मानव हलचल–अनुसार भोलि शब्दले कहिले बिझाउँछ, कहिले राहत दिन्छ।

सुन्दर फूलकाे छेउमा जहाँपनि धारिलो काँडा हुन्छ। दुनियाँलाई मनपर्ने हरेक फूल काँडा वा हिलामै फुल्छ। मेरो पनि दैनिकी अक्सर यस्तै–त्यस्तै ताैरबाट चल्छ। रातमा निन्द्राले पान–पराग, दिमाग खराब बनाउँछ। सबैले भन्छन्, म निकैबेर साेच्छु। सानो कुरामा घन्टाैंसम्म दिमाग लगाउँछु। भएभरको दिमाग ईश्वरले मेरै खप्परमा राख्दिए जस्ताे? के बाँकी मानिसहरूको टाउकाेमा खोष्टा मात्र छ? त्यसाे पनि पक्कै हाेइन?

मानव जीवन एउटा 'रमाइलाे–यात्रा' हाे। यात्राकाे अनुभूती बेग्लै हुन्छ। हिँड्दा–हिँड्दै पाेख्खिन्छन्, अनुभव। जाेतिन्छन्, भावना। दैनिकीले घनचक्कर लगाउँछ, घरि शिखर चुम्छ, घरि नमज्जाले भूइँमा पछारिन्छ। बगिरहेकाे जीवन कताकति राेकिन्छ। लेख्न खाेज्दा कथाहरू लेखिँदैनन्। बाेल्न खाेज्दा बाेली फुट्दैन। साेच्छु– म अल्छी भएँ कि यी मेरा हातका औंलाहरू।

मानिसहरू बढ्दाे उमेरमाथि अनेकाैँ आराेप लगाउँछन्। उमेरकाे के दाेष? ढल्केकाे ढल्क्यै छ, बढेकाे बढ्यै छ। जवानीको तरेली नै यस्तै हाे हजुर पनि भन्न भ्याउँछन्। तर नबुझ्नेहरू भन्छन्– कति छिल्लिएकी? चेतना अनुसारको बुझाइँ न हाे। मेरी आमा भनछिन्, धर्तीमा आँखा खोलेदेखि नै अच्चम्मकी थिइस् तँ ! खै... उहाँको भाव कसरी ठम्याउनु? आफूलाई कुन रगं सुहाउँछ त्याे त ठम्याउन सकेको छुइनँ। सार्है गहिरो तलाउमा भएजस्तो भान हुन्छ।

मेराे मनकाे पाेखरीमा थरिथरिका माछाहरू वरिपरि छन्, तर कुन–के चिन्नै गार्हो छ। फेरी आँखामा लेउ लागेको हैन है, मेरा आँखा समुन्द्र हुन्। फेरि प्रभारीहरू उडाउँलान्, मलाई। उबेला बम तिनकाे टाउकोमा पड्काउन मन लाग्थ्यो, आजकल भो लेबल मिलेन भनेर छोड्छु। यो उमेरको सोचाइँ हो कि? म नाटक गर्दैछु। कति कन्फ्यूज के हरे...! यस्तै सोच्दै थिएँ, अचानक गाडी घ्याच्च रोकियो। ब्रेकपनि कस्तरी लगाउँछन् गुरुजीहरू। राजाको गाडीमा राजा नै सवार। घमण्डको तह नै पार गर्छन्, यिनीहरू। 

घमण्डले भरिएका चालकलाई केही भनिसाध्य छैन, फेरि ट्याक्सीमा जानू नी! सिधैं जवाफ दिन्छन्। मारिदिऊ जसरी झोक चल्छ। खैर, म पात्रहरू खोजिरहेछु। औंलाहरू सार्न कोही त चाहियो नी। त्यसै मनगन्ते के फुराउनु?

जिन्दगीमा सबैभन्दा रमाइलो पल मलाई गाडीको झ्यालतिर बसेर बाहिरी संसार र भित्रका मुहार नियाल्नु हाे। खूब् मजा लाग्छ– त्याे पल, ती दृश्य। धेरैजसो 'मुडअफ' भएको बेला, त्यहीँ गर्ने बानी छ। कहिलेकाहीँ हावा–तालमा हराइदिन्छु। त्याेपनि गाडी चढेर। त्याेपनि अभिलेखबिनाकाे एक्लाे जमिनमा।

चारपांग्रे गाडी जता गुड्यो, उतै रमाइलाे। यसो गर्दा थरिथरिका किंमदन्तीहरू दगुर्ने नै भए। पात्र टिपेर सिउरिनु पनि मज्जा छ, संसारमा। बुढानिलकण्ठदेखि लगनखेलसम्म साझा बसमा माकुराको जालाे बुन्दैथिए। जति नै ठूलो कुरा गरेपनि युवा–युवतीको चाहना आफूसित नै मिल्छ। उनीहरू साेच्छन्ः उनीहरू पनि नभनाैँ हामीहरू साेच्छाैँ– गाडी भित्रकाे सीटसामु राम्रै मान्छे परिदिए हुन्थ्यो भन्ने लोभ चैँ हुन्छ। तर मेरो चाहना भने बालुवामा पानी हाले सरह भयो।

हतार–हतार एउटा मान्छे आयाे। मेरो सामुन्नेको खाली सीटमा थचक्क बस्याे। काे हाे? कहाँ जान हतारिरहेकाे छ– पत्ताे छैन। उनी अन्दाजी ४०–४५ वर्षकी थिइन्। आँखामा चस्मा लगाएकोले मोबाइल–नम्बर हेर्न गार्हो परेछ, उनीलाई। आँखा निकै कमजाेर रहेछन्। उनीले मलाई काेट्याइन्। नानी मैले आँखा देखिनँ, मेरो छोरीको नम्बर छ, डायल गरिदिनु न। यति भनेपछि कर नै लाग्यो। केहीबेरमा फोनको घण्टीसँगै आवाज गुन्जियो– हेलो मम्मी भन्नु त…?

यात्रीः ए नानी खाजा खायाैँ? बाबा र भाइ खै ? बाबाले औषधि खाने बेला भयो है। म यहाँ सरलाई भेट्दैछु। भेटेर कुरा गर्छु, नआत्तिकन पढ्नू। छाेरीबाट राम्रै जवाफ आएर होला, फोन काटिन् कति माया हुन्छ है आमाको। मलाई पनि मेरी आमाको याद आयो। मैले उनीलाई कुरैकुरामा मेराे कथा–व्यथा भन्न भ्याएछु, उनी मुसुक्क हाँसिन्।

रहर र जिम्मेवारीले आमा हुनु र आमा हुन नचाहेर हुनुमा फरक छ, नानी? के गर्नु संसारको रीत भोग्नैपर्ने रहेछ। मलाई लाग्यो साहित्यिक गन्थन पोख्दै छिन्, वास्ता गरिनँ। कहिलेकाहीँ आफ्नो पीडा यति ठूलो हुन्छ कि अर्को व्यक्तिको भाव पनि बुझ्न मन लाग्दैन। गाडी निरन्तर उहीँ बेगमा– कोही यात्रु चड्दैछन्। कोही ओर्लिँदैछन्। शहरमा सबैलाई हतार छ। गन्तव्य बिनाको हतारो।

उनी (यात्री)लाई मैले आमाको कुरा गरेपछि मन छोएछ क्यारे! भनिन्– म पनि तिम्रोजस्तै कलिलो उमेरमा थिएँ। सोख त्यस्तै। गाउँमा धेरै गाह्राे त्याेपनि एकल आमाले पालिन्। दाइको विवाह भएपनि परिवार खुसी र सुखी थिएन। दाइ हामीजस्तो सामान्य थिएनन्, नानी! दुई सन्तान भएपछि भाउजुले छोडेर नयाँ घर बसालिन्। उसै त टुहुरो सन्तान हुर्काएकी मेरी आमाले नातिनातिनाबाट सुख पाउँलाभन्दा उहीँ ताल भयो। यात्रीले राम–कहानी सुनाइरहिन्।

बगिरहेको भाव, मैले कसरी रोक्थे? देशका लागि मैले यो गरेँ, त्यो गरेँ भन्छन्– अहिलेका ठूलाठाला के गरे खै...? उनकाे प्रश्न थियाे– गर्ने र लड्ने हामी सामान्य नागरिक हौँ। त्यसको बदला उनीहरू मस्तीमा छन्? हजारौं लडाकुको योगदान छ। धेरै अन्याय सहेर होला, मभित्र छुट्टै क्रान्तिको आगो बलेको थियो। तर भाउजु हिँडेपछिको जिम्मेवारीको थाप्लो झन् बड्यो। मैले दुईवटा काखेनानी च्यापेर लडेको छु, नानी कठै…! कसरी बाँचियो खै? आज मर्ने कि भोलि ठेगान नहुने। नामै त जनयुद्ध, लडेपछि नयाँ किरणले बोलाउला भन्ने सपना सबैले सिरानीमा राख्थें। उनी एकसराे बगिरहिन्।

अब, चैँ म बाध्य भएँ प्रश्नको लागि। साेधें– अनि नानीहरूलाई किन लग्नुभएको? आमालाई छोड्नुभएन? फ्याट्ट जवाफ आयो– आमालाई छोडेर के गर्ने? दाइलाई हेर्ने कि टुहुरालाई? म पछि हट्नेवाला थिइनँ। जवानीको जोस्, अलिकति युवा आक्रोश। साेधिरहे। उनी बगिरहिन्– २०५८ सालमा नेपालका राष्ट्रप्रमुख तत्कालीन राजा वीरेन्द्रलगायत उनको परिवारका सदस्यहरूको नारायणहिटी दरबारमा हत्या भएलगतै उनका माहिला भाइ ज्ञानेन्द्र नयाॅ राजाको रुपमा गद्दीमा बसेका थिए। देशमा संकटकाल लाग्याे। तिमी त सानै थियौँ होला। खै... के याद होला र? उनले भनिन्। म ट्वा परेँ।

कथा लामाे छ, अनुभव बेग्लै छ। मैले छाडिदिए बाँकी कुरा सुनिरहे उनैका कथा। एउटी लडाकुको व्यथा। त्याेबेला सुनाइन्– जनयुद्ध रोकिएन। हामी लडिरह्याैँ। दलहरूबीच सहमति भएन। जताततै त्राश थियाे। सबैलाई सत्ताकै लोभ। राजाले निर्वाचित संसद् भङ्ग गरेर सत्ता आफ्नो हातमा लिए। त्यो कदमले राजनीतिक दलहरू आन्दोलनमा उत्रिए, जसमध्ये मपनि हुँ।

यात्री– एउटी लडाकु यात्री। त्यसमा पनि व्यवस्था फेर्न हिँडेकी यात्री। कथामा व्यथा मिसियाे भने, सुनिरहँन मन लाग्ने। मैले पनि यात्राभर भावुक हुँदै सुनेँ– हेर न नानी मभित्र राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापना गर्ने भूत सवार थियाे। २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौतामा हस्ताक्षर गरेर युद्ध अन्त्य गरे। सुनिन्छ १७ हजार याेद्धा मारिए, त्यसमा १६ हजार महिला नै थिए रे। खाँदै नखाएको विष के लाग्नु भन्छन् तर आफूलाई मुटु पोल्छ। उनले सुनाइन्। अहिले सुत्न सक्दिनँ।

दिदीले भनिन्– हेर नानी के गर्नु राम्रै होला भनेर ज्यान फालियो। न यता न उता, मुलाबारी भित्ता भएको छ। अघि तिमीले फोन लगाइदिएकी थियौँ नी, ऊ मेरी भतिजी हो। भतिज पनि छ। दाइ, म र उनीहरू सँगै बस्छौं। टन्न धन–सम्पति नभएपनि आन्नदको आभास छ भन्नुपर्छ, आमाको देहान्त भयो। जसोतसो गरेर पढाउँदैछु, राम्रो पढ्छन्। ज्ञानी छन्। मैले विवाह गरेभने उनीहरूको बिचल्ली हुन्छ भनेर बिहे गर्नै मन लागेन। अहिले, पो नानीहरू बिहे गर्नाेस् भनेर करकर गर्छन्। (हाहाहाहाहा...)

यात्रीकाे मुहारमा बल्ल मुस्कान देखेँ– ओठका साइडमा चाउरिएकाे देखिएपनि सुन्दर लाग्यो। म सोच्थें, मेरा कति धेरै कथा छन्। तर म गलत रहेछु। म भन्दा धेरैले भोगेका छन्, पीडा। उनीहरूले बगाएका छन्, रगत। मैले योगदानका ठुल्ठुला वाक्य के झार्नु? म काे हुँ र? मेरा अगाडी हिराका टुक्राहरू छन्, मलाई 'उनी'हरू बन्न त दशकाैँ लाग्ला। मैले मेरो खास्टो उनलाई दिए। बाँकि त दिन सक्ने केही थिएन। लडाकु दिदीले मेरो तन–मनलाई हल्लाइदिइन्। आखिर एक मानवले अर्को मानवको खुसीको लागि जीवन योगदान दिन्छ। योगदानकर्ता भाेलि हाेइन आज सुनिनुपर्छ। मैले चाहिँ आजै सुनेँ। एउटा गर्वलाग्दाे इतिहास सुनेँ। एउटा कहालीलागदाे व्यथा सुनेँ। मैले यात्री दिदीकाे कथा सुनेँ। अँ..., साच्ची उनी अर्थात् प्यारी इन्दु दिदीकाे एउटा जीवन सुनेँ।

प्रकाशित मिति: : 2023-03-05 06:47:00

प्रतिकृया दिनुहोस्