मोरङको विराटनगरमा जिल्लास्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता सुरु भएको छ।
मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो।
पुष्पलालचौकको खेल मैदानमा फाल्गुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगरका अध्यक्ष गोपाल झाले जानकारी दिए।
प्रतियोगिताको उद्घाटन नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले गरेका हुन्। प्रतियोगिताको उद्घाटन गर्दै थापाले मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको खेलले नेपालकै भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान दिने बताए।
खेलकुख क्षेत्रमा सरकारहरुले गरेको लगानी अत्यन्त न्यून रहने गरेको बताउँदै उनले नेपाली खेलकुद, खेलाडी र खेलप्रेमीहरुको बलमा मात्र टिकेको बताए। खेलकुद क्षेत्रले देशलाई विश्वमा चिनाउन मद्धत गर्ने भएकाले खेल क्षेत्रको सुधारमा सरकारले ध्यान दिनुपर्ने उनले बताए।
प्रतियोगिताको उद्घाटन खेलमा इडनवर्ग कलेज विराटनगर विजयी भएको छ। लेटाङ बहुमुखी क्याम्पसलाई १९-२५ र २२-२५ को सोझो सेटमा पराजित गर्दै इडनवर्ग सेमिफाइनमा प्रवेश गरेको छ।
प्रतियोगितामा विजेतालाई नगद ३१ हजार र उपविजेतालाई २१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गर्ने आयोजकले बताएको छ।