विराटनगरमा जारी जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगितामा शुक्रबार चार खेल भएका छन्।
पुष्पलाल चौकको खेल मैदानमा भएको पहिलो खेलमा विराट मल्टिपल कलेज विजयी भएको छ। विराटले हिमालय कलेजलाई २–१ को सेटमा पराजित गरेको हो। पहिलो सेट १९–२५ ले गुमाएको विराटले दोस्रो र तेस्रो सेटमा लगातार जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।
हिमालयलाई २५–२३ र २५–१८ को सेटमा पराजित गर्दै विराटले जित निकालेको हो। विराट एक खेल अगावै सेमिफाइन प्रवेश गरेको छ । नेहारिका कलेजले सहभागी नभएपछि विराट सेमिफाइनलमा प्रवेश गरेको हो। आज भएको दोस्रो खेलमा कोशी मल्टिपल कलेजलाई २–१ को सेटमा पराजित गर्दै सोम्स कलेज अघिल्लो चरणमा प्रवेश गरेको छ।
पहिलो सेट २२–२५ ले गुमाएको सोम्सले दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–१८ को जित निकालेको छ । सेमिफाइनल प्रवेशका लागि सोम्सले सास्तम कलेजसँग सामना गर्नुपर्नेछ। यस्तै आज भएको तेस्रो खेलमा युनिभ मोर्डनयरा कलेज विराटनगर विजयी भएको छ। उर्लाबारी बहुमुखी क्याम्पसलाई २५–१२ र २५–१७ को सोझो सेटमा पराजित गर्दै मोर्डनयरा सेमिफाइनमा प्रवेश गरेको छ।
सेमिफाइनल प्रवेशका लागि बाँकी रहेको सोम्स र सास्तम कलेजबीचको खेल भोलि हुने खेल संयोजक नवराज नेपालले जानकारी दिए। मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगिता फाल्गुन २८ गतेसम्म सञ्चालन हुने छ।
प्रतियोगितामा विजेतालाई नगद ३१ हजार र उपविजेतालाई २१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा ९ टिमले सहभागीता जनाएका छन्।