घर जलाएर खरानीको व्यापार: चुनढुङ्गा उत्खननको हव बन्दै रुन्टीगढी, सडक सकियो अब सकिँदै प्रकृति

रोल्पाको रुन्टीगढी गाउँपालिका चुनढुंगा उत्खननको हव बन्न थालेको छ। प्रशस्त मात्रामा चुनढुंगा रहेकाे रुन्टीगढी गाउँपालिकाभर हालसम्म करिब ३ दर्जनभन्दा बढी चुनढुंगा खानी दर्तामा रहेका छन्।

अहिले सोनापुर सिमेन्ट कारखाना दाङले रुन्टीगढी– ५ नयाँगाउँमा दुई दशकदेखि निरन्तर उत्खनन गरिरहेको छ। सम्राट सिमेन्ट कारखानाले उपल्लो नयाँ गाउँस्थित वर्षौँ उत्खनन गरेर खानी रित्तिएपछि वडा नम्बर ६ मा रहेको रुन्टीगढी गाउँपालिकाकै सबैभन्दा अग्लो (२१,५१) मि.भारतसम्म देखिने मुरुल्ले लेकको मुनिबाट उत्खनन गरिरहेको छ, जसबाट करिब ५०० मिटरको दुरीमा मानव बस्तीसमेत रहेको छ।

त्यस्तै सम्राट सिमेन्ट कारखानाले लगत्तै रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ मा रहेको शिवपार्वती गुफा नजिकै दर्तामा रहेको खानी पनि सञ्चालनमा ल्याउँने तयारी रहेको स्राेत बताउँछ। त्यस्तै निकट भविष्यमै रुन्टीगढी गाउँपालिका भित्रबाट मात्रै दर्तामा रहेका करिब ३ दर्जन बढी चुनढुंगा खानी उत्खननका तयारीमा छन्। हालसम्म सञ्चालनमा रहेका दुई वटा खानीहरुका चुनढुंगा ओसारपसार गर्ने टिप्परहरुले रोल्पा जिल्लाकै मुख्य प्रवेशद्वार तथा छिमेकी जिल्ला प्युठान, रुकुम र सल्यान पुग्ने प्रवेशद्वार घोराही होलेरी शहुदमार्ग कालोपत्रे गरिएको ३ महिनामै पूर्णरुपले ध्वस्त बनिसकेको छ। जुन सडकमा अहिले यात्रुहरूले जोखिमपुर्ण तथा कष्टकर यात्रा गर्न बाध्य छन्।

खानीहरुको सरकारसंगको सम्झौता र उत्खननको मापदण्ड अहिलेसम्म कुनै पनि निकायले गरेको छैन। अर्कोतिर सडकमा गुड्ने चुनढुंगा बोकेका टिप्परहरुले मनपरि लोड बोकेर अन्धाधुन्ध गुड्ने गर्छन्। यसको पनि कुनै निकायलाई मतलव छैन। चुनढुंगा ओसारपसारका लागी होलेरी, डुबृङ छिल्लिकोट हुँदै दुध्रास निस्किने औद्योगिक मार्ग संघीय सरकारको करोडौं बजेटले खनियो तर बिचैमा अल्पत्र अवस्थामा छ।

रोल्पा जिल्लाको प्रवेशद्वार शहिद मार्गको भविष्य सकिसकेको स्थानीय व्यावसायिहरुको गुनासो छ। यो संगै रुन्टीगढी गाउँपालिका भित्र दर्ता रहेका सबै चुनढुंगा खानी उत्खनन भएपछि प्रकृतिको पूर्ण रुपले विनाश हुने सर्वसाधारणहरुले चिन्ता व्यक्त गरेका छन्। जलवायु परिवर्तन भइरहेको अवस्थामा डाँकाकाँडा र प्रकृति दोहनले रुन्टीगढी गाउँपालिका मरभूमि बन्न बेर नलाग्ने स्थानीय समाजसेवी देबेन्द्र बोहराको भनाइ छ।

यस विषयमा स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाले भने पहिलेदेखि नै दर्ता स्वीकृति तथा उत्खनन अनुमति दिँदै आएको छ। औद्योगिककारणले देशमा आर्थिक स्थिति सुधार तथा रोजगारीको वातावरण सिर्जना गर्ने भएता पनि मनलाग्दो तरिकाले खानी दर्ता र उत्खननले भने प्रदूषण तथा दीर्घकालसम्म असर गर्ने स्थानीय सुरेन्द्र के.सीले गुनासो गरे। उनले प्रकृति दोहन गरेर समृद्ध बन्ने सपना देख्नु आफ्नै घरमा आगो लगाउएर खरानीको ब्यापार गर्नु सरह रहेको चिन्ता व्यक्तसमेत गरेका छन्।

मनपरि चुनढुंगा उत्खननले रोल्पा जिल्लानिकट भविष्यमै खण्डहरमा परिवर्तन हुने पक्का छ। यसलाई नियामन गर्न राज्यका तीनै तहका सरकार गम्भीर बन्नुपर्ने स्थानीयहरुको माग रहेको छ। यदि सरकार गम्भीर नबने औद्योगिकरणका नाममा भइरहेको प्रकृति दोहनको प्रतीरक्षामा आफूहरु उत्रने सर्वसाधारणहरुले चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति: : 2023-03-18 14:04:00

प्रतिकृया दिनुहोस्