समस्या टिपाउँदै बित्छन् दुर्गमका सिडियोका दिन

डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर प्रोख्रेल गत माघ १६ गते प्रशासकको रुपमा डोल्पा पुगे। पहिलो पटक दुर्गम हिमाली जिल्लामा पुगेका प्रोख्रेललाई नेपालगञ्जदेखि सदरमुकाम दुनैसम्म पुग्दा लाग्यो, डोल्पा साच्चिकै दुर्गम रहेछ। न त राम्रो फोन सेवा, धुलाम्य साघुँरा बाटाघाटा, काठका लाप्का माथि हिँड्नु पर्ने, बत्ती खानेपानीको बिजोक अवस्था यस्तै यस्तै।

त्यही दिनदेखि नै यी समस्याका चाङलाई कसरी समाधान गर्न सकिन्छ भन्ने उनको ध्यान केन्द्रित भयो। त्यसो त जिल्ला प्रशासन कार्यालयमा हाजिर भएको भोलिपल्ट नै चरणबद्ध काम सुरु गरे। १७ माघमा खानेपानी समस्या समाधानका लागि सर्वपक्षीय छलफल गरेर समस्या समाधानका लागि निर्देशन दिए। केही हदसम्म सुधार पनि भयो।

सोही दिन नेपालगञ्जमा हप्तौँ राखेर डोल्पा बेच्नका लागि जहाजमा ल्याइने ठुलो परिमाणमा कुखुराको कुहिएको मासु नष्ट गर्न समेत निर्देशन दिए। विमानस्थलमा मासु जाँच गरेर व्यापारीलाई बुझाउने र कुहिएको मासु बेच्ने पसलेलाई कारवाही गर्न समेत निर्देशन दिए।

१८ माघमा अत्यन्तै सुस्त डोल्पाको सञ्चार सेवालाई सुधार गर्नकालागि दुरसञ्चार कार्यालय डोल्पासँग छलफल गरे। तत्काल सुधारका लागि जिल्ला, क्षेत्र र केन्द्रीय कार्यालयहरुसँग आवश्यक समन्वयसहित पत्राचार पनि गरे।

जिल्लाका त्रिपुराकोटमा अन्तिम चरणमा पुगेको फोर.जी टावरलाई यथाशिध्र सञ्चालनका लागि समेत प्रयास गरिरहेको बताए। १९ माघमा जिल्लाका पत्रकारसँग छलफल गरे। सोही दिन कार्यालय प्रमुखसँग पनि छलफल भयो। जिल्ला छोड्दा निमित्त तोकेर छोड्ने र त्यसको जानकारी अनिवार्य प्रशासनलाई गराउन निर्देशन दिए। त्यतिमात्र नभई सूचनाको हकको पुर्ण कार्यान्वयनका लागि प्रत्येक कार्यालयमा सूचना अधिकारी तोक्न निर्देशन समेत दिए।

माघमा कार्यालय प्रमुखको बैठकमा पोसाक अनिवार्य लगाउन, सेवा प्रवाहलाई छिटो छरितो र गुणस्तरीय बनाउने, सार्वजानिक सुनुवाइ गर्ने निर्णय गरियो। त्यसलगत्तै जिल्लामा यातायात व्यवसायिसँग छलफल गरेर भाडादर नियन्त्रण, सिट क्षमताभन्दा धेरै यात्रु बोक्नेलाई धमाधम कारवाही गर्न निर्देशनसमेत दिए।

भेरी करिडोरअन्तर्गत पर्ने जाजरकोट डोल्पा सडकखण्डको बीचबीचमा पर्ने पक्की पुल निर्माणका लागि आग्रह गर्दै तालुक निकायसँग लिखित तथा मौखिक छलफलसमेत गरे। हिउँद र बर्खा दुबै समयमा डोल्पासँग सिधा यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय चौहरजहारीसँग धेरै चरणमा छलफल भएको समेत उनले बताए।

पुल महाशाखा काठमाडाैँले बताएअनुसार अहिले जाजरकोट-डोल्पा सडकको आठ ठाउँमा पक्की पुल निर्माणका लागि बजेटको टुंगो लागेको बताए। तल्नुबगर, छलगार्ड र सुँपानीमा पक्की पुल बनाउन टेण्डर भइसकेकाले केही महिनाभित्र काम सुरु हुने जानकारी पाएको उनले बताए।

तल्नु बगरमा बेलिब्रिज पुल निर्माण छिटो सम्पन्न गर्न र रुपगार्डमा अलपत्र बेलिब्रिज पुल काम सुचारु गराउन लागि परेको समेत उनले बताए। त्यतिमात्र नभई जाजरकोट-डोल्पा सडकको अनुगमन निरीक्षण, छिटो राष्ट्रिय प्रशारण जोड्न आवश्यक समन्वय, जैरीगार्ड जलविद्युतको दुई वटै जेनेरेटर चलाउन पहल तथा सोलार मिनिग्रेडका लागि आवश्यक प्रक्रियासमेत अघि बढिसकेको उनले जानकारी दिए।

जिल्लाको विकासका लागि निर्वाचित सांसद तथा मन्त्री, नगर प्रमुख, गाउँपालिका अध्यक्षहरुसँग बारम्बार समन्वय भइरहेको गरिहेको उनले बताए। 'डोल्पामा समस्याका चाङ रहेछन्, डोल्पा पुगेदेखि नै निरन्तर समस्या समाधानका लागि लागिरहेको छु, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत, सडक, सेवा प्रवाह सबैतिर समस्या छ, समाधानका लागि जुटिरहेको छु', उनले भने।

'जिल्लाको मुड्केचुला गाउँपालिकाअन्तर्गत इलमा पर्ने इलाका प्रशासन बन्द अवस्थामा रहेछ, आगामी नयाँ वर्षभित्र सेवा सुचारु गर्ने गरी काम थालेको छु, त्यतिमात्र नभई पहिलो पटक जिल्लाबाटै विद्युतीय राहदानी सेवासमेत सुचारु गरे', उनले थपे।

'आफ्नो क्षमता बल बुद्धिले धानेसम्म डोल्पाको समग्र विकासका लागि काम गरिरहेको छु, मेरो मान्यता प्रत्येक दिनजसो नयाँ काम गर्नुपर्छ, कुनै पनि दिन त्यतिखेर नजाओस् भन्ने हो, आज भोलि प्रत्येक दिन जिल्लाका समस्यालाई लिएर प्रदेश र केन्द्रमा भन्दै ठिक्क छु।'

प्रजिअ अधिकारी यसअघि लमजुङ जिल्लाको सहायक प्रजिअको जिम्मेवारीसमेत समालिसकेका छन्। एकजना व्यक्तिले मात्र गरेर केही पनि नहुने भएकाले आफू डोल्पा बसुञ्जेल सार्वजनिक हितका विषयमा सबैलाई सहयोग गर्न आग्रहसमेत गरे।

आफ्नो प्रमुख दायित्व जिल्लामा शान्ति सुरक्षा कायम गर्ने भएकाले आफू रहुञ्जेल कुनै पनि त्यस्ता अप्रिय घटनाहरु घट्न नदिने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रकाशित मिति: : 2023-03-20 11:23:00

प्रतिकृया दिनुहोस्