डोल्पामा एसईई: न पोसाक, न परिचयपत्र

आज (शुक्रबार)देखि देशभर सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा डोल्पाका प्राय: परीक्षा केन्द्रहरुमा विद्यालय पोशाक र परिचयपत्रबिना नै परीक्षा दिएको पाइएको छ।

जिल्लाको जनप्रभा माध्यामिक विद्यालय लिकु, आदर्श माध्यामिक विद्यालय जुफाल, सरस्वती माध्यामिक विद्यालय दुनै र त्रिपुरा माध्यामिक विद्यालयमा कतिपय विद्यार्थीहरुले विद्यालय पोशाकबिना नै परीक्षामा सहभागी भएका थिए।

विद्यालय पोशाक नलगाउनेमा छात्राभन्दा छात्रको संख्या धेरै रहेको छ।

त्यति मात्र नभई अधिकाशं विद्यालयले परिचयपत्रको व्यवस्था नै नगरेपछि विद्यार्थीहरु परिचयपत्र नलगाएरै परीक्षा हलमा प्रवेश गरेका थिए।

यता लिकु परीक्षा केन्द्र कायम भएको त्रिपुरा माध्यामिक विद्यालयले पोशाकसहित परिचयपत्र अनिवार्य लगाउन निर्देशन दिएको र सोहीअनुसार विद्यार्थीले लगाएको प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए।

माध्यामिक शिक्षा परीक्षा एसईई सुरु हुनु अगाडि नै विद्यार्थीहरुलाई पोशाक र परिचय पत्र अनिवार्य लगाउन भनिएको उपाध्यायले बताए।

शिक्षा विकास तथा समन्वय इकाई डोल्पाका प्रमुख दलबहादुर बस्नेतले विद्यार्थीको गहना र परिचयको रुपमा रहेको पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताए।

‘पोशाक र परिचय पत्र नलगाएमा परीक्षा नै दिन पाइन्न भन्ने त होइन तर विद्यार्थीले परीक्षा हलमा छिर्दा लगाएर छिर्दा अतिउत्तम हुन्छ, यो हामीले भन्ने भन्दा पनि विद्यालय आफैंले पनि बुझ्ने कुरा हो,’ उनले भने।

यता जिल्ला परीक्षा समन्वय समिति डोल्पाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेख्रेलले परीक्षामा सामेल हुन विद्यालको पोशाक र परिचयपत्र साथमा हुनुपर्ने बताए।

‘विद्यार्थीलाई आधिकारीकताका लागि प्रवेशपत्र दिइएको हुन्छ, त्यसमा पनि पोशाक र परिचयपत्र भए अझ उत्तम हुन्छ, यस विषयमा इकाई प्रमुखलाई भन्छु,’ उनले भने। आजको परीक्षाभरिका सम्पूर्ण परीक्षा केन्द्रमा शान्तिपूर्ण र मर्यादित वातावरमा सञ्चालन भएको भएको उनले बताए।

पढाइ तराईमा परीक्षा हिमालमा

यस वर्षको माध्यामिक शिक्षा परीक्षा एसईईमा पर्यटक विद्यार्थीहरु धेरैले परीक्षा दिएका छन्। डोल्पाका विद्यालयबाट रजिष्टेसन फारम भर्ने तर तराईका निजी विद्यालयमा अध्ययन गरेर एकैपटक माध्यामिक शिक्षा परीक्षा एसईई मात्र दिन आउने गरेका हुन्।

जिल्लाका जनप्रभा माध्यामिक विद्यालय लिकु, आदर्श माध्यामिक विद्यालय जुफाल, सरस्वती माध्यामिक विद्यालय दुनै र त्रिपुरा माध्यामिक विद्यालयमा यस्ता परीक्षार्थीहरु धेरै भएको पाइएको छ।

वर्षौदेखि सुगमका सुविधा सम्पन्न विद्यालयमा पढेर दुर्गमका सामान्य विद्यालयमा पढेका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्न आउने पर्यटक विद्यार्थीले सरकारीबाट राम्रो परीक्षा ल्याएर उतीर्ण गरेर दुर्गमबाट आउने कोटासमेत पाउने गरेका छन्।

यसले गर्दा दुर्गमका विद्यार्थीमाथि ठुलो अन्याय हुने बताइएको छ।

फेरि, विद्यार्थी परीक्षामा सहभागी हुन ७५ प्रतिशत हाजिर अनिवार्य हुनुपर्छ। तर, सिधैं रजिष्टेसन फारम भरेदेखि एकै पटक परीक्षा दिने आउँदा पनि सम्बन्धीत निकायले चासो दिने गरेको छैन।

यता शिक्षा विकास तथा समन्वय इकाईले जुनसुकै परीक्षामा सहभागी हुन ७५ प्रतिशत हाजिरी अनिवार्य हुनुपर्ने जनाएको छ। विशेष गरेर यस्ता विद्यार्थी स्वयम् प्रधानध्यापक, शिक्षक र कर्मचारीका हुने गरेका छन्।

जिल्लाभरि छात्रा ३४९ र छात्र ३४५ गरेर कुल ६९४ परीक्षार्थी भए पनि शुक्रबारको अंग्रेजी विषयको परीक्षामा छात्रा ३३९ र छात्र ३३३ गरेर कुल ६७२ जना विद्यार्थी मात्र उपस्थित भएको र छात्रा १० र छात्रा १२ गरेर २२ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।

त्यसैगरी ग्रेडबृद्धी परीक्षामा चार जना परीक्षार्थी रहेको ईकाले जनाएको छ।

प्रकाशित मिति: : 2023-03-31 19:00:00

प्रतिकृया दिनुहोस्