८ महिनामा साढे ५ लाखले लिए श्रम स्वीकृति, युरोप र अमेरिका लम्किनेहरुको ग्राफ बढ्दो

उमेश थापा

काठमाडौं

नेपालबाट रोजगारीको लागि विदेश जानेहरुको संख्या अत्याधिक धेरै छ। कामको खोजीमा विदेश पलायन हुनेहरुको अवस्था कति भयानक छ भन्ने कुरा सामाजिक सञ्जालमा सार्वजनिक भइरहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीडको तस्बिरबाटै अनुमान लगाउन सकिन्छ।

देशमा रोजगारीका अवसरहरु सिर्जना नहुनु, गलत शिक्षा प्रणालीको कारण अदक्ष जनशक्ति उत्पादन हुनु, सरकारी कार्य प्रणाली झन्झटिलो हुनु तथा आधारभूत कुराहरुको समेत अभाव हुँदा नेपालीहरु दिनानुदिन विदेश जान बाध्य छन्।

नेपालीहरु अध्ययन तथा व्यापारको लागि पनि विदेशी मुलुकमा जाने भएता पनि श्रम गर्नकै लागि जानेहरुको संख्या ठुलो छ।

ताहाचालस्थित वेदैशिक रोजगार कार्यालयबाट प्राप्त तथ्यांकअनुसार गत वर्षको साउनदेखि फागुनसम्मको आठ महिनाको अवधिमा व्यक्तिगत रुपमा ४२ हजार ७ सय ४ जनाले वैदेशिक रोजगारी श्रम स्वीकृति लिएका छन्। त्यसमध्ये पुरुष ३३ हजार ८ सय १५ र महिला ८ हजार ८ सय ८९ जना रहेका छन्।

त्यस्तै संस्थागततर्फ २ लाख ९४ हजार ४ सय ४० जनाले श्रम स्वीकृति लिएका छन्। त्यसमध्ये पुरुष २ लाख ६९ हजार ४ सय ५० र महिला २४ हजार ९ सय ९० जना रहेका छन्।

त्यसैगरी उक्त अवधिमा फेरि विदेश जानको लागि श्रम स्वीकृतिको नवीकरण गर्नेहरुको संख्या १ लाख ९२ हजार ३ सय ९० रहेको छ। जसमा पुरुष १ लाख ७९ हजार ४२ र महिला १३ हजार ३ सय ४८ जना रहेका छन्।

यसरी व्यक्तिगत, संस्थागत र नवीकरण गरी कुल ५ लाख २९ हजार ५ सय ३४ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन्। नेपालले संसारका १ सय ११ देशमा श्रम स्वीकृति दिने गरेको छ।

यसमा पनि मलेसियाको लागि श्रम स्वीकृति लिनेहरुको संख्या सबैभन्दा धेरै रहेको छ। उक्त आठ महिनाको अवधिमा मलेसियाको लागि १ लाख ८५ हजार १ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन्।

मलेसियापछि साउदी अरबियाको लागि सबैभन्दा धेरै श्रम स्वीकृति लिइएको छ। साउदी अरबिया जानको लागि ३८ हजार ६ सय ५४ जनाले श्रम स्वीकृत लिएका छन्। अन्य देशको तुलनामा साउदीमा जाने महिलाको संख्या न्यून रहेको छ। त्यहाँ जानको लागि जम्म ६७ जना महिलाले मात्रै श्रम स्वीकृति लिएका छन्।

त्यस्तै मलेसिया र साउदी अरबियापछि सबैभन्दा धेरै कतारको लागि नेपालीहरुले श्रम स्वीकृति लिएका छन्। सो अवधिमा कतारमा काम गर्न जानको २६ हजार ३ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन्।

खाडी मुलुकहरु मात्रै नभएर नेपालीले युरोपियन र अमेरिकन देशहरुमा जानको लागि पनि श्रम स्वीकृति लिएका छन्। सो अवधिमा करिब ८ सय जनाले ती देशहरुमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयको तथ्यांकमा उल्लेख छ। यी देशहरुमा यताबाट अध्ययन तथा भिटिज भिसामा जाने र उता पुगेपछि त्यो देशको नियमअनुसार काम गर्दै आइरहेका छन्।

नेपालीहरुले व्यक्तिगत श्रम स्वीकृति मुख्य तीन वटा देशहरुको लागि लिने गर्छन्, जसमा बहराइन, ओमन, दुबई रहेका छन्।

साइप्रस, मलेसिया, साउदी अरबिया, अफगानस्तान र युक्रेनको लागि भने सरकारले व्यक्तिगत श्रम स्वीकृति दिँदैन्।

वैदेशिक रोजगार कार्यालयका निर्देशक वसन्त बोहोराकाअनुसार भने १ सय ७८ वटा देशमा जानको लागि मानिसहरु आफैं श्रम स्वीकृति लिन सक्छन्। संसारका धेरै देशको लागि नेपालबाट श्रम स्वीकृति लिन मिल्ने भए पनि अहिले पनि केही मानिसहरु भने युरोपियन देशमा जानको लागि भारतको बाटो अपनाउने गरेको निर्देशक बोहोराले बताए।

नेपालबाट अमेरिका र युरोपियन देशहरुमा जानेहरुले विशेषगरी संस्थागत श्रम स्वीकृति लिने गर्छन्।

विगतमा श्रम स्वीकृति लिनको लागि राजधानीको एउटै कार्यालयमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो। प्रक्रिया झन्झटिलो हुँदा मानिसहरु अन्य विकल्पको प्रयोग गरे पनि विदेश जाने गर्दथे। महिनौँसम्म पनि कम मानिसहरुको श्रम स्वीकृतिको काम पूरा हुन्थ्यो।

वि.सं.२०७८ माघपछि अनलाइन पद्धतिबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएपछि भने यस क्षेत्र थप सुधार आउनुका साथै श्रम दिनेहरुको संख्या पनि बढेको छ।

अहिले वैदेशिक रोजगारीको लागि काठमाडौँसहित प्रदेश कार्यालयहरुबाट पनि श्रम स्वीकृति लिन सकिन्छ।

श्रम स्वीकृति प्रणालीमा सुधार भएसँगै सहज भएको वैदेशिक रोजगार कार्यालय प्रमुख पर्वत अर्याल बताउँछन्।

‘अहिले श्रम स्वीकृति लिन पहिले भन्दा निकै सहज छ। मानिसहरु आफैं अनलाइन फारम भरेर काम गर्न सक्छन्। त्यसैले पनि होला श्रम स्वीकृति लिनेहरुको संख्या बढेको छ,’ उनले भने।

प्रकाशित मिति: : 2023-04-18 12:00:00

प्रतिकृया दिनुहोस्