खेलकुदमा बालेनको दोहोरो चरित्र: एकातिर खेलाडीलाई उचाल्ने, अर्काेतिर खेलकुद आयाेजना अलपत्र पार्ने

काठमाडौँ महानगरपालिकाले रात्रिकालीन खेललाई प्रोत्साहन गर्ने योजनासहित खेल मैदानहरुमा ‘फ्लड लाइट’ जडान गर्नको लागि आर्थिक वर्ष २०७९/८० को बजेटमा ६ करोड बजेट विनियोजन गर्‍यो। टुँडिखेल र सानो गौचरणको खेल मैदानमा ‘फ्लड लाइट’ जडान गर्ने महानगरको योजना थियो।

तर, अहिलेसम्म कुन खेल मैदानमा ‘फ्लड लाइट’ जडान गर्ने भन्ने निर्णयसमेत भएको छैन। आर्थिक वर्ष सकिन अब दुई महिना मात्र बाँकी छ। महानगरपालिकाका सामाजिक विकास विभागका प्रमुख गोपलप्रसाद पोखरेल कुन मैदानमा ‘फ्लड लाइट’ जडान गर्ने टुङ्गो नलागेको बताउँछन्।

महानगरले चालु आर्थिक वर्षमा ‘महानगर खेलकुद प्रतियोगिता’ आयोजना गर्न निर्णय गरेको थियो। सोही निर्णयअनुसार महानगरपालिकाले ३ करोड ५० लाख बजेट विनियोजन गरेको थियो। तर, उक्त प्रतियोगिता अहिलेसम्म सुरु हुन सकेको छैन। यो बजेट पनि फ्रिज हुने अवस्थामा पुगेको छ।

महानगरपालिकाले खेलकुद बजेट विनियजनमा ‘सहासिक खेल’ नामको नयाँ शीर्षक पनि थपेको थियो। पर्यटन प्रर्वधन गर्ने उद्देश्यसहित यस्ता खेलकुदहरु गर्न भनिए पनि अहिलेसम्म सुरु हुन सकेका छैनन्। महानगर यस्ता खेलकुद प्रतियोगिता गर्नको लागि राष्ट्रिय खेलकुद परिषद्सँग छलफल भइरहेको बताए पनि अहिलेसम्म कुनै परिणाममुखी काम हुन सकेको छैन।

त्यति मात्रै होइन काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा खेलकुदको लागि छुट्याएको १२ करोड ४० लाख बजेटमध्ये एकतिहाइ मात्र खर्च गरेको छ। सबैभन्दा धेरै बजेट ‘फ्लड लाइट’ जडानका लागि छुट्याइएको थियो। यसरी काठमाडौँ महानगरपालिकाले खुलकुद विकासमा कुनै काम नै गर्न नसकेको देखिएको छ।

खेलकुदको लागि छुट्याइएको बजेट कहाँ–कहाँ भयो ?

आर्थिक वर्ष २०७९/८० मा काठमाडौँ महानगरपालिकाले खेलकुद गतिविधिका लागि १२ करोड ४५ लाख बजेट छुटाएको थियो। सो आर्थिक वर्षमा महानगरले खेलकुद गतिविधिको लागि बनाएका कुनै पनि योजनाहरु कार्यन्वयनमा आउन सकेका छैनन्। महानगरले बजेट छुट्याए पनि कार्यन्वयनमा ल्याउन सकेका छैन।

काठमाडौँ महानगरले खेलकुद बजेटभित्र राष्ट्रिपति रनिङ शिल्ड आयोजनका लागि ५० लाख रुपैयाँ छुटाएको थियो। महानगरले सो रकम भने खर्च गरेको छ। यस वर्षको राष्ट्रिपति रनिङ शिल्ड प्रयोगिता गत फागनुमा सम्पन्न भएको थियो।

महानगरले हरेक वर्ष महानगर दिवसको अवसरमा आयोजना गर्ने जनप्रतिनिधि र कर्मचारीबीच फुटबल प्रतियोगिता गर्छ। महानगरले यस वर्ष उक्त प्रतियोगिताको लागि १० लाख रकम विनियोजन गरेको थियो। उक्त प्रतियोगिता २८औँ महागर दिवसको अवसरमा गत मंसिर २८ गते सम्पन्न भएको थियो।

त्यस्तै महानगरले हरेक वर्ष खेलकुद बजेटमा छुटाउँदै आइरहेको मार्सल आर्ट तथा जुडो हल निर्माणका लागि यस आर्थिक वर्षमा २० लाख रुपैयाँ खर्चिएको छ।

नयाँ बजारस्थित खुसीवन जुडो हलको निर्माणका लागि २० लाख अनुदान दिइएको छ। जापान सरकार र काठमाडौँ महानगरपालिको सहकार्यमा निर्माण भइरहेको हलका लागि यस आर्थिक वर्षमा हल निर्माणका लागि छुटाएको रकम खर्च भएको छ।

यता महानगरपालिकाले अपाङ्गहरुलाई लक्षित गरेर खेलकुदका लागि २० लाख रुपैँया छुटाएको थियो। यस आर्थिक वर्षमा अपाङ्ग मैन्त्री खेलको लागि महानगरले २० लाख बजेट छुट्याएको थियो। उक्त बजेट संस्थागत रुपमा प्रदान गरिन्छ।

त्यस्तै महानगरपालिकाले मदन भण्डारी स्पोर्टस् एकेडेमीका लागि ५० लाख अनुदान दिएको छ।

काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएपछि खेलकुद क्षेत्रमा विशेष प्राथमिकता दिने बताएका थिए। सोहीअनुसार महानगरको पहिलो बैठकमा नै ई–स्पोर्टस्को लागि १ करोड बजेट छुट्याइएको थियो। गेमिङ खेलकुदलाई जोड दिने लक्ष्यसहित मेयर बालेनले नै यो योजना अघि सारेका थिए।

महानगरको नीतिअनुसार ई–स्पोर्टस् प्रर्वन्धका लागि कुनै निश्चित क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको भौतिक संरचना निर्माण गर्ने बताइएको थियो। तर, उक्त योजना अहिलेसम्म कार्यन्वयनमा आउन सकेको छैन। महानगरले ई– स्पोर्टस्को लागि छुट्याएको बजेट फ्रिज भएको छ।

त्यस्तै महानगरले खेल मैदान व्यवस्थापनको लागि यस आर्थिक वर्षमा ३ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो। तर, उक्त रकम पनि अहिलेसम्म खर्च हुन सकेको छैन।

यता महानगरले महानगर खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि भनेर ४० लाख रुपैयाँ बजेट छुटाएको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा महानगरभित्र विभिन्न खेलकुन प्रतियोगिता गर्ने योजना बनाए पनि ती योजनाहरु कार्यन्वयनमा आउन सकेका छैनन्।

यता महानगरपालिका सामाजिक विकास विभागका प्रमुख पोखरेल खेलकुदमा महानगरको चासो र योजनाहरु रहे पनि प्राविधिक कारण अपेक्षाकृति नजिता नआएको बताउँछन्।

‘हामीले खेलकुदलाई प्राथमिकतामा राखेका छौँ। बजेटले पनि त्यही देखाउँछ तर धेरै पैसा खर्च गर्दा र पैसा छुटाउँदा प्राविधिक कारणले यो आर्थिक वर्षमा बजेट कार्यन्वयन हुन सकेन,’ पोखरेलले भने, ‘अहिले खर्चको प्रतिशतमा हेर्दा हामी धेरैमा छैनौँ तर अहिले हामीले धेरै खेलकुद आयोजनाहरु अगाडि बढाइरहेका छौँ।’

यसरी देशको राजधानीमा अवस्थित महानगरपालिकासमेत खेलकुद क्षेत्रमा उदासिन देखिएको छ। खेलकुदमा ठुलो सम्भावना रहे पनि स्थानीय तहरुले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहन गर्न सकेका छैनन। यसरी तल्ला निकायहरु नै खेलकुद क्षेत्रमा उदासिन बन्नुले पक्कै पनि राम्रो होइन् यसमा राज्यमा स्थानीय तहहरु र राज्यको ध्यान जान जरुरी छ।

प्रकाशित मिति: : 2023-04-23 21:10:00

प्रतिकृया दिनुहोस्