सन्दीपको सोमबार पेशी, साउदी अरबियाविरुद्व पर्लान् त प्लेइङ ११ मा ?

क्रिकेटर सन्दीप लामिछानेविरुद्वको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ भोलि सोमबार हुँदैछ । तीन पटकसम्म स्थगित भएको यो बहुचर्चित मुद्दाको अन्तिम सुनुवाइको सोमबार पेशी तोकिएको हो ।

सन्दीप अहिले काठमाडौैंमा जारी एसीसी प्रिमियर कपको नेपाली टोलीमा छन् । उनको पेशीकै दिन नेपालले साउदी अरबियासँग प्रतिस्पर्धा गर्दैछ। यस्तो अवस्थामा के सन्दीपले सोमबारको खेल खेल्न पाउँछन् त ? 

अहिले यो प्रश्न आम सरोकारको प्रश्न भएको छ । 

सन्दीपका कानुन व्यवसायी  सरोजकृष्ण घिमिरे सोमबार अन्तिम सुनुवाइ हुने भएता पनि सन्दीपले खेल खेल्ने बताउँछन्। उनले खेल खेल्न पाउँने बताउँदै भन्छन्, 'मुद्दा सुनुवाइ र खेलको कुनै सम्बन्ध छैन। उनी खेल खेलिरहेका हुन्छन्, हामी बहस गरिरहेका हुन्छौँ। यदि मुद्दा स्थगित भएमा उनी खेल सकेर तारिख लिन अदालत आउँछन्।'

एसीसी प्रिमियर कपमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले शुक्रबार ओमानविरुद्वको खेलका क्रममा तीन विकेट लिँदै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)मा सबैभन्दा कम खेलमा १०० विकेट लिने विश्व कीर्तिमानी बनाए । 

सन्दीपविरुद्व १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौँको आदेशपछि पक्राउ परेका सन्दीपलाई गत पुस २९ गते उच्च अदालत पाटनले विभिन्न सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालत पाटनको उक्त आदेशविरुद्व सर्वोच्च अदालतमा रिट परेका थियो। त्यसको अन्तिम सुनुवाइ गत चैत १३ गतेबाट हुन थालेको थियो।

चैत १३ गतेको लागि तोकिएको सुनुवाइ सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका निवेदनपछि अन्तिम समयमा आएर स्थगित भएको थियो।

कानुन व्यवसायीका मागअनुसार उक्त दिन स्थगित भएको सुनुवाइ चैत २२ गतेको लागि तोकिएको थियो। तर, त्यसदिन मुद्दा पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलास नं. ६ मा पेशी परेको भएपनि हेर्न नभ्याउने भएपछि सुनुवाइ सरेको थियो।

त्यसपछि पुनः चैत २६ गते मुद्दाको पेशी तोकिएको थियो तर उक्त दिन पनि मुद्दाको अन्तिम सुनुवाइ हुन सकेन। अदातलतले पीडित किशोरीको मेडिकल गराउने डाक्टर र दुई क्रिकेटरको वकपत्र गराउन आदेश दिएपछि सुनुवाइ स्थगित भएको थियो।

 

प्रकाशित मिति: : 2023-04-23 06:26:00

प्रतिकृया दिनुहोस्