जाजरकोटमा ‘लम्पी स्किन’ रोगबाट झण्डै ४ सय गाईवस्तु मरे

जाजरकोटमा ‘लम्पी स्किन’रोगबाट झण्डै चार सय गाईवस्तु मरेका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार हालसम्म ३ सय ७८ गाइगोरु र ५ भैसी मरेका छन्। जसमध्ये जुनीचाँदे गाउँपालिकामा मात्रै १ सय ४२ ओटा गोरु मरेका हुन्। रोगबाट जिल्लाभर ८ हजार ६ सय ३० संक्रमित भएका छन्।

रोग नियन्त्रण अभियान भने पूर्ण रुपमा असफल भएको छ। रोग फैलिन नदिन गाउँगाउँमा थालिएको अभियान असफल हुँदा रोगबाट किसानले थप क्षति व्यहोर्ने देखिएको छ।

यति ठूलो संख्यामा गाईवस्तुहरु मर्न थालेपछि कृषकहरु ठूलो पीडामा परेका छन्। रोगबाट गाइ, गोरु र भैंसीहरु मर्न थालेपछि कृषकहरु पीडामा परेका हुन्। खेतिपाती गर्ने समयमा धमाधम बस्तुभाउ मर्न थालेपछि कृषकहरु चिन्तामा परेका छन्।

गएको वैशाखको मध्यबाट फैलिएको रोग हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। रोगको नियन्त्रणका लागि सरकारी तवरबाट कुनै कार्य नभएको किसानले बताएका छन्।

सो रोगले विषेश यस क्षेत्रमा पालिएका गाईवस्तु प्रभावित भए पनि रोग नियन्त्रणका लागि सरकारी तवरबाट कुनै प्रक्रिया नै सुरु नगरीएकोले किसानको लगानी डुब्ने खतरा बढेको छ।

रोग प्रभावित बनेका जुनीचाँदे, छेडागाडलगायतका किसानहरुले व्यक्तिगत रुपमा गाईको उपचार गराएपनि रोग नियन्त्रणमा आउन नसक्दा किसानमा थप चिन्ता थपिएको छ। स्थानीय पशु स्वास्थ्य प्राविधिकहरुले रोग फैलिन नदिन एन्टिवायोटिक्स र अन्य छालाका रोगमा प्रयोग गरिने औषधी प्रयोग गरे पनि सो रोग नियन्त्रणमा आउन सकेको छैन्।

जुनीचाँदे ४ का पृथ्वीबहादुर खड्का अनुसार गाउँमा अझै अवस्था भयावह हुन लागेको छ। सो रोगको संक्रमण भएका गाईमा छाला झर्नेसम्मका समस्या देखिएका छन्। अन्य निरोगी पशुसमेत विरामी पर्दै गएका छन्।

रोग फैलिएको जानकारी गराए पनि सरकारी तवरका भेटरीनरी अस्पतालबाट रोग नियन्त्रणका लागि खोप लगाउने र रोगको संक्रमण रोक्नका लागि अन्य कार्य नभएको बताए। एउटा पशु उपचारमै ३ देखि ४ हजार रुपयाँ रकम खर्चिनु परिरहेको उनको गुनासो छ।

रोग नियन्त्रणमा नआउदा किसानमा थप समस्या भएको छ। पशुको शरीरमा फोका आउने, ज्वरो आउने, फोका फुटने, फुटेको भागबाट पानी बग्ने, खुट्टा सुन्निने र पशु वस्तुको दुध उत्पादन घटने लक्षण देखिने गरेको छ।

रोगबाट संक्रमित पशुमा बाँझोपनाको समस्या देखिने पशु चिकित्सकहरु बताउँछन्। पशुमा लम्पी स्किन रोगको प्रकोप भएपनि यसको नियन्त्रणका लागि कार्यालयले प्रयास जारी राखेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले जनाएको छ।

रोग फैलाउने झिँगा र मच्छडलगायत नियन्त्रण गर्न औषधी छर्नेकाम समेत भइरहेको कार्यालय प्रमुख कमलबहादुर महतराले बताए। खोपका लागि ढिलाइ भएपनि संक्रमण फैलिन नदिने पहल थालिरहेको उनको भनाई छ। नेपालमा लम्पी स्किन रोगको खोप उत्पादन नभएकाले तत्काल खोप लगाउन सम्भवन भएको प्रमुख महतराले बताए।

तत्काल खोप असम्भव भएपछि यसको संक्रमण अझ बढ्ने पशु चिकित्सकहरु बताउँछन्। पशु चरनका लागि पशु जंगल वा अन्य क्षेत्रमा छोडिने र संक्रमितको प्रत्येक्ष सम्पर्कबाट रोग फैलने गर्दछ। अफ्रिकाबाट फैलिएको यो रोग २०१९ को मध्यतिर भारत र बंगलादेशमा देखिएको थियो। रोग नियन्त्रण गर्न भारत तथा अन्य देशमा यो रोगविरुद्धको खोप दिइन थालिएको छ।

प्रकाशित मिति: : 2023-05-19 18:22:00

प्रतिकृया दिनुहोस्