गरिबीले १२ वर्षीया सुस्मिताको बाँच्ने आशा खोस्दै

BreaknLinks
BreaknLinks

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे पेडिआर्टिक वार्डकाे बेड नम्बर दुईमा स्कुल ड्रेस लगाएकी बच्ची हातमा क्यानाेला लगाएर बेडमा पल्टिरहेकी छन्। धेरैजसाे हाँसिरहने उनी निराश छिन्।

उनी घरमा पनि प्राय स्कुल ड्रेस नै लगाएकी भेटिन्छिन्। त्याे ड्रेस उनलाई स्कुलले नि:शुल्क रुपमा उपलब्ध गराएकाे हाे। स्कुल, घरदेखि अस्पतालकाे बेडमा समेत स्कुलले दिएकाे कपडा लगाउने उनकाे नाम सुस्मिता सार्की हाे। १२ वर्षीया सुस्मिताकाे घर चन्दननाथ-१० बाेहरा गाउँमा छ।

बेडमा पल्टिने दिन सुस्मिता रत्नचुडेश्वर माविकाे कक्षा ३ मा पढिरहेकी थिइन्। पढ्दा-पढ्दा उनी एक्कासी चिच्याउन थालिन्। कक्षाकाेठामै ढलिन्, बेहाेस भइन्। त्यसपछि के भयाे उनलाई थाहा छैन।

ब्युँझिँदा उनी अस्पतालकाे बेडमा थिइन्। वरिपरि आफन्त थिए। बुबा जनक सार्की रुँदै थिए। आमा शान्तिका आँखा रसाइरहेका थिए। 'ढाड दुखेपछि राेएकाेसम्म थाहा छ,' सुस्मिताले अस्पतालकाे बेडमा भनिन्, 'त्यसपछि ब्युँझिँदा यता थिएँ।'

याे लेख तयार पार्दासम्म उनी भर्ना भएकाे छ दिन पुगेकाे छ। याेभन्दा अगाडि पनि उनलाई त्यसरी नै स्कुलबाट अस्पताल लगिएकाे थियाे। १० दिन भर्ना भएपछि फेरि स्कुल आएकी थिइन्। उनी बेलाबेला अस्पताल गइरहन्छिन्।

त्यसबेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टर सन्दिप श्रेष्ठले चेकजाँच गरेका थिए। उनले सबै लक्षणहरु हेर्दा दुबै मृगौला खराब भएकाे हुन सक्ने वा दुबै मृगौला ड्यामेज भएकाे हुन सक्ने बताएका थिए।

'मैले त्यतिबेला भनेकाे हुँ। यता उपकरण नहुँदा राेक एकिन हुन सकेकाे छैन। काठमाडौं लिनुहाेला भनेर,' उनले भने, 'उहाँहरुले त लिनुभएकाे रहेनछ। आर्थिक अवस्था साह्रै कमजोर रहेछ। जति ढिलाे भयाे त्यति धेरै समस्या हुन सक्ने सम्भावना छ। ढिलाे भयाे भने बाँच्ने सम्भावना कम हुँदै जान्छ।'

पैसा नहुँदा थप उपचारका लागि काठमाडौं लिन नसकिएकाे सुस्मिताका बुबा जनकले बताए। 'त्यतिबेला पैसा भएन। घर ल्यायाैं र अलिअलि सन्चाे भएकाे पनि थियाे। छाेरी फेरि बिरामी भइहाली। कसरी उपचार गराैं मात्रै हुन थाल्याे,' उनले भने।

उनकाे पुर्ख्याैली सम्पत्तिकाे नाममा चार काेठे एउटा घर छ। त्याे घरमा पनि दुई दाजुभाइ छुट्टिएर बसेका छन्। त्याे घर बनाउने जग्गा पनि जनकका बुबा हली लागेका हुनाले गाउँकै बाहुनबाडाका मान्छेले दिएका हुन्।

'अधिया खाएर खानाकाे जाेहाे गर्छाैं,' उनले भने, 'दिनभरिकाे कमाइ खान लाउनमै सकिन्छ। बचत कतै छैन। सम्पत्ति नभएकाे हुनाले ऋण कसैले पत्याउँदैन।'

सुस्मिताकाे उपचार गराउन काठमाडौं लैजानु पर्नेछ। तर उपचार खर्च कत्ति पनि छैन। त्यसैले नगरपालिका र वडाबाट सिफारिस बनाएर केही ठाउँ आर्थिक सहयोग पनि मागेकाे जनकले बताए। तर सहयोग जुटेकाे छैन।

सुस्मिताकाे उपचारका निम्ति भनेर चन्दननाथ नगरपालिकाले २० हजार सहयोग गरेकाे छ। उपमेयर रामदेवी खड्काले १० हजार रुपैयाँ व्यक्तिगत रुपमै सहयोग गरेकी छिन्। मेयरले दुई हजार पाँच सय सहयोग गरेका छन्।

'उहाँहरुले दिएका रुपियाँले जाने भाडाकाे समस्या टरेकाे छ,' सुस्मिताकी आमाले शान्ती सार्कीले भनिन्, 'अरु उपचार गर्ने र खाना बस्ने खर्च के गर्ने हाेला? साह्रै पिर लाग्न थालेको छ।'

स्कुलमा उनी साह्रै टाँठी छन्। उनकाे नृत्य साह्रै राम्राे छ। पढाइ पनि राम्राे भएकाे शिक्षिका पद्मा पछाईंले बताइन्। 'यस्ती टाँठी मान्छे अब बाँच्ने हाे हाेइन चिन्ता लाग्न थाल्याे,' उनले भनिन्, 'जाेसँग पैसा छैन, उसलाई यति अप्ठ्यारो राेग लागेछ। यस्ती मान्छेकाे उपचारका निम्ति सहयोग गरे पुण्य गरेसरह हुनेछ।'

नेपालकाे संविधानकाे माैलिक हकअन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकका चारवटा उपधारा छन्। जसमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन।

प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ। प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि लेखिएकाे छ।

तर आर्थिक अवस्था कमजोर भएका सुस्मिताका आमाबुबालाई संविधानका धारा, उपधाराले छाेएका छैनन्। त्यसैले उनकाे उपचारकाे निम्ति बुबा जनक रुँदै हात थापिरहेका छन्।

कक्षामा सुस्मिताकाे राेल नम्बर आठ छ। त्याे राेल नम्बर बेलाबेला हाजिर हुने र गयल हुने भइरहन्छ। 'म त पढ्नै पाउन्न। अब कहिले पढ्न नपाउने भाइजन्छु कि जस्ताे लाग्छ,' उनले भनिन्, 'आजभाेलि मलाई बाँच्न पाइदिएकाे भए हुन्थ्यो मात्रै लाग्छ।'

सिस्मितालाई स्कुलमा सधैँभरी गयल हुन नदिनलाई सहयोगकाे खाँचाे छ। नत्र उनी सधैँका लागि गयल हुने सम्भावना छ।

प्रकाशित मिति: : 2023-05-23 19:19:00

प्रतिकृया दिनुहोस्