कोशी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

File Photo
File Photo

माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा सहभागी दुई जना मन्त्रीले राजीनामा दिएका छन्।

माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्।

मंगलबार बसेको माओवादी केन्द्रकाे संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा चापागाईं र आचार्यले राजीनामा दिएका हुन्।

कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले वर्तमान सरकार र राजनीतिक दलकै सहमतमा प्रदेश नामकरण भएपनि पहिचान पक्षधरले उठाएको मागप्रति प्रदेश सरकारले कुनै चासो नराखेकाले समर्थन फिर्ता लिइएको बताए।

नेता आङ्बोले मुख्यमन्त्री कार्कीले पहिचानवादीसँग वार्ता गर्न आह्वान गरेपनि वार्ता टोली गठन नगरेको र पहिचानवादीलाई वेवास्ता गरेको आरोप लगाए। 'सरकारले पहिचानवादीको आन्दोलन र मागलाई वेवास्ता गरेको छ, सम्मान गरेको छैन', उनले भने।

प्रकाशित मिति: : 2023-06-06 15:45:00

प्रतिकृया दिनुहोस्