ए डिभिजन लिग मछिन्द्र दोस्रो स्थानमा

मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो। मछिन्द्रको जितमा आफिज ओलावालेले दुई गोल गरे भने विमल घर्तीमगरले एक गोल थपे।

यता हिमालयन शेर्पाका लागि पिस्टोन मुटुम्बाले एक गोल फर्काए। खेलको २६औँ मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए। उनले पुजन उपरकोटीको क्रसमा हेडरमार्फत उत्कृष्ट गोल गरे।

त्यस्तै खेलको ६८औँ मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ७७औँ मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए। हिमालयनका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फउल गर्दै लडाएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो। जसको सदुपयोग आलावालेले गरे।

त्यसपछि खेलको ९०औँ मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत एक गोल फर्काए। यस जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको हो। पराजित हिमालयन शेर्पाले २५ खेलमा ३१ अङ्क जोडेको छ।

प्रकाशित मिति: : 2023-06-07 22:00:00

प्रतिकृया दिनुहोस्