‘पाँचौँ गुरिल्ला अल्ट्रा ट्रेल रेस २०८०’ प्रतियोगिता असार २ गते

बिएल संवाददाता

रुकुम (पूर्व)  

लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा ‘पाँचौँ गुरिल्ला अल्ट्रा म्याराथन २०८०’ प्रतियोगिता हुने भएको छ। भूमे र थबाङ गाउँपालिकाको भाग समेटेर यस वर्ष पनि असार २ गते पाँचौँ गुरिल्ला म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ।

तत्कालीन माओवादीले वि.सं. २०५२ सालदेखि १० वर्ष सञ्चालन गरेको सशस्त्र युद्धताका युद्धमा गुरिल्लाहरुले हिँडेको गोरेटो, वंकर, तालिम र सेल्टर लिएका सुन्दर गाउँ-बस्तीहरु समेटर दुई जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो।

अघिल्लो गाउँपालिका नेतृत्वले प्रायोजन गरिएको गुरिल्ला म्याराथनलाई निरन्तरता दिइरहेका भूमे गाउँपालिका अध्यक्ष होम प्रकास श्रेष्ठले बताए। 'गुरिल्ला म्याराथन दाैड देश-विदेशमा समेत चर्चा कमाएको छ, यसलाई आगामी वर्षहरुमा पनि गाउँपालिकाले निरन्तरता दिनेछ', उनले भने।

रुकुम (पूर्व)को महत गाउँबाट सुरु हुने दाैड, लाबाङ, रोल्पाको घामचिन, धङनेई, जलजला, चलाबाङ, थबाङ, मारीङ हुँदै खावाङ बजार छिचोलेर ५० किलोमिटर लामो दूरीको हुनेछ। त्यस्तै १० किमी फन रनअन्तर्गत महत गाउँबाट सुरु भइ सेवङ्पो, खाबाङ तिला, मारीङ, खाबाङ गाउँ हुँदै खाबाङ बजारमा टुंगिने छ।

'म्याराथन खेलले यो क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुगेको छ। पालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरेर खेललाई ब्राण्डिङ गरेका छौँ, जसमा कार्यपालिका सदस्यहरु र स्थानीय युवाको प्रमुख भूमिका रहेको छ', भूमे गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिं श्रेष्ठले जानकारी गराए।

२०७४ मा साहसिक खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्यले  गुरिल्ला ट्रेल रेस पहिलो पटक सुरु गरेको म्याराथनका संस्थापक तथा अभियन्ता सुनिल रोका मगरले बताए।

स्थानीय संस्कृति, जनजीवन, भूगोलका साथै युद्ध पर्यटनलाई विकास र विस्तार गर्दै तत्कालीन जनयुद्धको ऐतिहासिकलाई प्रचार–प्रसार गर्न र जिल्लाको पर्यटन प्रवद्धन गर्ने लक्ष्य अनुरुप प्रतियोगिता आयोजना गरिएको आयोजकले बताए। यो वर्ष ५२ किमी र १० किमीको दुई विधामा महिला र पुरुषतर्फ म्याराथन प्रतियोगिता हुनेछ।

५२ किमीको अल्ट्रा म्याराथनका प्रथम, दोस्रो, तेस्रो र चौथौ विजेतालाई क्रमश: ५० हजार, ३५ हजार, १५ हजार र ८ हजार रूपैयाँ पुरस्कार राशी राखिएको छ। त्यस्तै पाचौँदेखि दशौँलाई ५ हजारसहित दशौं स्थान हासिले गर्ने विजेतालाई ट्रफी, मेडल र सम्पूर्ण सहभागीलाई प्रमाण पत्र प्रदान गरिने आयोजकले बताए।

१० किमी फन रेसतर्फको विजेतालाई क्रमश: १० हजार, ७ हजार ५ सय, ५ हजार र २५ सय रूपैयाँ राखिएको छ भने पाँचौँदेखि दसौँसम्म हुनेलाई १ हजार नगद, मेडल र प्रमाण पत्र दिइनेछ। पुरुष र महिलातर्फ पुरस्कार राशी बराबर राखिएको छ।

भूमे गाउँपालिकाकाे आयोजनामा हुने म्याराथन प्रतियोगिताको रजिष्ट्रेशन शुल्क ५०० रूपैयाँ राखिएको छ। प्रतियोगितामा सहभागी हुन दर्ता खुल्ला गरिएको छ र अन्तिम दर्ता गर्ने मिति असार १ गते साँझ ६ बजेसम्म रहेकाे छ।

(अन्य जानकारीको लागि सम्पर्कः निश्मत सेर्पाली - ९८६८६४८१८६, शक्ति रोका-९७४५९५७९२)

प्रकाशित मिति: : 2023-06-11 11:52:00

प्रतिकृया दिनुहोस्