स्पेनले उचाल्याे नेसन्स लिगको उपाधि

११ वर्षपछि स्पेनिस फुटबलले अन्तर्राष्ट्रिय ट्रफी उचालेको छ। सन् २०१२ को युरोकप च्याम्पियन भएदेखि स्पेन लगातार ११ वर्षसम्म उपाधिबिहिन थियो।

११ वर्षसम्मको उपाधिबिहिन यात्रालाई पूर्णविराम लगाउँदै स्पेनले युईएफए नेसन्स लिगको उपाधि उचालेकाे हाे।

आइतबार राति नेदरल्याण्डमा भएको नेसन्स लिगको फाइनलमा सडन डेथमा क्रोएसियालाई हराउँदै स्पेनले उपाधि उचाल्यो।

९० मिनेटसम्म दुबै पक्षबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको ३० मिनेटसम्म पनि गोल नभएपछि टाई ब्रेकरमार्फत खेलको छिनोफानो हुनेस्थिती आएको थियो। 

टाई ब्रेकरमा पनि दुबै पक्षबाट ४–४ गोल भएपछि खेल सडन डेथमा पुगेको थियो। जहाँ क्रोएसियाका बुरनो पेट्रोबीचको प्रहारलाई स्पेनिस गोलरक्षक युनाई सिमानले रोकेका थिए भने स्पेनका लागि विजयी गोल डानी कार्भाहालले गरेका थिए। 

टाई ब्रेकर सडन डेथमा गरी ५–४ को नजिता निकाल्दै स्पेनले ११ वर्षपछि उपाधि उचाल्यो। सडन डेथमा पराजित भएपछि क्रोएसियाले भने पहिलो  अन्तर्राष्ट्रिय उपाधि उचाल्ने मौका गुमायो। 

११ वर्षपछि अन्तराष्ट्रिय उपाधि जितेपछि प्रतिक्रिया दिँदै स्पेनका मिडफिल्डर रोड्रीले आफूहरु धेरै खुसी रहेको बताए। ‘हामी धेरै खुसी छौं। यो साँच्चै गाह्रो खेल थियो’ खेलको म्यान अफ दी म्याच समेत भएको रोड्रीले भने। 

म्यानचेस्टर सिटीका मुख्य मिडफिल्डर रोड्रीले भर्खर क्लबका लागि ट्रिबर उपाधी जितेका थिए। उनैको गोलमा इन्टर मिलानलाई हराउँदै सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो। 

रोड्रीले यो स्पेनको उपाधीको अर्को सुरुवात हुनसक्ने पनि बताए। टोलीमा गाभी, अन्शु फाती, येरेमी पिनोलगायतका युवा खेलाडीहरु रहेकाले अर्को उपाधीको सुरुवात हुनसक्ने उनले बताए। 

‘यो पुस्ताले धेरै राम्रो गर्छ। हामी मानसिक रुपमा धेरै बलियो थियौं। हामीमा सुधार गर्नुपर्ने धेरै चिजहरु छन्। अहिले हामीले जित्यौं यो मुख्य कुरा हो’ रोड्रीले भने। 

यो जितसँगै स्पेन विश्वकप, युरोकप र नेसन्स लिग तीन वटै ट्रफी उचाल्ने दोस्रो राष्ट्र बनेको छ। यसअघि यी तीन वटै उपाधि फ्रान्सले उचालेको थियो। जहाँ सन् २०२१ को फाइनमा स्पेनलाई नै हराउँदै फ्रान्सले नेसन्स लिगको उपाधि उचालेको थियो।

स्पेनका गोलरक्षक सिमोनले लोभ्रा माजेरको प्रहारलाई रोकेपछि स्पेनले टाइ ब्रेकरमै उपाधी उचाल्न सक्ने अवस्था थियो। तर पाँचौं नम्बरमा पेनाल्टी प्रहार गर्न आएका स्पेनका डिफेन्डर एमरिक लापोर्ताको प्रहार क्रसबारमा लागेर धकेलिएपछि खेल सडन डेथमा पुगेको थियो। तर स्पेनलाई यसले फरक पारेन। 

सिमानले पेटकोभिकको पछिल्लो प्रयासलाई विफल पारिदिए। अन्तिममा स्पेनका लागि कार्भाहालले विजयी गोल गरे। 

‘हाम्रा लागि यो एउटा युनिक अवसर थियो। त्यसलाई हामीले खेर जान दिएनौं ’ रियल मड्रिडका डिफेन्डर कार्भाहालले स्पेनिस मिडियासँग भनेका छन्।

सन् २०२२ को कतार विश्वकपको उदाहरण दिँदै कार्भाहालले भने, ‘स्पेन अन्तिम १६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमार्फत नै बाहिरिएको थियो। जहाँ स्पेनले पेनाल्टीमा एक गोल गर्न पनि सकेको थिएन। तर यो पटक हामीलाई पेनाल्टीमा आत्मविश्वास थियो र यो राम्रो पनि भयो। मलाई थाहा थियो कि म यसलाई कसरी सुट गर्न गइरहेको छु र मलाई थाहा थियो कि म छैटौं हुनेछ। म यसलाई ‘पानेन्का’ शैलीको पेनाल्टी भन्न चाहान्छु।’

कार्भाहालले भनेको पानेन्का टेक्निक पेनाल्टी चेक रिपब्लिकका पूर्वखेलाडी एन्टोनी पानेन्कासँग सम्बन्धित छ। चेकका पूर्व अट्याकिङमिडफिल्डर पानेन्काको पेनाल्टी हान्ने छुट्टै शैली थियो। 

जहाँ पेनाल्टी प्रहार गर्नेले गोलरक्षकको दायाँबायाँ हान्नुको सट्टा बलको मुनिको भागमा हल्का टच दिइन्छ। जसले गर्दा बल माथि उठ्छ र पोष्टभित्र खस्छ। यो टेक्निकमा गोरकिपरहरु झुकिन्छन् डाइभ गर्छन्। तर बल गोलरक्षकको माथिल्लो भागबाट स्लो रेन्जमा गोलपोष्टमा छिर्छ।

प्रकाशित मिति: : 2023-06-19 12:06:00

प्रतिकृया दिनुहोस्