एक अमेरिकीको आँखामा नेपाल र नेपाली

अमेरिकामा नेपाललाई नजिकबाट चिन्ने अमेरिकीहरूको संख्या पनि उल्लेख्य छ। तिनीहरूमध्ये केहीले नेपालमा पनि केही समय बिताएका छन्।  उनीहरू नेपाली पनि मनग्यै बोल्छन्। त्यस्ता अमेरिकीमध्ये केहीले नेपालविज्ञका रूपमा परिचय बनाएका हुन्छन्। यही परिचयका साथ उनीहरू या त विभिन्न विश्वविद्यालयका एसियाली अध्ययन विभागसँग जोडिएका हुन्छन्, या त  अमेरिकी विदेश विभाग र विभिन्न एजेन्सीमा कार्यरत् हुन्छन्। नेपालसम्बन्धी केही जानकारी लिन वा नेपालसम्बन्धी नीति बनाउनु परेमा  उनीहरूको विचारलाई महत्वपूर्ण स्रोतका रूपमा लिइन्छ। 

अमेरिका आएपछि कामको क्रममा केही त्यस्ता व्यक्तिसँग भेटघाट र भलाकुसारी गर्ने अवसर यो पंक्तिकारलाई पनि जुरेको छ। त्यही क्रममा गत साता अमेरिकी विदेश विभागको नेपाल डेस्कमा काम गर्ने एक अमेरिकी अधिकारीसँग भेट गर्ने मौका जुर्यो। पिसकोर स्वयंसेवकका रूपमा नेपालमा सात वर्ष बिताएका उनी लामो समयदेखि नेपालसम्बन्धी अमेरिकी नीति बनाउने कार्यमा संलग्न छन्।

नेपाली भाषा फरर बोल्ने उनी नेपाल र नेपालीका बारेमा कुरा गर्न पाउँदा खुशी हुन्छन्। नेपालका १३ जिल्ला घुमेका उनीसँग ती जिल्लासँग जोडिएका संस्मरण पनि रहेछन्। संजोग नै भनौ उनी म जन्मेको जिल्ला ताप्लेजुङ पनि पुगेका रहेछन्। पुगेको मात्र हैन, ओलाङचुङगोला सम्मको पैदलयात्रा पनि गरेका रहेछन्। लिम्बू र वलुङ भाषामा सामान्य बोलीचालीका केही वाक्य पनि अझै सम्झेकै रहेछन् उनले।

नेपालकै कारण जीवनको रोजीरोटी जुटेको बताउने उनी नेपालका बारेमा अरूका विचार रूचिका साथ सुन्छन् । र, आफ्ना धारणा पनि प्रष्टसँग राख्छन्। तर, उनी जागीरको परिधि र कूटनीतिक सीमाका कारण नामचाँहि उल्लेख गर्न चाहदैनन्।

म उनको बाध्यतालाई बुझ्छु।

०००

म तिम्रो आँखालाई अमेरिकाको आँखा ठान्छु र त्यही आँखाबाट एकपटक नेपाल हेर्न चाहन्छु। त्यसका लागि तिमीले मेरा केही प्रश्नको उत्तर दिन सक्छौं ?

उनी मेरा केही प्रश्नको उत्तर दिन तयार भए। अनि सुरू भयो हाम्रो कफी-गफ।

तिम्रो विचारमा नेपालको मूल समस्या के हो ?

उनको छोटो जवाफ थियो- थिति बस्न नसक्नु।

मैले  उनको उत्तरलाई अलि लामो बनाउन अनुरोध गर्दा उनले भने– नेपालमा पद्धति नै बस्न सकेन, प्रणालीले काम गर्ने कुरा त धेरै टाढाको कुरा भयो।

आखिर किन यस्तो भयो ?
उनको जवाफ थियो– अधैर्य जनता, ल्याकत नभएका नेता अनि जटिल भौगोलिक अवस्थिति।

परिणाम के भयो त ?
उनले अगाडि थपे,  'नेपाल राजनीतिक प्रणालीको एक असफल प्रयोगशाला मात्र भयो। निरंकुश राजतन्त्र, दल विनाको पञ्चायत व्यवस्था, संवैधानिक राजासहित दल भएको बहुदलीय व्यवस्था, राजा नभएको गणतन्त्र, पूर्वराजा भएको गणतन्त्र, हुँदाहुँदा स्वतन्त्र उम्मेद्वारको लहर चलेको अवस्था। थोरै समयमा कति धेरै प्रणालीको प्रयोग। यसरी एकपछि अर्को प्रणालीको प्रयोग हुँदा कुनै प्रयोगले पनि परिणाम निकाल्न सक्दैन।'

नेपालमा थोरै समयमा धेरै राजनीतिक प्रणालीको प्रयोग त भयो तर कुनै प्रयोगले पनि परिणाम निकाल्न सकेन। हुँदाहुँदा अब त नेपाल अभ्यास गर्ने राजनीतिक प्रणाली नै बाँकि नभएको असफल प्रयोगशाला जस्तो भएको छ। त्यस्तो अवस्थामा कुनै पनि देश अन्तत: बनाना रिपब्लिक नै हुने हो। यतिबेला नेपाल त्यही दिशा र दशातिर अगाडि बढेको छ।

अब के होला ?
उनले चिन्तित हुँदै भने, 'अब त नेपालसँग अभ्यास गर्ने राजनीतिक प्रणाली नै बाँकि छैन भने पनि हुन्छ। बिना राजनीतिक प्रणालीको देश नै हुँदैन। यसको अर्थ अन्ततः देश असफल राष्ट्र हुने हो। दु:खका साथ भन्नुपर्छ, नेपाल त्यही दिशा र दशातिर अगाडि बढिरहेको छ।'

यसलाई अलि व्याख्या गर्न मिल्छ ?
उनको थपे,  'संसार आज जहाँ पुगेको छ, यतिबेलासम्म राजनीतिक स्थायित्व नहुने देश आफैंमा एक जटिल समस्या हो। नेपाल अहिले विश्वले अभ्यास गरेको सबैभन्दा उम्दा राजनीतिक प्रणाली अभ्यास गरिरहेको छ। तर, त्यहाँ पुगेर पनि यो अडिएको छैन।'

अब कता जाला त नेपाल ?
उनले चिन्ता व्यक्त गर्दै भने, 'राजनीतिक पद्धतिका हिसाबले नेपाल अगाडि बढ्ने ठाउँ छैन। जबर्जस्ती गर्ने हो भने बढीमा दुर्घटना नै हुने हो। त्यो भनेको नेपाल एक ‘बनाना रिपब्लिक’ हुने हो।'

०००

राजनीतिपछि मैले सामाजिक विषयमा उनलाई तानें। मेरो पहिलो प्रश्न थियो,

तिमीलाई नेपालको सामाजिक अवस्था कस्तो लाग्छ ?
उनको उत्तर थियो,  'नेपाली समाजलाई व्याख्या गर्न गाह्रो छ। दिमाखमा सामुहिक सोच छ। तर, हातखुट्टा सबै एकल सोचका लागि चलेका छन्। जब व्यक्तिमा शरीर र दिमाखको सन्तुलन हुँदैन, तब त्यो समाज गतिहिन हुन्छ, दिशाहिन हुन्छ। अहिले नेपाली समाज यही अप्ठ्यारोमा छ।'

यो अप्ठ्यारोलाई सजिलो बनाउने उपाय केही छ कि ?
यस प्रश्नको उत्तरमा उनले भने- उपाय नै नहुने भन्ने हैन। तर, त्यसका लागि फेरि पनि हरेक व्यक्तिको दिमाख र शरीर एक भएर काम गर्न तयार हुनुपर्यो। अझै केही वर्ष नेपाली तन र मन त्यसका लागि तयार होला जस्तो लाग्दैन।

नलाग्नुको खास कारणचाँहि के होला ?
यस प्रश्नको उत्तर भने उनले अलि लामै दिए, 'मूल कुरा त नेपालमा केही नै हुँदैन भन्ने संकथन बन्दैछ। नेपालमा आज कोही पनि युवा आफ्नो भविष्य देखिरहेको छैन। जब युवाले आफ्नो भविष्य देख्दैन, त्यसपछि सक्ने हिड्छ, नसक्ने आफू नसकेर बसेको ठान्छ र एक किसिमको लघुताभाष बाँच्छ।'

नेपालीको विशेषताचाँहि के लाग्छ ?
यो अलि गाह्रो प्रश्न छ भन्दै उनले थपे,  'म नेपालमा हुँदा नेपालीमा शिक्षा कम थियो। तर, दया अनि मायाको मानवीय भावना ठूलो थियो। संविधान, कानुन, प्रहरी सबैको काम धर्म र पापले गर्थ्यो। पाप लाग्छ भनेर मानिस गलत गर्न डराउँथे। अहिले त्यो मान्यता पूरै भत्किसकेको छ। मैले सुनेको छु, अहिले त जसले गर्छ पाप, उसकै हुन्छ फलिफाप भन्ने कुरा छ रे। यसले समाजमा विवेक हराएको छ, अहिले नेपाल क्रमशः विवेक हराएको राष्ट्रका रूपमा देखिएको छ।'

यस क्रममा उनले यो पनि थपे,  'नेपालीको अर्को पनि खास चरित्र छ, त्यो भनेको दोहोरो चरित्र हो। उनीहरू आफ्नो लागि एउटा कुरा गर्छन, अर्कोको लागि अर्कै कुरा। यो पनि विवेक गुमाएकै कुरा हो।'

०००

उनलाई अर्को विषयमा तान्ने प्रयास गर्दै मैले भूमिका बाँधे,  'अमेरिका नेपालको सबैभन्दा ठूलो दाता राष्ट्र हो। ७५ वर्षदेखि सहयोग गरेको गर्यै छ तर नेपाल भने यो अवस्थामा पुगेको छ। नेपाललाई यस्तो बनाउन अमेरिकाको पनि भूमिका होला नि ?'

लामो श्वास तान्दै उनले भने,  'तिमीले ठीकै भन्यौं। हामीले नेपाललाई दियौं। हाम्रो उद्देश्य त्यसले नेपालीलाई आत्मनिर्भर बन्न सहयोग पुगोस् भन्ने थियो। तर, त्यसो भएन। यसले उल्टै नेपालीलाई परनिर्भर बनायो। यो दुःखको कुरा हो।'

सकारात्मक कुराचाँहि के भयो ?
यस प्रश्नको उत्तरमा उनले भने,  'हामीले नेपालीलाई अधिकारका बारेमा सचेत बनाउन सकारात्मक भूमिका खेल्यौँ। फलत: आज उनीहरू प्रश्न गर्न सक्ने भएका छन्। यो गतिलो उपलब्धी हो। तर, यसमा पनि हामी चुक्यौं, त्यो के भने हामीले उनीहरूलाई कर्तव्यका बारेमा पनि भनेका थियौं। तर, त्यो पाठ भने नेपालीले पढ्नै  चाहेनन्।'

अब अमेरिकाले आफ्नो भूमिकाका बारेमा पुनर्विचार गर्छ कि ?
‘गर्न त पर्ने हो। तर, एकैपटक यु-टर्न गर्न सकिन्न। हामीले आफ्नो भूमिका परिवर्तन गर्नुपर्छ भन्ने ठानेका छौं। त्यसका लागि नीतिगत तहमा काम भैरहेको छ।’

यसो भनेर उनले यो विषयको पनि विट मारें।

०००

भेटघाट टुंग्याउनुअघि मैले उनलाई अन्तिम विषयमा प्रवेश गराएँ। त्यो थियो– नेपाली–अमेरिकीको विषय।

मैले शुरूमै सोधें- अमेरिकाले नेपाली-अमेरिकीलाई चाँहि कसरी हेर्छ ?
नेपाली–अमेरिकीको भूमिकाका बारेमा त्यति धेरै सन्तुष्ट नभए जस्तो गरी उनले भने, 'नेपालीलाई कागजमा नेपाली–अमेरिकी बनाए पनि भावनाले नै बनाउन भने गाह्रो छ। खासगरी नेपालको गाउँमा जन्मेका र माद्यामिक तहसम्मको शिक्षा त्यहीको सरकारी विद्यालयमा पूरा गरेकालाई त नेपाली–अमेरिकी बनाउन लगभग सम्भव छैन। सकिदैन। बरू उल्टै उनीहरूले अमेरिकामा मिनी नेपाल बनाउँछन्।

नेपालको सहरमा जन्मेर बोर्डिङको शिक्षा लिएकालाई नेपाली–अमेरिकी बनाउन सजिलो रहेको अनुभव उनले यसरी सुनाए, 'अंग्रेजी शिक्षा लिएका नेपालीलाई अमेरिकी बनाउन सजिलो छ। उनीहरू अलि कम उमेरमै अमेरिका आएकाले पनि उनीहरूका लागि अमेरिकी जीवन सहज हुन्छ। धेरै समय अमेरिकामा बिताउनुपर्ने र उनीहरूको अर्को पुस्ता पनि अमेरिकी हुने भएकाले अमेरिकी हुन उनीहरू अभिप्रेरित भएका हुन सक्छन्।'

नेपाली–अमेरिकीको जनसंख्या त बढ्दैछ नि भन्ने प्रश्नको उत्तरमा उनले भने, 'अझै पनि हामीलाई नेपाली-अमेरिकी चाहिएकाले डाइभर्सिटी भिसा कायमै छ।'

विट मार्नुअघि मैले सोधें,  'नेपाली-अमेरिकी अमेरिकाका लागि वरदान कि अभिषाप ?'

'यसको श्याम-श्वेत उत्तर हुँदैन। खैरो उत्तर भनेको के हो भने नेपालीसँगै उनीहरूका राम्रा कुरा पनि आएका छन्, नराम्रा कुरा पनि। राम्रो कुरा गर्दा उनीहरू सबैसँग मिलेर बस्ने, अपराधकर्मबाट टाढै रहने, मेहेनती स्वभावका हुन्छन्। नराम्रो कुरा गर्दा उनीहरू इखालु र देखासिखी गर्ने स्वभावका हुन्छन्। यसले गर्दा उनीहरू आफैंबीचको हार्दिकता भने कम देखेको छु। अर्को कुरा अल्पमतको हुँ, खैरो रङको हुँ र आप्रवासी हुँ भन्ने सोच जबर्जस्त हुने भएकाले त्यो लघुताभाषले उनीहरूलाई खुम्चाएको छ।'

०००

अन्तमा उनैलाई सोधें, 'तिम्रो कुराकानीको शीर्षक के राखौं ?'
उनले भने, 'म त्यस्तो शीर्षक सुझाउने सही पात्र हैन। तर, म सुझाव दिनचाँहि सक्छु, ‘एक अमेरिकीको आँखाबाट नेपाल र नेपालीलाई हेर्दा।’

(प्रस्तुत आलेखमा एआईद्वारा निर्मित शांकेतिक तस्विर प्रयोग गरिएको हो।)

प्रकाशित मिति: : 2023-06-23 06:00:00

प्रतिकृया दिनुहोस्