जनताका मुद्दा लड्न फिल्डमा जानुपर्छ सामाजिक सञ्जालमा होइन: माओवादी सांसद लामा (अन्तर्वार्ता)

कमल विक

काठमाडौं

नेकपा (माओवादी केन्द्र)बाट समानुपातिकमा निर्वाचित सांसद हुन्, छिरिङ ल्हामु लामा (तामाङ)। जुम्लाकी लामा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामध्ये सबैभन्दा कम उमेरकी सदस्य हुन्। ३१ वर्षको उमेरमा संघीय संसदमा प्रवेश गरेकी उनी राजनीतिक गतिविधिमा अत्यन्त सक्रिय छन्।

सामाजिक सञ्जालमा सक्रिय रहेर हरेक विषयमा तरुन्तै अपडेट भइहाल्ने लामासँग बिएल नेपाली सेवाले सामाजिक सञ्जाल र सांसदहरुको प्रचार मोह, जुम्ला जिल्लाका गतिविधि र सरकारका सन्दर्भमा कुराकानी गरेको छ।

प्रस्तुत छ, बिएल संवाददाता कमल विकले गरेको कुराकानीको सम्पादित अंश :


केही दिनअघि मलेसियामा निधन भएका जुम्लाको हिमा गाउँपालिकाका एक व्यक्तिको शव त्रिभुवन विमानस्थलमा आयो। केही सांसदहरुले ती व्यक्तिको शव नेपाल ल्याउन आफूले पहल गरेको भन्दै आफ्नो चर्चा आफैं गरे। त्यसपछि तपाईंले विमानस्थलमै सञ्चार माध्यमहरुसँग बोल्दै देश शोकमा डुबेको बेला लासमाथि राजनीति नगर्न भन्दै अपिल पनि गर्नु भयो। यस्सो हेर्दा त त्यहाँ तपाईं सांसदहरुले मान्छे शवमाथि पनि राजनीतिक गरेको देखियो नि ?

त्यो तपाईंलाई लागेको होला। त्यस्तो कसले गर्‍यो, कसले गरेन भनेर धेरै भनिरहनुपर्ने आवश्यकता पनि छैन। किनकि, मृतकको आफन्तले पनि यसको स्पष्टीकरण दिएपछि मैले यसमा धेरै बोल्न आवश्यक छैन।

म जिल्लाको जनप्रतिनिधिको हैसियतले आफ्नो जिल्लाको युवकको लास रिसिभ गर्न जाने क्रममा थुप्रै मिडियाहरु त्यहाँ आएको देखियो। त्यसमध्ये कुनै पनि मिडियालाई हामीले बोलाएका होइनौँ। हामीले देखिएको सूचनाबाट उहाँहरु आएको होइन, यो कुरामा तपाईं स्पष्ट हुनुहोस्।

पत्रकार त आफैं खोज्दै गइहाल्छन् नि त ?

उहाँहरुले राति सपनामा भोलि लास आउँदैछ भन्ने देखेर त होइन होला, कहीँ न कहीँबाट सूचना पाएर नै आएको होला। अनि, त्यो सूचना कहाँबाट गयो ? कताबाट गयो ? भनेपछि त्यो त मिडियाबाजी गरेको हो कि होइन् ? इस्टबाजी गरेको हो कि होइन ?

मेरो विषयमा चाहिँ क्लियर छ, एउटा जनप्रतिनिधिको हैसियतमा गएको हुँ। त्यो मेरो जिम्मेवारी र कर्तव्य पनि हो।

यो देशमा दिनहरु यस्ता पनि आए विदेशमा पसिना बगाउँदा बगाउँदै निधन भएका युवाको शव बाकसमा ल्याइँदा यहाँका सांसदहरु जस लिने होड्बाजी गर्दै विमानस्थल पुगेर सेल्फी खिच्ने। यस्ता दिन देख्दा, भोग्दा अनौठो लाग्दैन ?

अनौठो त किन नलाग्नु र,

म एउटा दुर्गम भेगबाट प्रतिनिधित्व गर्ने, हिजोको त्यस्तो ठाउँबाट म अहिले प्रतिनिधिसभामा पुगेकी छु। यो क्यामेर र मिडियाबारे त्यति धेरै जानकार छैनौँ हामी। एक्कासी विमानस्थलमा लास रिसिभ गर्न गइरहेको छु, पूरा हाम्रो जिल्ला शोकमा छ, देश शोकमा छ, हामीले आफ्नो जिल्लाको ३१ वर्षको नागरिक गुमाएका छौँ, एयरपोर्टमा त क्यामेरा बोकेका पत्रकारहरु छ्यापछ्याप्ती देख्छु। त्यो देख्दा मलाई अनौठो चाहिँ लाग्यो।

एउटा शोकमा भएको बेला त्यो उत्सव मनाउने ठाउँ त होइन तर त्यहाँनेर मिडियादेखि सबै जना आएको देखेर मलाई अलि अनौठो चाहिँ लाग्यो। यो चाहिँ कहाँबाट आयो ? कसरी आयो ? भन्नेजस्ता थुप्रै प्रश्नहरु मेरो मनमा आए।

मान्छे मर्दा उत्सव चाहिँ कसले मनायो ?

त्यो त तपाईं आफैंले बुझ्ने कुरा हो। अब यो लासमाथि आएर पूरै भिडियो बनाउने, पूरै न्यूज बनाउने भनेको त राम्रो कुरा होइन नि त।

त्यो पत्रकारले राज्यलाई देशको अवस्था देखाउन गरेको काम होला नि ?

त्यो कुरा बारम्बार सामाजिक सञ्जालमा आइरहेको थियो। त्यो त त्यतिबेला मात्रै झ्याप्प आएको त होइन। दुई चार दिनअघि देखि हामीले त्यो लासको भिडियो सामाजिक सञ्जालबाट हेरिरहेका थियौँ। केही माननीयहरुले स्टाटस्हरु पनि लेखिरहेको थिए। हामी पनि त त्यो जिल्लाको एउटा जनप्रतिनिधि हो स्टाटस् त हामी पनि लेख्न सकिन्थ्यो होला नि, के त्यो परिवार र लासप्रति जानकार नै छैनौँ होला त ?

...भनेपछि तपाईंले ‘दुःख मैले गरेँ, जस अर्काेले लियो’ भने चिन्ता गर्नुभएको हो ?

दुःखभन्दा पनि हाम्रो जिम्मेवारी हो त्यो, त्यो त हाम्रो कर्तव्य हो। म त्यो लास ल्याउनलाई के गरेँ, कसो गरेँ, कहाँ पुगेँ भन्नेतिर जाँदिनँ तर एउटा कुरा के हो भन्दा त्यो त हाम्रो काम कर्तव्य हो, त्यसैको लागि यहाँ छौँ, त्यसैको लागि मैले यो गरेँ, त्यो गरेँ भन्नलाई म यहाँ इन्टरभ्यू दिन आएको पनि होइन। अब यो मिडियाबाजी, स्टन्टबाजी भएको हो कि होइन भन्ने कुरा त हामीभन्दा पनि तपाईंहरु बढी जानकार हुनुहुन्छ।

मैले तपाईंसँग त्यो घटनामा तपाईंले के गर्नुभयो वा भएन भनेर सवाल–जवाफ गर्न खोजेको होइन्, खाली मेरो चिन्ता यत्ति हो कि हाम्रा सांसदहरु किन यति धेरै प्रचारवादी भए ?

एकदमै चिन्ताको विषय छ।

सामाजिक सञ्जालको विकृति त्यतिकै भएको होइन। हामीले सामाजिक सञ्जालमा बोलेर, भाइरल भएर, सामाजिक सञ्जालमा मात्रै देखिएर देश विकास हुँदैन। देश विकास गर्नको लागि फिल्डमा जानुपर्छ। जनताको मुद्दा हामीले फिल्डमै गएर लड्ने हो, सामाजिक सञ्जालबाट लड्ने होइन।

तर, अहिले त धेरैजसो सांसदहरु सामाजिक सञ्जालमा आफ्ना स–साना कुराको प्रचारमा व्यस्त भएको देखिन्छ नि ?

यसमा कतिको रहर छ, कतिको बाध्यता छ।

बाध्यता कसरी ?

नबोलेर बस्ने हो भने नचोरे पनि चोर हो कि जस्तो हुने। कतिपय ठाउँमा आफू सत्य हुँदा पनि सामाजिक सञ्जालले दोषीजस्तो बनाइदिने रहिछ। त्यो भएको कारण कहिले काहीँ बोल्नुपर्ने बाध्यता पर्ने रहिछ।

यस्तो अवस्था कसको कारणले आयो ?

अहिले तपाईंले प्रश्न गरिहाल्नु भयो– ‘यो लासमाथि राजनीति किन गरेको हो ?’ भनेर, त्यसको जवाफ मैले तपाईंलाई दिँदैछु। यो पनि बोल्नुपर्ने बाध्यता भएन र ? नत्र म त्यो लासको स्पष्टीकरण दिन त आएको होइन नि यहाँ। अब तपाईंले सोधेपछि बाध्य भएर मैले यो कुरा भन्नुपर्ने भयो।

सामाजिक सञ्जालको यो प्रवृतिले हाम्रो समाजमा कस्तो प्रभाव पार्ला ?

एकदमै गलत।

स्टन्टबाजी गर्नु, मिडियाबाजी गर्नु एकदमै गलत हो।

म त के भन्छु भने राम्रो कुराको प्रचार गरौँ, राम्रो कुराको सूचना दिम्। सामाजिक सञ्जालबाट समाजका विकृतिहरु हटाउन अभियान चालाऊँ। धेरै कुराहरु सामाजिक सञ्जालबाट गर्न सकिन्छ।

त्यो काम त तपाईंहरुले त गर्ने हो नि ?

हामी त गरिरहेका छौँ।

मैले सामाजिक सञ्जाललाई राम्रो कुराको लागि नै प्रायोग गरिहेको छु।

पहिलो कुरा त सामाजिक सञ्जाल त्यति धेरै प्रयोग गरिएको छैन।

दोस्रो म आजसम्म जतिपटक मिडियामा आएको छु यसमा चाहिँ मैले गलत कुराको चिरफार गरेको छु। समाजमा फैलिएका भ्रमहरुको चिरफार गरेको छु। त्यो गर्नको लागि रहर होइन, बाध्यता भएर नै आएको हो।

अब चाहिँ जुम्लातिर लागौँ,

यहाँबाट मैले ‘जुम्ला’ शब्द उच्चारण गर्दा तपाईंको मनमा के कुरा आउँछ ?

‘जुम्ला’को त्यो माटोले काठमाडौँको सिंहरदबारतिर, काठमाडौँको संसद भवनतिर हेरिरहेको छ। कसलाई हेरिरहेको छ ? हामीलाई नै हेरिरहेको छ। किनकि, हामी त्यो माटोको ठुलो जिम्मेवारी बोकेर यहाँ आएका हौँ। त्यहाँको ठुलो सपना र लक्ष्य बोकेर हामी यहाँ आएका छौँ। मेरो त हरेक पाइला र शब्दमा आफ्नो जिल्लालाई राखेको छु। समग्र कर्णालीलाई राखेको छु।

जिल्लाले मलाई कसरी हेर्ने र मैले जिल्लालाई कसरी हेर्ने भन्ने कुरै छैन। म त जिल्लाको एउटा जनप्रतिनिधि हो, त्यसको हैसियतले त मैले बिहान उठेदेखि बेलुका सुत्ने समयसम्म मेरो जिल्लााई फोकस गर्छु।

व्यक्तिगत जीवनबारे सोच्नु हुँदैन ?

अहिले त व्यक्तिगत जीवनभन्दा पनि पब्लिक लाइफ भइसकेपछि त बढी उतै डेडिकेट भइन्छ।

अहिले सरकारको नेतृत्व तपाईंको पार्टीले गरिरहेको छ, त्यस हिसाबले पनि डाडु–पनियो तपाईंको हातमै छ। यस्तो बेला तपाईंले आफ्नो जिल्लाको लागि के–के कामहरुको सुरुवात गर्नुभयो ?

डाडु–पनियो नै मेरो हातमा छ चाहिँ नभन्नु। 

सरकारको नेतृत्व हाम्रो पार्टीले गरेकोले अरुले आग्रह गर्छन् भने मैले दाबी गर्न पाउँछु। अरु र म मा यही अन्तर हो तर डाडु–पनियो नै मेरो हातमा भन्न त नमिल्ला किनभने म मन्त्री होइन। म माननीय हो, एउटा पहलकर्ताको भूमिकामा छु। र, पहलकर्ताको भूमिकामा रहिरहँदा मैले मेरो जिल्लाको लागि छोटो अवधिमा धेरै कामको खाताका खोलेको छु।

पहिलो प्राथमिकता जुम्ला विमानस्थललाई नै दिएको छु। जुम्ला विमानस्थलको स्तरउन्नतिको लागि ससदमा बारम्बार मैले आवाज उठाएँ, सम्बन्धित मन्त्रालयमा १५–२० पटक धाएँ, यो विषयमा बारम्बार फलोअपमा छु। यसको नतिजास्वरुप जुम्ला विमानस्थलको स्तरउन्नतिको लागि केही प्रक्रियाहरु अगाडि बढेका छन्। अहिलेको बजेटमा समेटिएको छ।

अर्काे मैले बारम्बार उठाएको कुरा जडीबुटी प्रशोधनको हो। यसमा पनि कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर जडीबुटी प्रशोधन केन्द्र खोल्ने भन्ने कुरा नीति तथा कार्यक्रममा आएको छ।

अर्काे मैले उठाएको कुरा ‘एक पालिका, एक कोल्ड स्टोर’ भन्ने थियो। अहिलेको बजेटमार्फत् जुम्लाका ४ वटा पालिकामा कोल्ड स्टोर बनाउनको लागि बजेट पार्न सफल भएको छु।

त्यसपछि जुम्लाका भित्रको रणनीतिक सडकहरुमा बजेट परेको छ।

कर्णाली राजमार्गको लागि पनि बजेट छुट्याएको छ।

हामीले जति पनि काम गर्ने सोचेका थियौँ, त्यो काम गर्न सफल भएको छौँ।

कर्णालीबारे के सोचिरहनु भएको छ ?

हाम्रो कर्णाली एकदमै सम्भावना बोकेके ठाउँ हो। म बारम्बार भनिरहेको हुन्छु कि कर्णालीमा ‘सुन’ फल्छ। तर, कर्णालीको ‘सुन’लाई राज्यले चिन्नु पर्‍यो।

त्यो काम त तपाईंहरुले गर्नु पर्‍यो नि ?

त्यो म गरिरहेकै छु त। म आजसम्म संसदमा १३ पटक बोलेँ। त्यसबखत बारम्बार मैले कर्णालीको ‘सुन’लाई चिनाउने कोसिस गरिरहेको छु। अब राज्यले चिनेर त्यसलाई कसरी अगाडि बढाउने भनेर राज्य लाग्यो भने हाम्रो कर्णालीमा धेरै सम्भावना छ।

जुम्लाबाट प्रतिनिधित्व गर्ने चारमध्ये तपाईंहरु तीन जना त युवा नै हुनुहुन्छ, जुम्ला र समग्र कर्णालीको लागि यो पुस्ताले के गर्छ ?

पहिलो कुरा कर्णालीमा हामीले काम गरेर देखाउनु पर्‍यो। म के भन्छु भने पहिला काम गरौँ, त्यसपछि प्रचार गरौँ तर यहाँ त पहिला प्रचार हुने, पछि काम नहुने भयो।

त्यसैले अहिले कर्णालीको लागि अरुले के गर्छ वा गर्दैन भन्दा पनि मैले के गर्ने भन्ने कुरा महत्वपूर्ण छ।

जुम्लाबाट हामी चार जना सांसद छौँ। मैले उहाँहरुबाट पनि सुझाव लिइरहेको छु। राजनीतिक हिसाबले अरु सांसदसँग हाम्रो छलफल हुने कुरा भएन। अब कोही राजतन्त्रवादी छन्, म गणतन्त्रवादी परेँ। जे होस् जिल्लाको विकासको लागि हाम्रो छलफल भइरहेको छ, हुन्छ र अझै पनि हुन आवश्यक छ।

अब देशको राजनीतितर्फ जाऊँ,

प्रतिपक्षी दलहरुले तपाईंको पार्टीेले नेतृत्व गरिरहेको सरकारले केही गरेन भनिरहनु भएको छ। के त्यो सत्य हो ?

तपाईंलाई प्रचण्डले काम गरेको छैन जस्तो लाग्छ ? पत्रकारले पनि छातीमा हात राखेर भन्न सकोस् न प्रचण्डले काम गरेको छैन भनेर।

अहिले प्रचण्ड नेतृत्वको सरकारले यति धेरै कामहरु गरिरहेको छ। तर, ती कामहरुको बाहिर प्रचार भइरहेको छैन।

अहिले प्रचण्ड सरकारले जति काम गरेको छ, विगतका सरकारले यति काम गरेको जस्तो लाग्दैन।

प्रचण्ड सरकारले गरेका पाँच वटा काम भन्न सक्नुहुन्छ ?

किन नसक्नु,

पहिलो कुरा भ्रष्टाचार नियन्त्रण गर्ने, दोस्रो देशमा सुशासन कायम गर्ने, युवाको आत्मबल बढाउने, त्यसपछि देशका विकासको क्रान्ति गर्ने, किसानको लागि काम गर्ने।

कृषिमा अहिले सबैभन्दा धेरै बजेट आएको छ।

भ्रष्टाचारीहरुलाई त भट्टाभट् कारागार पुर्‍याइसक्यो नि।

हिजोको दिनमा हामी पनि मिडियामा समाचार हेर्दै आएको हो। हिजोको दिनमा– आज फलानोले भ्रष्टाचार गर्‍यो रे, फलानोले यति लुट्यो भनेर समाचार आउँथ्यो। तर, अहिले प्रत्येक दिन यो समात्यो, त्यो समात्यो भन्ने न्युज मात्रै छ।

तर, प्रधानमन्त्रीज्यूले समग्र भ्रष्टाचारीलाई भन्दा पनि आफूलाई असहयोग गरेकाहरुलाई छानी–छानी जेल पठाउनु भएको छ होइन र ?

त्यो तपाईंलाई के लाग्छ भन्दा पनि कानुनले जो–जोलाई दोषी ठहराउँछ, त्यो त्यो सिधै कारागारमा जाने हुन्।

तर, प्रचण्डले माओवादीका कसैलाई पनि जेल हाल्न सक्नुभएन ?

माओवादीले भ्रष्टाचार गरेको छ, कहीँ गलत गरेको छ भने छानबिन गरियोस् न। 

देशमा गणतन्त्र आएको १५ वर्ष भइसक्यो। त्यो अवधिमा प्रचण्डले सरकारको सबैभन्दा कम नेतृत्व सम्हालेको छ। तर, अरु बाँकी समय त ओली र देउवालगायतले नेतृत्व गरेको हो। उहाँहरुले छानबिन गर्ने आँट गर्न सक्नु पर्‍यो नि। प्रचण्ड सरकारले आँट गर्‍यो त। अहिले भ्रष्टाचारी जहाँ पसेको भए पनि निकालेर जेल हाल्ने काम प्रचण्ड सरकारले गर्‍यो त।

अरुका नेता जहाँ पसेका भए पनि समात्नु भयो तर आफ्नै वरिपरिको देख्नु भएन होइन ?

त्यो त पहिला दोषी ठहर हनु पर्‍यो नि। दोषी ठहरिए हाम्रोलाई भनेर छाड्ने छुट नै छैन।

प्रधानमन्त्री प्रचण्डले गुनासो गरिरहनुहुन्छ ‘हाम्रा राम्रा कामको प्रचार भएन’ भनेर यसमा तपाईंहरुले प्रचार गर्न नजानेको हो कि प्रधानमन्त्रीले प्रचार गर्न योग्य काम नगर्नु भएको हो ?

हाम्रो पार्टीले कामतिर मात्रै ध्यान दियो, प्रचारतिर ध्यान दिएन, हाम्रो ठुलो कामजोरी त्यहाँ छ। अध्यक्षज्यूले भनेको कुरालाई मैले पनि स्वीकार गर्छु।
प्रचण्ड सरकारले यति धेरै काम गरेको छ, यदि अरुको जस्तै हाम्रो प्रचार भएको भए अहिले यो देशमा प्रचण्डबाहेक अरुको जयजयकार भन्ने कुरै हुने थिएन होला।

प्रकाशित मिति: : 2023-07-05 21:50:00

प्रतिकृया दिनुहोस्