नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समादवादी पार्टी र विप्लव नेतृत्वको नेकपा गरी चार पार्टीले गठन गरेको समाजवादी मोर्चाको शनिबार बसेको पहिलो बैठकले मोर्चाको अध्यक्षताबारे समझदारी गरेको छ।
समझदारीअनुसार अब ६–६ महिनामा माेर्चाकाे अध्यक्ष परिवर्तन गरिने छ। पहिलाे ६ महिना एक पार्टीले अध्यक्षाता गर्ने र ६ महिनापछि अर्काे पार्टीले अध्यक्षाता गर्ने सहमति भएकाे नेताहरूले बताएका छन्। अन्तिम निर्णय भने भइसकेको छैन।
शनिबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकको अध्यक्षता पनि समाजवादीका अध्यक्षा माधवकुमार नेपालले गरेका थिए। यही २७ असारमा बैठक बसेर आलोपालोबारे निर्णय लिइने जनाइएको छ।
यस्तै बैठकले सातै प्रदेशमा मोर्चाको प्रदेशस्तरीय कार्यक्रम गर्ने पनि निर्णय भएको छ। तर, मिति भने तय गरिएको छैन। मिति २७ असारमा बस्ने बैठकले तय गर्नेछ।
यस्तै बैठकले आचार संहिता र नीति तथा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन गरेकाे छ। कार्यदलमा माओवादी केन्द्रबाट देव गुरुङ, नेकपा एसबाट प्रमेश हमाल, जसपाबाट राजेन्द्र श्रेष्ठ र नेकपाबाट खड्गबहादुर विश्वकर्मा रहेका छन्।