नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले देशमा राजनीतिक अस्थिरता निम्त्याउन चाहने दलहरुले प्रधानमन्त्रीको राजीनामा मागेको बताएका छन्।
समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनले आज आयोजना गरेको बागमती प्रदेश भेलामा महासचिव भुसालले विगतमा प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु गैरसंसदीय भएको भन्दै त्यो माग मृगतृष्णा जस्तै भएको बताए।
कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन समाजवादी मोर्चा निर्माण गरिएको भन्दै उनले मुलुकमा समाजवादी अर्थ व्यवस्थाका माध्यमबाट विकास र जनताको समृद्धिका लागि वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताए।
महासचिव भुसालले पार्टीको सङ्गठन सुदृढीकरण विशेष अभियान देशभर सञ्चालन भइरहेको बताउँदै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले निर्वाह गरेको भूमिकाका कारण सङ्गठनलाई थप सशक्त र गतिशील बनाउनुपर्नेमा जोड दिए। मुलुकको विकास र आर्थिक समृद्धिका लागि उत्पादनमा जोड दिँदै उनले सबै वर्गको अधिकार तथा हितको सम्वर्द्धन गर्नुपर्ने बताए।
उनले देशमा भएका सबै राजनीतिक परिवर्तनका आन्दोलनमा पार्टीका सबै जनवर्गीय सङ्गठनको उल्लेखनीय सहभागिता रहेको बताए।