लिथ्युएनिआमा मङ्गलवार र बुधवार (जुलाई ११ र १२ मा) हुने नेटोको महत्त्वपूर्ण बैठकमा रुसले कुनै सदस्यराष्ट्रमाथि आक्रमण गरे कसरी प्रतिरोध गर्ने भन्ने एउटा विस्तृत योजनाबारे छलफल हुने छ।
शीतयुद्ध अन्त्य भएपछि उक्त सैन्य गठबन्धनले रुसविरुद्ध बनाउने त्यो नै सबैभन्दा गहन योजना हुने ठानिएको बीबीसीले जनाएकाे छ।
यो बैठकले युक्रेन युद्ध र नेटोको समग्र भविष्यलाई नयाँ मोडमा लैजान सक्छ।
नेटोमा आबद्ध ३१ वटा राष्ट्रले युक्रेनलाई लामो समयसम्म सैन्य सहायता प्रदान गर्न सक्ने सङ्केत पनि दिन सक्छन्।
स्वीडन नेटोको सदस्य बन्ने कुरामा टर्कीले आफ्नो विरोध फिर्ता लिएपछि हुन लागेको यो भेलामा युक्रेनले सदस्यता लिन चाहेको विषयमा भने असहमति कायम छ।