क्यानाडामा नेपाली मेला हुँदै

क्यानाडाको क्यालगरीमा नेपाली मेलाको आयोजना गरिने भएको छ। नेपाली भाषा, कला, संस्कृति र रीतिरिवाजलाई क्यानेडियन समुदायमा परिचित गराउने उद्देश्यसहित नेपाली मेलाको आयोजना गरिएको आयोजक कमिटीले बताएको छ।

आगामी जुलाई २२ तारिख क्यालगरीको नर्थइस्टस्थित प्रेरिविन्ड पार्कमा नेपाली कला, संस्कृति र रीतिरिवाज झल्किने सांस्कृतिक झाकीसहित मेलाको शुभारम्भ गरिने नेपाली कम्युनिटी सोसाइटी अफ क्यालगरीका अध्यक्ष तथा नेपाली मेला क्यालगरी मुल आयोजक कमिटीका सहसंयोजक श्रीकान्त अर्यालले बताएका छन्।

मेलामा नेपाली पञ्चेबाजा, भजन, मल्टिकल्चरल परेड, नेपालको प्रमुख पर्यटकीयस्थलहरु झल्किने मिनि नेपाल (पशुपति, धरहरा, मछिन्द्रनाथ) सगरमाथा आरोहणका लागि प्रयोग गरिने सामाग्रीहरु, आदिवासी जनजाति नेपालीहरुको दैनिक प्रयोगमा आउने समानहरु (तोम्वा, खन्ती, हलो, जुवा, ढकिया) प्रदर्शन गरिने मेला मूल आयोजक कमिटीका कार्यक्रम तथा इभन्ट संयोजक अरुण लामाले जानकारी दिएका छन्।

करिब १० हजार देशी विदेशीहरुले अवलोकन गर्ने अनुमान गरिएको कार्यक्रममा साउथ एशियन कम्युनिटीका पञ्जाबी, गुजराती, वंगलादेशी, पाकिस्तानी तथा फिलिपिन्स, क्यानमार, क्यारेवियन, भियतनामी, अरवियन र क्यानेडियन आदिवासी समुदायको पनि विशेष प्रस्तुति दिने बताइएको छ। कार्यक्रममा राष्ट्रिय कलाकार प्रकाश सपुत, मिरा निरौला, यात्री व्याण्ड लगायत स्थानीय कलाकारहरुले मनोरञ्जन दिने छन्।

उक्त मेला लागि करिब १ लाख ३० हजार क्यानेडियन डलर रु. १ लाख क्यानेडियन डलर बराबरको श्रमदानको खर्च अनुमान गरिएको मेला मूल आयोजक समितीका फाइनान्स संयोजक विष्णु बजगाईंले जानकारी दिएका छन्। जसमा करिब ७० हजार क्यानेडियन डलर सरकारको विभिन्न तीन तहको सरकारबाट प्रतिवद्धता भएको र बाँकी रकम, एनसीएससी र सिएनसिएको पहलमा एजिएलसी तथा विभिन्न स्पोन्सरसीपबाट संकलन गरिने बजगाईंले बताएका छन्।

प्रकाशित मिति: : 2023-07-13 10:30:00

प्रतिकृया दिनुहोस्