‘ए मूर्ख मनुष्य! रूख किन काट्छस्...’

विक्रमवीर थापा

शिलोङ (भारत)

मानव अस्तित्वको संकट र अनेकाैं राेचक प्रसंगबारे कैयन् वैज्ञानिकहरूले आ–आफ्ना 'तथ्य–विचार' राखिरहेकै छन्।

मानव अस्तित्वकाे विश्लेषण एउटा विराट अनुसन्धानकाे पाटाे हाे। याे विषय मेराे ज्ञानभन्दा कैयाैं दुरी माथि छ। तैपनि यी–यस्ता विषयमा मेरा केही आफ्ना 'शब्द–वाक्य' र भाेगाइँहरू छन्। जसलाई मैले मेरै शैलीमा लेख्न खाेज्दैछु।

विज्ञानलेसमेत भनिरहँदा मेराेपनि उस्तै दाबी छ, मानव अस्तित्व आगामी युगमा सकिनेछ। यो पृथ्वीबाट डायनासोर विलुप्त भएजस्तै।

०००

मैले मानव अस्तित्व संकटकाे कथा रूख जाेड्दैछु। त्याेपनि एउटा 'पीपलकाे बाेट'– पीपलको रूखले मौन भाषामा भनिरहेको छ। पीपलको कथा सुनाएर मानव अस्तित्वको अन्त हुने कथा भन्छु–

पीपलको रूख म जन्मेको गाउँ बारपत्थर (भारत) शिव मन्दिरको समीपमै छ। शिव मन्दिर हाम्रो घरदेखि नजिकै जाँदा एक मिनेट पनि नलाग्ने दूरीमा छ। यो शिव मन्दिर सन् १९६४ मा निर्माण भएको हो। तर, यो पीपलको रूख बिरुवाको रूपमा कहिले रोपिएको हो भनेर किटान गर्न सकिन्न।

अनुमान लाउँदा घनघोर जंगल भएको ठाउँमा सन्‌ १८६७ मा अंग्रेज अफिसरका साथ ८ गोर्खा पल्टन आएपछि त्यो घनघोर जंगलले बस्ती–गाउँ हुन् लाग्दा रोपिएको हो भन्ने लाग्छ। यस्तो अनुमान लाएको कारण सन् १९३६ मा पूर्वांचलमा गोर्खाहरूबीच सबैभन्दा पहिला बीए पास गर्ने तथा पत्रिका 'गोर्खा सेवक' पनि निकाल्ने अनि उक्त पत्रिकाको अक्षर विन्यास गर्ने भीमसिंह नगरकोटीलाई सम्झेर हो।

भीमसिंह नगरकोटी अहिले १०२ वर्षको टेको लिएर अझसम्म जीवित हुनुहुन्छ। उहाँका बाजे यही पीपलको रूख भएको माटोलाई देखरेख गर्ने काम गर्नुहुन्थ्यो। यहीबाट अनुमान लगाउन सकिन्छ, यो पीपलको आयु कति वर्षको भयो भनेर।

यो पीपल भएको माटो वा भनूँ जग्गा–जमिन गणेश दास (मारवाडी) को हो। भनिन्छ, शिलांग शहर बन्न‌लाग्दा गणेश दास एउटा लोटा लिएर राजस्थानबाट व्यापार गर्न  शिलांग आएका थिए, अनि कालान्तरमा उनी शिलांगका सबैभन्दा धनी व्यक्ति भए। उनकै नाममा उनका नातिले सन्‌ १९६४ मा यो शिव मन्दिरको निर्माण गरिदिएको हो। यो पीपलको बिरुवा कसले रोपेको हो, अज्ञात छ।

पीपलको रूख सन् १९६८ म (विक्रम) गोर्खा पल्टनमा भर्ती भएर जाँदा अत्यधिक विशाल थियो। यत्रो विशाल पीपलको रूख मैले आफ्नो जीवनकालमा अझसम्म कतै देखेको छैन। बुद्धगयामा छ भनेको सुनेको छु।

अहिले यो पीपलका रूखका हाँगा चारैपट्टिबाट काटिएर सानो भयो। घरका छानासम्म पुगेका हाँगाहरू बतास, हावापानीले भाँचिदिने भयमा परी घरका मानिसलाई हाँगाले नलागोस् भनेर काटिएका। काट्ने हाम्रै नेपालीभाषी, जसले यहाँकाे हेर विचार गर्ने काम गर्थे। उनी मरे। उनका विधवा पत्नी र छोराछोरीहरू भने छन्।

हिजाेआज घाम राम्ररी लाग्दा लौरो टेक्दैटेक्दै यो पीपलको रूखको दर्शन गर्न पुगेँ। कोठामा एक्लै बस्दा–बस्दा वाक्क लागेर। उल्लिखित विधवा पत्नी, तिनका छोराछोरी, बुहारीलाई भेटेँ। चिया खाएँ। चिया खाँदा उनीहरूलाई यो पीपलको रूखको कुरा गर्दै 'मानव अस्तित्वको अन्त'को कथा पनि भनेँ...।

मानव अस्तित्वको अन्तको कथा यो हो...

पीपलको रूखलाई सानैदेखि देखेर हुर्केको हुँ। यो पीपलको रूखमा धैरै किसिमका चराहरू नाचेका अनि राती चिरबिराउँदै, कराउँदै बास बसेको देखेको हुँ। म केटाकेटी उमेरमा गुलेली धेरै खेलाउँथेँ। यसैकारण यस रूखमा बस्न आएका, खेल्नआएका चराहरूलाई मार्न गुलेलीले मटेंग्रा हान्थेँ। अग्लो रूख भएकै कारण मैले एउटै चरा पनि मार्न सकिनँ।

प्रचण्ड गर्मी चढ्नुभन्दा अघि अप्रिल–मे महिनामा शिलांगको मौसम रमाइलो हुन्छ। यिनै महिना भित्रमा यो पीपलका पातहरू झरेको म देख्थेँ, नयाँ पालुवा पलाउन। त्यसबेला यो पीपलको रूखमा केराउदाना भन्दा तीन गुणा ठूलो, रंगमा नीलो–कालोजस्ता अनगन्ती फल लाग्ने गर्थे। ती फल खान रूप्पी, जुरेली, भँगेराहरू यो पीपलको रूखमा झुम्मिन्थे।

वर्षभरि नआउने तर ती महिनामा मात्र मैले यता उति अरू कतै नदेखिएको रंगविरंगी चराहरू पनि यो पीपलको रूखमा आउने गर्थे। खरानी रंगको जुरेली आकारका एक प्रकारको चराहरू पनि बथानका बथान, हूलका हूल आउने गर्थे। यो क्रम वर्षमा एकपल्ट चलिरहन्थ्यो अप्रिल–मे महिनामा। ती चराहरू साह्रै सोझा। गुलेलीले ताक्दा पनि नभाग्ने तर मैले तीखाले एउटै चरा मार्न सकिनँ‌।

अप्रिल–मे महिनापछि ती चराहरू कता जान्थे–जान्थे। जाने कारण म सानो भएकोले बुझ्न सक्तिनँ थिएँ। अहिले ती चराहरू एउटा पनि आउँदैनन्। देखिँदैनन् सम्बन्धित महिनामा पनि। अरू महिनामा आउने त कुरै भएन।

अहिले म बूढो भएँ। मस्तिष्कमा ज्ञान पस्यो। अहिले बल्ल बुझ्दैछु, हिउँ पर्ने ठाउँ, अत्यधिक जाडो हुने ठाउँ जस्तै साइबेरियाका ती चराहरू हुन्।अत्यधिक जाडोले गर्दा जाडो सहन नसकेर न्यानोपन पाउन ती चराहरू प्रव्रजन गरेर यो पीपलको रूखमा आएका थिए। गर्मी लागेपछि फर्कन्थे। अहिले पनि आउन सक्छन् तर किन आउँदैनन्? मेरो मनले भन्छ।

अनि, मलाई आभास हुन्छ यो पीपलको रूखले मलाई मौन भाषामा भनिरहेछ, 'ए मूर्ख मनुष्य, तैँले आफ्नो भौतिक सुविधाको लागि रूख काट्छस्। चराहरू मारेर खान्छस्। मलाई नै हेर। तैँले नै मलाई काटिस्। मैले मनुष्यलाई वायुप्राण दिएर बचाउँछु। पर्यावरणको संरक्षण गर्छु। पर्यावरणको संरक्षण भए पो मनुष्यको अस्तित्व यो पृथ्वीमा रहन्छ तर तँ मनुष्यलाई जति नै भने पनि भौतिक पथमा जाने बानी छाड्दैनन्। यही तेरो अनुचित बानीले यस पृथ्वीबाट आगामी युगमा मानव अस्तित्वको अन्त हुनेछ।'

प्रकाशित मिति: : 2023-07-18 21:10:00

प्रतिकृया दिनुहोस्