पूर्वोत्तर भारतको मणिपुर राज्यमा दुई महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको भिडिओ सार्वजनिक भएपछि चारैतिर चर्को आक्रोश उत्पन्न भएको छ।
प्रहरीले पीडित महिलाहरूमाथि सामूहिक बलात्कार भएको मुद्दा अघि बढाइएको र एक आरोपितलाई पक्राउ गरिएको जनाएको छ। अर्का एक सन्दिग्ध व्यक्तिको खोजी भइरहेको बीबीसीले जनाएकाे छ।
मणिपुरबारे प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक सदनमा बोलेका हुन्।
दुई महिलालाई मानिसहरूको भिडले निर्वस्त्र हिँडाएको भिडिओ बुधवार सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
उक्त भिडिओमा ती दुई महिलालाई भिडले समातेर घिसार्दै खेतमा धकेलेको देखिन्छ।
भिडिओमा देखिएकी एक महिलाको उमेर झन्डै २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष जति रहेको बताइएको छ।
आदिवासी जनजातिहरूको संस्था आईटीएलएफले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार काङ्गपोकपी जिल्लामा कुकी-जो आदिवासी समुदायका महिलाहरूलाई त्यसरी यातना दिइएको थियो।
उक्त संस्थाले उनीहरूमाथि सामूहिक बलात्कार समेत भएको दाबी गरेको छ।
भिडिओमा ती महिलाहरू रुँदै गरेको, पीडाका कारण चिच्याएको र आक्रमणकारीहरूलाई आफूहरूप्रति दया देखाउन याचना गरिरहेको हृदयविदारक दृश्य देखिन्छ।
यो घटनाका आरोपितलाई मानिसहरूको आक्रोश बढ्दै गएका कारण घटनाको ७८ दिनपछि मात्रै पक्राउ गरिएको थियो।
पीडित महिलाहरूले दुई महिनाअघि नै प्रहरीमा उजुरी दिएका थिए।