सभामुख देवराज घिमिरेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पद निलम्बनको सूचना प्रतिनिधिसभा बैठकमा पढेर सुनाएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुनाउँदै उनले स्वतः निलम्बनको कानुनी प्रावधानबारे संसद्लाई जानकारी गराएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ गते पतञ्जली जग्गा प्रकरणमा प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेकाे थियाे।
000
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरूमा कुनै सत्यता नभएको दाबी गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्ना विरुद्धमा नियोजित, षड्यन्त्रपूर्वक ढंगले र राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको बताएका हुन्।
त्यस्तै उनले भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएर सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए।
000
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासको लक्ष्य एकतिर राखेर ‘टेक एन्ड पे’को व्यवस्था लागू गर्न नसकिने बताएका छन्।
शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले लक्ष्य एकतिर राखेर अर्कोतिर हिँड्न नसकिने बताएका हुन्।
अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गतेको बजेट वक्तव्यमा ‘रन अफ रिभर’ प्रकृतिका आयोजनालाई ‘टेक एन्ड पे’को आधारमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने व्यवस्था उल्लेख गरेका थिए।
000
काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
बुधबार मध्यरातमा आदेश जारी गर्दै अदालतले अरु ३२ जनालाई भने धरौटी जमानतमा रिहा गर्न भनेको छ। यसरी धरौटीमा रिहा हुनेहरूलाई १० हजारदेखि १ लाखसम्म धरौटी तोकिएको छ।
दुर्गा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुसिल बराल, केशव बस्नेत र कुमार तामाङ पुर्पक्षका लागि थुनामा गएका छन्।
उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरूद्धको कसुर र संगठित अपराध तथा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसमेतमा मुद्दा छ।
000
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण कठिन परिस्थितिमा रहेको बताएका छन्।
शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरण अहिले बीच बाटोमा रहेको बताएका हुन्।
प्राधिकरणलाई अहिले अगाडि बढ्नुपर्ने बाध्यात्मक आवश्यकता रहेको बताउँदै सरकारले लिएको २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न धेरै चुनौति रहेको उनकाे भनाय थियाे।
000
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध फेरि पक्राउ पूर्जी जारी हुने भएको छ।
अदालतमा बयानका लागि नआएपछि उनीहरूविरुद्ध फरार अरोपीको रूपमा पक्राउ पुर्जी जारी हुने भएको हो।
तीनकुने घटनामा मुद्दा खेपिरहेका राणा उपचार गर्ने नाममा हाजिर जमानीमा र मिश्र बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत छुटेका थिए। तर, काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दासम्म पनि उनीहरू अनुपस्थित भएपछि पक्राउ पुर्जी जारी हुने भएको हो।
000
भारतको गुजरातस्थित अहमदाबादमा भएको एअर इण्डियाको विमान दुर्घटनामा एक यात्रुको सकुशल उद्दार गरिएको छ।
विमानमा सवार एक भारतीय मुलका ब्रिटिश नागरिक रमेश विश्वासकुमार
सकुशल उद्दार गरिएको भारतीय प्रहरीले जनाएको छ।
उनको अस्पतालनमा उपचार भइरहेको छ। यसअघि २३० यात्रु र चालकदलका १२ सहित विमानमा सवार सवै २४२ यात्रुको मृत्यु भएको समाचार बाहिरिएका थिए।