गौर हत्याकाण्डः उपेन्द्र यादवलाई कारवाहीको माग गर्दै जारी आन्दोलनमा आजपाको समर्थन

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले ‘गौर हत्याकाण्ड’का पीडित परिवारलाई न्याय दिलाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताएका छन्।

रौतहटको गरुडामा आज आजपाको गरुडा नगरकमिटीद्वारा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन्।

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले घोषणा गरेको आन्दोलनका विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै उनले आन्दोलनमा पार्टीको समर्थन रहेको बताए।

प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री साहले संसदमा यो विषय पटकपटक उठाउँदै पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै आएका छन्। संसदमा साहले गौर हत्याकाण्डका दोषीलाई कारवाही गर्नुपर्ने, पीडित परिवारलाई न्याय दिनुपर्ने जोडदार रुपमा उठाउँदै आएका छन्।

गौर हत्याकाण्डका पीडित परिवारलाई न्याय दिलाउनका लागि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग समेत भेटेर छलफल गरेको बताउँदै उनले दोषीलाई कारवाही गराउन आन्दोलनको विकल्प नभएको बताए। सरकारमा रहेका व्यक्तिबाट आश्वास मात्रै पाइरहेको बताउँदै उनले आन्दोलनलाई  शसक्त बनाउनुपर्ने बताए।

गत १ साउनमा पीडित संघर्ष समितिले गौरमा विशाल प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा एक ज्ञापनपत्र बुझाएको थियो। सो ज्ञापन पत्रमा गौर हत्याकाण्डका पीडितलाई न्याय दिनुपर्ने, दोषीलाई कानुनी कारवाही गर्नुपर्ने, हत्याकाण्डका मुख्य योजनाकार उपेन्द्र यादवालाई कारवाही गर्नुपर्ने लगायतका माग गरेका छन्।

आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनीसमेत संघर्ष समितिले सोही ज्ञापनपत्र मार्फत दिएको छ। दोषीलाई कारवाहीका लागि भन्दै उनीहरुले संघर्षका बिभिन्न कार्यक्रम घोषणा समेत गरेका छन्।

१४ साउनसम्ममा माग पुरा नगरे १५ साउनबाट रौतहटमा अनिश्चितकालीन आम हडताल गर्ने कार्यक्रम रहेको छ। हत्याकाण्डका अपराधीलाई कानुनी कठघेरामा ल्याउन निरन्तर सरकारलाई ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै संघर्ष समितिले बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको जनाएको छ।

साउन २ गतेदेखि १२ गतेसम्म पालिकाहरुमा गौर हत्याकाण्डको बारेमा जानकारी र अन्तरक्रिया कार्यक्रम गर्ने, शहीद परिवार एवं पीडितहरुद्धारा धर्ना दिने, १४ गते मोटरसाईकल र्याली निकाल्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक रुपसागर देवीले बताइन्।

२०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादीका कार्यकर्ताको निर्मम हत्या गरेका थिए।

उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौँको संख्यामा नागरिकहरु घाइते भएका थिए।

प्रकाशित मिति: : 2023-07-23 11:45:00

प्रतिकृया दिनुहोस्