जुम्लामा वडाबाट नुन वितरण सुरु

नुन वितरण प्रक्रिया नमिलेपछि डिपाे ताेडफाेड भएकाे जुम्लामा वडाबाट नुन वितरण प्रक्रिया सुरु भएकाे छ। साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले वडा वडामा नुन पठाउन थालेपछि वडामै नुन वितरण गर्न थालिएकाे हाे।

वडामै नुन वितरण गर्न तातोपानी गाउँपालिका- २ ले सुरु गरेकाे छ। यहाँका वडाध्यक्ष चन्द्रमान बुढाकाअनुसार प्रतिघरधुरी ३ केजी नुन वितरण गरिएको छ।

‘हामीलाई साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १५ क्विन्टल नुन उपलब्ध गराएको छ,’ उनले भने, ‘वडामा भएकाे नुन नागरिकलाई वितरण गरिएकाे हाे।’

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले तातोपानीका १ देखि ७ नम्बर वडा, चन्दननाथको १, ७, ८ र ९ र गुठिचौरका २ र ४ वडामा नुन एकीकृत रुपमा वडाको मागअनुसार प्रतिघरधुरी ३ प्याकेट पर्नेगरी वडाले बुझेर लिएकाे कार्यालय प्रमुख खगेन्द्र मल्लले बताए।

उनले भने, ‘हालसम्म करिब ३ सय क्विन्टल नुन वडामा पठाइएकाे छ।’

उनकाअनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ मा २५ क्विन्टल, वडा नम्बर ७ मा ३५ क्विन्टल, वडा नम्बर ८ मा २० क्विन्टल र वडा नम्बर ९ मा २५ क्विन्टल नुन पठाइएकाे छ।

त्यस्तै गुठीचौर गाउँपालिकाको वडा नम्बर १ मा २५ क्विन्टल र ४ नम्बर वडामा साढे ३० क्विन्टल तथा तातोपानीकाे वडा नम्बर १ मा २१ क्विन्टल, २ मा १५ क्विन्टल, ३ मा १५ क्विन्टल, ४ मा २० क्विन्टल, ५ मा साढे १७ क्विन्टल, ६ मा साढे १२ क्विन्टल र वडा नम्बर ७ मा साढे २२ क्विन्टल नुन पठाइएको छ।

नागरिकले नुनका लागि भीड लाग्नुपर्ने बाध्यता हटाउन वडाबाट वितरण गर्ने प्रक्रिया सहज बनाइएकाे प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए।

‘वडाको मागअनुसार नुन उपलब्ध गराउने संयन्त्र निर्माण गरिएकाे छ,’ उनले भने, ‘अब पहिलाकाेजस्ताे समस्या आउन दिइने छैन।’

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमा पर्याप्त मात्रामा नुभए उपलब्धी भएपनि सर्वसाधारण नागरिकहरुमा नुन अभावकाे हल्ला फैलिएपछि गत असार ३१ कार्यालय ताेडफाेड भएको थियाे।

प्रकाशित मिति: : 2023-07-26 07:09:00

प्रतिकृया दिनुहोस्