म पनि श्रमिक नै हुँ, सबैको मर्म बुझेर काम गर्नेछु : सचिव अधिकारी, एनसिसी कतार

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका लागि सचिव पदमा सुरज शर्मा अधिकारी निर्वाचित भएका छन्।

बिहीबारदेखि सुरू भएको अनलाइन भोटिङमा उनी ३ हजार १ सय ७५ मत ल्याएर विजयी भएका हुन्। उनीसहित सचिव पदमा ओमबहादुर क्षेत्री सन्तोष र रोशन अर्याल पनि निर्वाचित भएका छन्।

सन् २०१८ देखि कतारमा रहँदै आएका अधिकारी नेपालको पर्वत जिल्लाबाट कतार पुगेका हुन्। यसअघि पनि एनआरएनएका विभिन्न टास्क फोर्सहरूमा रहेका काम गर्दै आएका अधिकारी पहिलोपटक संघको मुख्य पदमा निर्वाचित भएका हुन्।

निर्वाचित भएपछि अधिकारीले निर्वाचन प्रक्रियामा भाग लिएका सम्पूर्ण मतदात तथा आफ्ना शुभेच्छुकहरू धन्यवाद दिँदै आभार प्रकट गरेका छन्। र, आगामी दिनमा एनआरएनए अभियानमा अझ प्रतिवद्ध भएर लाग्ने पनि बताएका छन्।

‘गतिशील, सशक्त, संस्थागत र समावेशिता, श्रमिक-मैत्री एवं भ्रष्टाचार मुक्त एनआरएनए हाम्रो प्रतिवद्धताको मूल नारा लिएर म यो अभियानमा होमिएको हुँ’, अधिकारीले भनेका छन्, ‘एक सामान्य श्रमिकका रुपमा प्रवेश गरी आफ्नो सिप र दक्षतालाई परिस्कृत गर्दै व्यावसायिक यात्रा तय गर्दै विभिन्न संघसंस्थामा आवद्ध रही व्यवसायबाट प्राप्त मुनाफाको केही अंशलाई मानवीय कार्यमा समर्पण गर्नुपर्दछ भन्ने अभिप्रायका साथ म यो सामाजिक अभियानमा होमिएको हुँ।’

उनले प्रवासी नेपालीको हक, हित र अधिकारका लागि आफू सधैँ होमिन तयार रहेको भन्दै आगामी दिनमा पनि सहयोग र सद्भावको अपेक्षा पनि गरेका छन्।

प्रकाशित मिति: : 2023-07-29 11:12:00

प्रतिकृया दिनुहोस्