अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौ फिफा महिला विश्वकपको समूह 'जी'अन्तर्गत भर्खरै न्युजिल्याण्डको वेलिङ्टनमा सम्पन्न स्विडेन र इटालीबीचको खेलमा स्विडेन ५-० को ठूलो गोल अन्तरले बिजयी भएको छ । फिफा बरियतामा तेस्रो स्थानमा रहेको स्विडेनले १६औं स्थानमा रहेको इटालीलाई एकपक्षीय रूपमा किनारा लगायो ।
खेलको ३९ औं मिनेटमै गोलको खाता खोलेको स्विडेनले पहिलो हाफमै तीन गोल गर्यो भने दोस्रो हाफमा २ गोल थपेर इटालीलाई ५-० ले स्तव्ध बनायो । पाँच गोल खाएको इटालीले एक गोल पनि गर्न नसक्नु उसका लागि पीडादायक थियो ।
यो जीतसँगै दुई खेलबाट ६ अंक बटुलेको स्विडेन समूहको शीर्षस्थानमा पुगेको छ । ३ अंकका साथ इटाली दोस्रो स्थानमा हुँदा समान १ अंकका साथ साउथ अफ्रिका र अर्जेन्टिना तेस्रो र चौथो स्थानमा छन् ।
समूह जी अन्तर्गत अन्तिम खेल बुधबार स्विडेन र अर्जेन्टिना तथा इटाली र साउथ अप्रिकाबीच हुने छ । यो समूहबाट स्विडेन अन्तिम १६ मा पुगिसकेको छ भने अन्य तीनमध्ये कुनै पनि एक पुग्ने सम्भावना जीवितै छ ।