डोल्पाको जनप्रभा माविमा विव्यसको जिम्मेवारी वडाध्यक्षलाई

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १० अन्तर्गत पर्ने जनप्रभा माध्यामिक विद्यालय व्यवस्थापन समितिको जिम्मा वडाध्यक्षलाई दिइएको छ।

चुनावी प्रक्रियाबाट विद्यालय व्यवस्थापन समितिका सदस्यहरु छनोट भएको सात महिना बितिसक्दा पनि अध्यक्ष छनोट हुन नसकेपछि अध्यक्षको जिम्मेवारी सम्बन्धित वडाका अध्यक्ष ललित गिरीलाई दिइएको हो।

निर्वाचित सदस्यहरुबीच राजनितिक खिचातानी बढ्नुका साथै एक पक्षको बहुमत जुट्न नसकेपछि महिनौसम्म विद्यालय व्यवस्थापन समिति नेतृत्वविहिन भएको थियो।

जिल्लामै शिक्षामा अब्बल छबि बनाएको जनप्रभा माध्यामिक विद्यालय पछिल्लो समयमा राजनितिक खिचाचानीले शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा रहेको लिकुका स्थानीयले दुखेसो पोखे।

यस अघि निर्वाचित सदस्यहरु नेकपा एमाले,नेकपा माओवादी र काँग्रेसमा आस्था राख्ने भएपछि सबैले अध्यक्ष दाबी गर्दै विद्यालयमा द्धन्द्धको अवस्था सृजना गरेका थिए।

विद्यालय लामोसमय राजनितिक द्धन्दमा फसेको र सदस्य, अभिभावक,शिक्षाप्रेमी कसैले समितिको नेतृत्व गर्न नचाहेपछि बाध्यताले आफुले अध्यक्षको जिम्मेवारी लिनुपर्ने अवस्था आएको वडाध्यक्ष ललित गिरीले बताए।

विहिबार भएको अभिभाबक लगायतको सम्पुर्ण भेलाले आफुलाई अध्यक्षको जिम्मेवारी दिएपछि लगत्तै शिक्षक र कर्मचारीले सरकारी सेवा सुविधा लिएर पनि थप तलब लिइरहेका खारेज गर्दै कार्यविधि बनाएर थप्ने निर्णय भएको बताए।

त्यतिमात्र नभई विद्यालय क्षेत्रमा मदिरा प्रतिबन्ध लगाउने,कक्षा ११ र १२ को शुल्क घटाउने लगायतका निर्णय भएको समेत अध्यक्ष गिरीले जानकारी दिए।

अब भएका यी निर्णय अविलम्ब कार्यन्वयनतिर लाग्ने र विद्यालयको शैक्षिक गुणस्तर कायम राख्ने र वातारणलाई शान्तिपुर्ण बनाउनतिर लाग्ने बताए।
 

प्रकाशित मिति: : 2023-08-04 19:34:00

प्रतिकृया दिनुहोस्