१४ वर्षकाे उमेरमा पनि ‘दुधे बालक’जस्तै छन् पारस, उपचार गर्ने पैसाकाे अभावमा पिराेलिँदै परिवार

डोल्पाको दुर्गम गाउँमा गम्भीर स्वास्थ समस्यासँग जुधिरहेका एक बालक भेटिएका छन्।

जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ अन्तर्गत करेलीकाँडा गाउँमा यस्ता बालक भेटिएका छन्, जसकाे उमेर १४ वर्ष पुग्याे तर हेर्दा उनी दुधेबालकजस्तै देखिन्छन्।

१४ वर्षकाे उमेरमा दुधेबालकजस्ताे देखिने उनी हन्, पारस बुढा। पारसकाे उमेरअनुसार शारीरिक र मानसिक विकास भएकाे छैन।

उमेर बढेसँगै छोरो हुर्किँदै जाने आशा गर्दागर्दै यस्तो अवस्था आएको आमा शान्ति बुढाले बताइन्।

१४ वर्षकाे उमेरमा पनि पारस चार वर्षे कान्छाे छाेराेभन्दा सानाे भएपछि शान्तिलाई ठुलाे पीर परेकाे छ। ‘छोरो न हिँड्न सक्छ, न बोल्न सक्छ, राम्रोसँग खान पनि सक्दैन्, जुन ठाउँमा बसाल्यो त्यो ठाउँबाट कतै चल्दैन’, शान्तिले बिएल नेपाली सेवासँग भनिन्।

लक्का जवान भएर घरको कामकाज धान्ने उमेरका पारसकाे खाना खुवाउनेदेखि दिसा–पिसाब गराउने काम अरुले नै गर्नुपर्छ। पारस जहाँ बसाल्याे त्यही बस्छन्। प्रस्टसँग बाेल्न पनि सक्दैनन्। आर्थिक अवस्था कमजाेर भएकाे बुढा परिवारलाई पारसकाे रेखदेख गर्नसम्म धाै–धाै भएकाे छ।

पारसले आठ नौ दिनमा मात्र दिसा-पिसाब गर्छन्। कानले कुरा सुन्छन् तर बाेल्न सक्दैनन्। शरीरका सबै अङ्ग अरु सामान्य बच्चाकाे जस्तै छन् तर छाती भने बाहिर निस्केको छ।

‘जन्मेको २० दिनमा धेरै बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गरेर बचायौँ। सात आठ महिनामै हिँड्ने होला भन्ने आशा थियो तर वर्षौ बित्यो न शरीर बढ्याे, न बोली फुट्यो। केही गर्न नसक्ने भयो’, शान्तिले भनिन्।

त्यस्ताे त जिल्ला अस्पतालका डाक्टरले पारसकाे उपचार सुविधा–सम्पन्न अस्पतालमा गर्नु सुझाव दिएका थिए। तर, आर्थिक अवस्था कमजाेर भएकाे बुढा परिवारले उपचारकाे लागि सुविधा–सम्पन्न अस्पतालसम्म पुर्‍याउन सकेन।

आर्थिक अवस्था कमजाेर भएकै कारण बुढा परिवार छाेराकाे जटिल अवस्थाकाे रमितेजस्तै बनेकाे छ। कसैकाे सहयाेग गरे छाेराेकाे उपचार गर्ने इच्छा बुढा परिवारकाे छ। तर, आर्थिक समस्याबाट गुज्रिएकाे बुढाकाे आँगनीमा अहिलेसम्म काेही धन भएकाे मनकारी व्यक्तिकाे आगमन भएकाे छैन।

प्रकाशित मिति: : 2023-08-07 18:00:00

प्रतिकृया दिनुहोस्