फोहोर व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी अस्पतालले उदाहरणीय काम गरेको छ: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उदघाटन गरेका छन्।

स्वास्थ्य सेवा विभागको पहलमा जर्मन विकास सहयोग (जी.आइ.जेड) को सहयोगमा स्थापना भएकाे फोहोर व्यवस्थापन केन्द्रकाे मन्त्री बस्नेतले बिहीबार उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै मन्त्री बस्नेतले फोहोर व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी अस्पतालले उदाहरणीय काम गरेको बताए। फोहोर व्यवस्थापन गर्न नसक्नु देशका लागि ठूलो समस्या रहेको औल्याउँदै उनले अस्पतालहरुले उचित तरिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिने हो भने त्यसकै कारण महामारी फैलिने खतरा रहेको बताए।

स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन कार्यलाई हरेक अस्पतालले प्राथमिकतामा राख्नुपर्ने बताउँदै मन्त्री बस्नेतले यसलाई देशभरिका अस्पतालहरुमा विस्तार गर्ने योजना रहेको जानकारी दिए।

प्राकृतिक विपत्तिका बेला होस् वा कोभिड १९ जस्ता महामारीका बेला नै किन नहोस् सशस्त्र बलको अस्पतालले जनताको सेवालाई पहिलो प्राथमिकता दिएर काम गरेको स्मरण गर्दै अस्पतालको सेवा विस्तारका लागि सरकारले सक्दो सहयोग गर्ने मन्त्री बस्नेतले बताए।

आफू स्वास्थ्यमन्त्री भएपछि सबैभन्दा पहिले सरकारी अस्पतालको सेवा सुधारमा लागेको दावी गर्दै मन्त्री बस्नेतले पहिलेको तुलनामा अहिले वीर अस्पतालको सेवा सुधार भएको बताए।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फोहोर व्यवस्थापन केन्द्र स्थापनामा सहयोग गर्ने स्वास्थ्य सेवा विभाग, जी.आइ.जेड.सहित सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै सशस्त्र प्रहरी अस्पताल राजमार्ग नजिक भएकाले दुर्घटनाका बिरामी बढी आउने भएकाले ट्रमा सेन्टर स्थापनाका लागि पहल गरिदिन स्वास्थ्यमन्त्री बस्नेतसँग आग्रह गरे।

अस्पतालका मेडिकल डाइरेक्टर डा. रुपक महर्जनले वि.सं. २०६२ सालमा स्थापना भएको अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालको वातावरण स्वच्छ रहनेमा मात्र नभएर उपचारमा पनि सहज हुने बताए।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले नेपालका अस्पतालहरुमा फोहोर व्यवस्थापनको वर्तमान अवस्थाका विषयमा प्रस्तुतिकरण गरेका थिए। कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, स्वास्थ्य मन्त्रीका सल्लाहकार विश्वरुप खड्का, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र जी.आई.जेड.का प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2023-08-10 14:26:00

प्रतिकृया दिनुहोस्