‘मैले लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले मजाकको विषय बनाएका थिए’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा केही रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउने दृढता व्यक्त गरेका छन्।

उनले भने, ‘आगामी दिनमा एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार आठ सय मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानीजस्ता ठूला जलविद्युत् आयोजनाको निर्माण अघि बढाउने सोच र योजना साथ सरकार अघि बढिरहेको अवस्था तपाईंहरू सामु उजागर गर्न पाउँदा मलाई विशेष हर्ष र गर्वको अनुभूति भएको छ।’

नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ठूला र बहुउद्देश्यीय प्रकृतिका आयोजना अगाडि बढाउने सरकारको सोच रहेको बताए।

बिजुली निर्यातका लागिसमेत स्पष्ट लक्ष्यसाथ सरकार अघि बढिरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले नेपालको जलविद्युत् विकासका लागि योगदान पुर्याइरहेको निजी क्षेत्रको उत्पादित विद्युत्समेत खरिद गरिरहेको प्राधिकरणले आफैँ वा आफ्ना सहायक कम्पनीमार्फत आगामी दिनमा विद्युत् उत्पादन क्षेत्रमा सशक्त र अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालले विगतको ‘लोडसेडिङ’को स्मरण गर्दै त्यसको समाधानका लागि गरिएको प्रयासका बारेमा जानकारी दिए। ‘प्राधिकरणको ३८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्न यस रोष्टममा आउँदै गर्दा मैले २०७३ को साउनमा म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले बर्सातको समयमा पनि बेहोरिरहेको लोडसेडिङको कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु’, प्रधानमन्त्रीले भने। त्यसबेला बिजुलीको पहुँच भएको ठाउँमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो भने देशका करिब ४० प्रतिशत जनता त विद्युत्को पहुँचभन्दा बाहिर रहेको तथ्य स्मरण गरे।

‘लोडसेडिङका कारण उद्योग व्यवसायको अवस्था दयनीय थियो। नागरिकको दैनिकी नराम्ररी प्रभावित थियो। प्राधिकरणको वित्तीय अवस्था अत्यन्तै नाजुक थियो’, प्रधानमन्त्रीले भने, ‘त्यसबेला मैले तीन महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई पत्याउँदैनथे, मजाकको विषय बनाएका थिए।’

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपश्चात् हाम्रो सङ्कल्प, इमानदारिता र मेहेनतका कारण हामीले १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीले भने, ‘मैले सरकारको नेतृत्व गर्दा ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्वका निर्णय भएका छन् भने देश र जनताको हितमा धेरै काम भएका छन। प्राधिकरणभित्र नीतिगत सुधार, प्राधिकरणको घाटा अपलेखन गरी वित्तीय सुरक्षा प्रदान, प्राधिकरण व्यवस्थापन र संस्थाको नेतृत्व परिवर्तन गरी लोडसेडिङलाई पूर्णरूपमा अन्त्य गर्दै संस्थालाई नाफामा लाने काम भएको कुरा विदितै छ।’

देश जलविद्युत् उत्पादनमा अत्यन्त उच्च सम्भावना भएको देशका रूपमा परिचित रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले जलवायु जोखिमसँग सम्बन्धित पक्षलाई समेत मनन गर्दै बिना विलम्ब यस अवसरको उपयोगिता लिन हामीपछि पर्नु नहुने बताए।

आन्तरिक विद्युत् खपतको वृद्धि गर्दै ऊर्जा सुरक्षा हासिल गर्नुका अतिरिक्त स्वदेशी विद्युत् माग पूरा गरी बढी भएको परिमाणको विद्युत् बिक्रीका लागि मार्ग प्रशस्त भएकोसमेत उनको भनाइ छ।

प्रकाशित मिति: : 2023-08-18 13:10:00

प्रतिकृया दिनुहोस्